म्याग्दीमा शान्तीपूर्ण रुपमा मतदान सम्पन्न

  • ३१ बैशाख २०७४, आईतवार
  • 3986 पटक पढिएको

म्याग्दी, ३१ वैशाख । म्याग्दीमा स्थानीय तहको निर्वाचन आईतवार शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । एक नगरपालिका र पाँच गाउँपालिकामा भएको स्थानीय तह निर्वाचन जिल्लामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिनुभयो ।  विहान ७ बजेदेखि बेलुकी पाँच बजेसम्म जिल्लाको ७२ मतदान स्थलमा रहेका १०२ निर्वाचन केन्द्रहरु सबैमा शान्तिपूर्ण रुपमा मतदान भएको उहाँले बताउनुभयो । उहाँका अनुसार मौसममा खराबी आएको कारण केही दुर्गम बस्तीहरुमा भएको मतदानको विवरण प्राप्त गर्न कठिनाई भएपनि करिब ६७ प्रतिशत बढी मतदान भएको अनुमान गरिएको छ ।

संघिय संरचनामा पहिलो पटक भएको निर्वाचनमा म्याग्देलिहरुले उत्साहपूर्वक सहभागिता जनाएका थिए । विहानैदेखि लामबद्ध भएका सर्वसाधारणले दिउँसो परेको बर्षाको बाबजुत पनि मतदानमा सक्रिय सहभागिता जनाएका थिए । सबै मतदान केन्द्रहरुमा निर्धारीत समयमै मतदान सुरु गरि निर्धारित समयमै मतदान कार्य सफलतापूर्वक सम्पन्न भएको र नागरिकहरुले उत्साहजनक सहभागिता जनाएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो ।

एक नगरपालीका, पाँच गाउँपालीका, ४५ वटा वडा रहेको म्याग्दीमा ७१ हजार ४६३ जना मतदाता रहेका थिए । म्याग्दीमा निर्वाचित हुने २३७ पदका लागि ६०६ जना उमेद्वारहरु चुनावी मैदानमा रहेका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा संघिय संरचनामा पहिलो पटक भएको निर्वाचनले मुलुकलाई विकास निर्माणको गतिमा अगाडी बढाउने सर्वसाधारणको अपेक्षा छ ।