पुजी र जनशक्ती पलायन रोक्न गण्डकी विश्व विद्यालय–मन्त्री पुन

  • १८ पुष २०७६, शुक्रबार
  • 2329 पटक पढिएको

बेनी, १८ पुष । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले शिक्षाका लागि पुजी र जनशक्ती पलायन रोक्न गण्डकी विश्व विद्यालय सञ्चालन गर्न लागिएको बताउनुभएको छ । म्याग्दी बहुमुखी क्याम्पसको २९ औ वार्षिकोत्सव तथा १९ औ क्याम्पस सभालाई सम्बोधन गर्दै शुक्रबार मन्त्री पुनले प्रदेश विश्व विद्यालय सञ्चालनका लागि ऐन बनाएर कार्यान्वयनको प्रक्रियामा लगिएको जानकारी दिनुभयो ।

अनुसन्धनात्मक र प्राबिधिक शिक्षा प्रदान गरेर विश्व बजारमा बिक्न सक्ने दक्ष र योग्य जनशक्ति तयार पार्न उद्देश्य सहित सञ्चालन गर्न लागिएको विश्व विद्यालयका लागि कुलपति छनौट गर्न लागिएको मन्त्री पुनले बताउनुभयो । उच्च शिक्षा हासिल गर्न नसकेका र बिचैमा पढाई छाडेकाहरुलाई लक्षित गरेर प्राबिधिक शिक्षालय सञ्चालन गर्न स्याङ्जाको गुर्दीमा जग्गा प्राप्तीको प्रक्रियामा रहेको जानकारी गराउदै ३६ वटै निर्वाचन क्षेत्रमा आदर्श विद्यालय सञ्चालन गर्ने परिकल्पना गरिएको बताउनुभयो ।

म्याग्दीको हेम र शिख सहित १० वटा नमुना आवासीय विद्यालय स्थापना गरिएको जानकारी गराउदै खेलकुद र कलासंग सम्बन्धित विशेष विद्यालय सञ्चालनको तयारी भएको बताउनुभयो । सबै स्थानीय तहमा खेलमैदान, नमुना बाल विकास केन्द्रको कार्यक्रमका साथै बालबालिकालाई ब्यवहारिक शिक्षा दिन स्थानीय पाठ्यक्रम बनाउन लागिएको बताउनुभयो ।

बेनी अस्पतालमा डायलाइसीस सेवा विस्तार गर्न लागिएको, नसर्ने रोग न्युनीकरण गर्न एकिकृत स्वास्थ्य अभियान सञ्चालन गरिने र प्रदेशमै क्यान्सर, मुटु, मृगौला, बाल र स्त्रीरोग सम्बन्धी अस्पताल खोल्न पहल गरिएको मन्त्री पुनले बताउनुभयो ।विदेशीमा मात्र नभएर स्वदेशमा पनि सम्भावना देख्न अनुरोध गर्दै मन्त्री पुनले म्याग्देली युवा युवतिहरुले प्रशासनिक सेवामा आकर्षित बन्नुपर्ने बताउनुभयो । जिल्लाको विकासका लागि नेता मात्र नभएर कर्मचारीको पनि आवश्यक पर्ने भएकाले विदेशमा मात्र सम्भावना देख्ने प्रवृति त्याग्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशका सांसद बिनोद केसीले शैक्षिक सुधारका लागि प्रदेश सरकारले विभिन्न ऐन नियम बनाएको बताउदै म्याग्दी क्याम्पसलाई गुणस्तरीय शैक्षिक केन्द्र बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा स्नातक तह र दश जोड दुई तहमा उत्कृष्ट अंक सहित उतिर्ण हुने विद्यार्थीहरुलाई पुरस्कार, विभिन्न कोषको छात्रवृत्ति र ३० वटा बिधाका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

उपप्रध्यापक नारायणप्रसाद सुवेदीलाई उत्कृष्ट प्रध्यापक र सहलेखापाल बिष्णु आचार्यले उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षता, उपाध्यक्ष सोमनाथ ढुङ्गानाको स्वागत र सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख टिकाराम सापकोटाले क्युएए प्राप्तिको अन्तिम प्रक्रियामा रहेको जानकारी गराउनुभयो । समुदायद्धारा सञ्चालित म्याग्दी क्याम्पसमा शिक्षा, मानविकी र व्यवस्थापन संकायमा कक्षा ११ देखि स्नातक तथा व्यवस्थापन संकायमा स्नाकोत्तर तहको पठनपाठन हुने गरेको छ । एक हजार जना भन्दा धेरै विद्यार्थी छन् ।