बाग्लुङको ताराखोलाको मतगणनामा प्रविधिको प्रयोग

  • ३१ बैशाख २०७४, आईतवार
  • 2513 पटक पढिएको

बागलुङ, ३१ वैशाख । बाग्लुङको ताराखोला गाउँपालिकाको मतगणनामा अत्याधुनिक प्रविधियुक्त बनाइने भएको छ । क्यामेरा र प्रोजेक्टरको प्रयोग गरी मतगणनालाई पारदर्शी बनाउन लागिएको निर्वाचन अधिकृत देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

‘गाउँपालिकाका सबै पाँचवटा वडाबाट मतपेटिका संकलन भएपछि मतगणनाको कार्य प्रारम्भ गरिने छ,’ निर्वाचन अधिकृत सुवेदीले भन्नुभयो, ‘मतगणनालाई पारदर्शी बनाउन क्यामेरा र प्राजेक्टरको प्रयोग गरिनेछ ।’ मतपत्रलाई क्यामेराले खिच्ने र प्रोजेक्टरमा देखाइने व्यवस्था गरिएकाले मतगणना कार्य सबैले सहज रूपमा देख्न पाउने भएका छन् ।


‘प्रविधिको प्रयोगले मतगणनालाई अझ विश्वसनीय बनाउने विश्वास लिएका छौँ,’ सहायक निर्वाचन अधिकृत तथा ताराखोला गाउँपालिकाकी कार्यकारी प्रमुख शान्ति पौडेलले भन्नुभयो । यसबीच, गाउँपालिकाका पाँचवटै वडाको मतपेटिका संकलन भएपछि गणना सुरु गरिने भएको छ । ‘सम्पूर्ण तयारी पूरा भइसकेको छ, मतपेटिका आइपुगेपछि गणनाको काम सुरु हुन्छ,’ निर्वाचन अधिकृत सुवेदीले भन्नुभयो । Source : www.enayapatrika.com