रघुगंगामा पनि मतगणना सुरु, वडा ८ को बुथकब्जाको उजुरी आयोगमा

  • १ जेष्ठ २०७४, सोमबार
  • 3920 पटक पढिएको

म्याग्दी, १ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकामा पनि मतगणना सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ८ कुईनेमंगलेमा काँग्रेसले बुथ कब्जा गर्दै धाँधली गरि मतदान गरेको भन्दै एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेदवार चन्द्रमान छन्त्याल सहित एमाले, माओवादी केन्द्र र राप्रपाले समेत निवेदन दिएपछि रघुगंगामा मतगणना अन्यौलमा परेको थियो ।

उम्मेदवार र पार्टीहरुबाट आएको निवेदनलाई मुख्य जिल्ला निर्वाचन अधिकृत मार्फत निर्वाचन आयोगमा पठाईएको र वडा नम्बर १ बेगखोलाबाट मतगणना गर्न सुरु गरिएको निर्वाचन अधिकृत विश्वामित्र कुँईकेलले जानकारी दिनुभयो । उहाँले आयोगको निर्देशन बमोजिम वडा नम्बर ८ को मतगणना गर्ने या नगर्नेबारे निर्णय लिइनेछ् ।

काँग्रेसले मतदान कर्मचारी र सुरक्षाकर्मीको मिलेमतोमा वडा ८मा बुथ कब्जा गरेको भन्दै एमाले, माओवादी केन्द्र र राप्रपाले पुनः मतदान गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा संयुक्त निवेदन दर्ता गराएका हुन् ।

कुईनेमंगलेको रितुङ मावि दुलेखर्क मतदान केन्द्रमा कुल ६९३ मतदाता मध्ये ६ सय १३ जनाले मतदान गरेका थिए । आईतवारको निर्वाचनमा यो केन्द्र जिल्लामै सबैभन्दा बढी प्रतिशत मत खसेको केन्द्र हो । रघुगंगा गाउँपालिकामा कुल ११ हजार ५ सय ६३ मतदाता मध्ये ७ हजार ९ सय ५० जनाले मतदान गरेको थिए ।