सुन्तला खेतीमा भएको चुनौती न्यूनिकरण गर्न कृषकसंग अन्तरक्रिया

  • २३ पुष २०७६, बुधबार
  • धिरन खत्री
  • 2605 पटक पढिएको

 

म्याग्दी, २३ पुस । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा सुन्तला कृषकलाई सुन्तला बगैचा ब्यवस्थापन सम्वन्धि मंगलबार तालिम दिइएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाइ म्याग्दीको आयोजनामा सुन्तलाका दानाहरुमा औसाँको समस्या, झर्ने र बोटहरुका हांगा सुक्ने लगायतका विभिन्न रोगहरुको निराकरण गर्ने सम्वन्धी भुरुङतातोपानी, दाना, नारच्याङका कृषकलाई तालिम दिएको हो ।कृषकको आयआर्जनसंग जोडिएको सुन्तला खेतीमा चुनौति न्यूनिकरण, रोग लागेपछि बचाउने उपाय, बोटमा लगाउने निलो तुथो घोल्ने र लगाउने तरिका भुरुङतातोपानीमा रहेको नेपाल रेडक्रस सोसाईटीको सभाहलमा आयोजित तालिममा परियोजना कार्यान्वयन ईकाईका प्रमुख सुर्यप्रसाद बरालले जानकारी गराएका थिए ।

बरिष्ठ कृषि अधिकृर्त बरालले औसाँ रोग र बोट सुक्ने समस्या सुन्तला खेतीमा देखिएको कारण सुन्तला टिप्ने समयमा कृषकलाई उपस्थित गराएर सो रोगको पहिचान गर्ने तरिका रोग लगाउने किटाणु तथा झिँगाहरुलाई न्युनिकरण गर्न स्थलगत तालिमलाई प्राथमिकता दिएको बताए । उनले बगैचाको व्यवस्थापन, सरसफाई, सिचाई, मल र पौष्टिक तत्वको कमी तथा बिरामी बिरुवाका कारण सुन्तला बगैचामा रोग किराको समस्या देखिएको तालिममा सहभागिलाई जानकारी गराउदै औसा परेर झरेका दानालाई पानीमा डुबाएर नष्ट, बगैचा ब्यवस्थापन र काटछाँट तथा मलजल समयमै गर्नुपर्ने सुझाव दिएका थिए । बरालले कृषकले चैतदेखि जेठसम्म किराहरु निराकरणतर्फ लाग्न कृषकलाई सुझाव दिएका थिए ।

वडानम्वर २ का वडा सदस्य विरबहादुर पौडेलको अध्यक्षतामा भएको तालिममा वडा अध्यक्ष ओमप्रसाद फगामीले सुन्तला लगायतका कृषि क्षेत्रका सूचना समयमै ब्यवसायीक कृषकलाई उपलब्ध गराउन ईकाइलाई आग्रह गरेका थिए । राज्यले दिने अनुदान बास्तविक कृषकलाई नछुट्याउन र बास्तविक कृषकको खेतीमा भएको समस्या निराकरणमा प्राथमिकता दिन सुझाव दिएका थिए ।

त्यस्तै अन्नपुर्ण गाउँपालिका कृषि संयोजक श्याम क्षेत्रीले कृषकले लगाएको विभिन्न खेतीमा भएको समस्या निराकरण गर्नका लागि आवश्यक सल्लाहका लागि गाउँपालिका तयार रहेको बताए । उनले कृषि खेतीमा भएको समस्या जानकारी गराए समाधान गर्न स्थलगत रुपमा पुग्ने प्रतिवद्धता जनाएका थिए ।परियोजना इकाइकी रुपा विकको संचालनमा भएको तालिममा १८ जना कृषकको सहभागिता रहेको थियो । भने सुन्तला कृषकले खेतीमा भएको अनुभव र चुनौतीहरु खुलेर राखेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l