बोहोराफाँट समाज जापानको नयाँ वर्ष कार्यक्रम: पत्रकार थापा सम्मानित

  • १६ पुष २०७६, बुधबार
  • 2122 पटक पढिएको

जापान टोकियो पौष १६   । बोहोराफाँट समाज जापानले टोकियोमा आयोजना गरेको नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा जापान भ्रमणमा रहनुभएका नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका पार्शद पत्रकार थम्मन थापा सन्देश, घुम्टे युवा परिवारका उपाध्यक्ष जीवन साहानी, गलकोट नगरपालिका ३ बोहोराफाँट निवासी ज्येष्ठ महिला ७६ वर्षिय चन्द्रकली बोहोरा, संस्थाका सल्लाहकारहरु लगायतलाई सम्मान गरिएको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रममा पत्रकार थम्मन थापा सन्देश, युवा समाजसेवी जीवन साहानी, बोहोराफाँट समाज जापानका उपाध्यक्ष गोविन्द खडकाले शुभकामना मन्तव्य राख्नु भएको थियो । सो अवसरमा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगति र समृद्विको कामना गर्दै एक आपसमा शुभकामना आदान प्रदान गरिएको थियो । कार्यक्रममा बोहोराफाँट समाज जापानका कार्यसमिति पदाधिकारीहरु, सल्लाहकार सदस्यहरु र शुभेच्छुकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । १ वर्ष अघि जापानमा स्थापना भएको समाजले गलकोट नगरपालिका ३ बोहोराफाँटको विकास र समृद्वि, विपन्न परिवार, असायलाई आर्थिक सहयोग गर्दै आईरहेको छ ।

समाजले बोहोराफाँट पालेको वन नजिक २ लाख ३० हजारको लागतमा प्रतिक्षालय निर्माण गरेको छ त्यस्तै स्वर्गिय फम बोहोराको परिवारलाई नगद रु १९ लाख ५९ हजार ५ सय ६७, बोहोराफाँट निवासी मृगौला पिडित भिम बहादुर बोहोरालाई नगद रु ४ लाख ७८ हजार १ सय १७, बोहोराफाँटकै फोक्सोका रोगी लिल बहादुर दर्जीलाई ५ लाख ८५ हजार ५ सय, गलकोट नगरपालिका वडा न ७ मल्मका स्वर्गिय जीत बहादुर बस्नेतको परिवारलाई नगद रु १ लाख ५७ हजार र गलकोट नगरपालिका ५ थापाटोलका स्वर्गिय मोहन थापाको परिवारलाई नगद रु ३ लाख ३ हजार २ सय ५० सहयोग प्रदान गरेको समाजका कोषाध्यक्ष एक बोहोराले जानकारी दिनुभयो । कार्यक्रम बोहोराफाँट समाज जापानका सल्लाहकार नर बहादुर बोहोराको अध्यक्षता र सचिव पवन बहादुर बोहोराको सञ्चालनमा सम्पन्न भएको थियो ।