जिल्ला स्तरीय मावि तह हाजिरी जवाफ प्रतियोगितामा गलेश्वर आदर्श प्रथम (तस्बिर सहित)

  • ५ माघ २०७६, आईतवार
  • 2986 पटक पढिएको

म्याग्दी ५ माघ । बेनीमा सम्पन्न जिल्ला स्तरीय मा.वि. तह हाजिरी जवाफ प्रतियोगितामा बेनी नगरपालिका–९ को गलेश्वर आदर्श आवासीय मावि प्रथम हुन सफल भएको छ । काठमाण्डौमा अध्ययनरत म्याग्देली विद्यार्थीहरुको साझा संस्था ‘म्याग्देली विद्यार्थी परिवार’ले आयोजना गरेको जिल्लास्तरीय मावि तहको हाजिरीजवाफ प्रतियोगिताको फाईनलमा १६० अंक प्राप्त गर्दै गलेश्वर आदर्श प्रथम भएको हो । गलेश्वर आदर्शबाट कक्षा १० की जेनिसा र ९ का जेनिस सुवेदीले सहभागिता जनाएका थिए ।

त्यस्तै १२० अंक प्राप्त गर्दै न्यु वेष्ट पोइन्ट आवासीय मावि द्धितिय, महादेव मावि बेग तृतिय र डनीङ बोडीङ्ग स्कुल बाबियाचौर सान्तवना भएका छन् । प्रथम, द्धितीय, तृतिय र सान्तवना हुने विद्यालयले क्रमश : बीस हजार, बाह्र हजार, सात हजार र चार हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् । बिजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशकी सरकारका सामाजिक विकास मन्त्री नरदेवी पुनले विद्यार्थीमा पाठ्यक्रम बाहेक बाह्य ज्ञान पनि हुनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले पनि स्थानीय तह स्तरबाट छनौट गरेर प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्न लागेको बताउनुभयो ।


गरिब, विपन्न, दलित, अल्पसंख्यक समुदायका विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराइने, गण्डकीलाई बालमैत्री प्रदेश बनाउने उहाँले बताउनुभयो । बिजयी विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि काठमाडौँका विभिन्न कलेजहरुमा छात्रवृतिको व्यवस्था मिलाइएको म्याग्देली विद्यार्थी परिवारले जनाएको छ । कार्यक्रममा संबिधानसभा सदस्य नवराज शर्मा, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, धवलागिरी गाउपालिकाका अध्यक्ष थमसरा पुन, नेपाली काँग्रेसका सचिव मिनबहादुर कार्की, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा, परिवारका संस्थापक अध्यक्ष शुशिला शेरचन र सल्लाहकार प्रा.डा होमबहादुर बरुवालले मन्तव्य राख्नुभएको थियो ।
म्याग्देली विद्यार्थी परिवारका अध्यक्ष केशरी शर्माको अध्यक्षता, सचिव सरिता थापा र सदस्य सन्दिप न्यूरेको सञ्चालन तथा कार्यक्रम संयोजक मदन सापकोटाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । जिल्लास्तरीय मावि तहको हाजिरी जबाफ प्रतियोगिताको लागि जिल्लामा रहेका ६ वटै स्थानीय तहका विद्यार्थीहरुबिचमा छनौट प्रतियोगिता मार्फत प्रतिस्पर्धा गराएर विभिन्न १० विद्यालयलाई फाईनलमा सहभागि गराईएको थियो ।