डढेलोले अष्ट्रेलियामा ५० करोड जनावर खरानी भए

  • २० पुष २०७६, आईतवार
  • 2072 पटक पढिएको

 

अष्ट्रेलियाको जंगलमा लागेको डढेलो निकै खतरनाक स्तरमा पुगिसकेको छ । गत सेप्टेम्बरदेखि लागेको यो डढेलोले मानिस र जनावरलाई भयानक रुपमा प्रभावित पारेको छ । यहाँ करिब ५० करोड जनावर र पंक्षीहरुको मृत्यु भइसकेको छ । चार महिनापछि पनि अष्ट्रेलियाको जंगलमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । युनिभर्सिटी अफ सिड्नीको इकोलोजिस्टले अहिलेसम्म ५० करोड जनावर डढेको जानकारी दिएको छ । यसमा स्तनधारी पशुपंक्षीका साथै घस्रने जनावर पनि समावेश छन् ।

 

यस्तै एक नयाँ जानकारी सार्वजनिक भएको छ । न्यू साउथ वेल्स रुरल फायर सर्भिस (आरएफएम) ले जंगलको डढेलोका कारण नावरा नजिकैको उत्तरी किनारमा आफ्नै मौसम प्रणाली विकसित भएको बताएको । यसलाई आरएफएसले  निकै नै खतरनाक स्थिती बताएको छ ।यो डढेलो अष्ट्रेलियाको भिक्टोरिया र न्यू साउथ वेल्सको तटीय इलाकामा सबैभन्दा धेरै फैलिएको छ । आगलागीका कारण हावा र विषालु धुँवाका कारण पूर्वी तटमा रहेको इलाकामा जीवनयापन निकै मुश्किल भएको छ । मानिसहरु घर छोडेर भागिरहेका छन् । मृतकको संख्या लगातार बढिरहेको छ । अष्ट्रेलिया सरकारले थुप्रै इलाकामा संकटकालको घोषणा गरेको छ ।

भिक्टोरियाको स्थिती थप भयानक छ । शनिबार तीब्र गतिको हावाका कारण आगो थप फैलिएको छ । बढ्दो तापक्रमका कारण अग्नी नियन्त्रणमा खटेका समूहले  ठूलो समस्या व्यवहोर्नुपरेको छ । थुप्रै स्थानमा तापक्रम ४५ देखि ४७ डिग्रीसम्म पुगेको छ । मौसम विभागका अनुसार हावाले थप आगो फैलाइरहेको छ । यसबाट आउने धुँवाले उद्दारकार्यमा बाधा पुर्याइरहेको छ । आगोका कारण हज्जारौं मानिसहरु घर शहर छोडेर शरणार्थीको रुपमा बस्न बाध्य छन् ।

न्यू साउथ वेल्सको मध्य–उत्तरी इलाकामा सबैभन्दा धेरै जनावरको बसोबास छ । तर जंगलमा लागेको आगोका कारण उनीहरुको जनसंख्यामा भारी गिरावट आएको छ । आगोले २ सय बढी घरमा पनि क्षती पुगेको छ । थुप्रै मानिसहरु अहिले पनि आगोबाट प्रभावित क्षेत्रमा बसिरहेका छन् । उक्त डढेलोले अहिलेसम्म १८ जनाको ज्यान लिइसकिएको बताइएको छ ।