नमुना मोडेल बन्दै ‘हरियाली कृषि फार्म’ ( तस्बिर र भिडियो सहित)

कमल खत्री
म्याग्दी ६ पुस । बेनी नगरपालिका–४ सिंगामा सञ्चालनमा आएको नयाँ अवधारणको ‘हरियाली कृषि फार्म’ यस क्षेत्रकै नमुना बनेको छ । लगानीकर्ता संगै कृषकहरुको समेत स्वामित्व रहने गरि कम्पनी मोडलमा सञ्चालनमा ल्याईएको यस फार्मले छोटो अबधिमै आसालाग्दो प्रगति गरेको छ । सिंगा र आँगेबगरमा १६० रोपनी जग्गामा तरकारी खेती, माहुरी, कुखुरा र माछापालन गरिएको छ । गत बर्षदेखि औपचारिक रुपमा पूर्वाधार निर्माण सुरु गरेको यस फार्ममा ६ महिनादेखि उत्पादन समेत सूरु भैसकेको छ । अहिलेसम्म १ करोडको हाराहारीमा तरकारी, कुखुरा, अण्डा र माछा विक्रि गरिसकेको फार्मका प्रबन्ध निर्देशक सेरबहादुर केसीले जानकारी दिए । ‘‘ तरकारी, कुखुरा, माछा र अण्डा उत्पादन भैरहेको छ, सुरुवातको सुचाङ्कबाट उत्साहित बनेका छाँै’’–केसीले भने ।

अहिले फार्मबाट उत्पादन भएका कृषि उपजहरु बेनी, दरबाङ र मुस्ताङमा बजारीकरण हुँदै आएको छ । फार्ममा ३४ जना कृषकहरुको जग्गालाई १५ बर्षसम्मको लागि चक्लाबन्दी गरि व्यवसायिक रुपमा तरकारी खेतिसंगै कुखुरा र माछापालन थालिएको छ । यस फार्ममा जग्गा भाडामा नभएर कृषकहरुले बार्षिक रुपमा आफ्नो जग्गामा कृषि खेति गर्दा हुने आम्दानी बराबरको रकमलाई मुआब्जाको रुपमा दिने व्यवस्था गरिएको छ । ‘‘कृषकले आफै निर्धारण गरेको आम्दानी बराबर हरेक ६ महिनामा मुआब्जा दिने प्रवन्ध गरिएको छ, फार्ममा अन्य लगानीकर्ता संगै कृषक स्वयमको समेत लगानी रहेको छ, यसबाट कृषक र लगानीकर्ता सबैलाई फाईदा पुग्ने विश्वास लिएका छौँ’’– यस फार्मका अवधारणाकर्ता समेत रहेका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले भने ।

उनका अनुसार, कम्पनीमा एक व्यक्तिको एक शेयर मात्रै हाल्न पाउने प्रावधान छ । लगानीकर्तालाई न्युनतम रु १० लाख र जग्गाधनी कृषकको हकमा भने रु १ लाखदेखि १० लाखसम्म लगानी गर्न पाउने व्यवस्था गरिएको छ । अहिलेसम्म ५६ जनाले यस फार्ममा रु ४ करोड ६ लाख लगानी गरेका छन् । जग्गाधनी र स्थानीयबासी आबद्ध सहकारीले समेत यस फार्ममा शेयर लगानी गरेको छ । शेयर रकम बाहेक प्रा.लिले राष्ट्रिय बाणिज्य बैँक बेनीबजार शाखा मार्फत बिना धितो सहुलियत ब्याजको कृषि कर्जा मार्फत रु ५ करोड थप लगानी गरेको प्रा.लिका प्रवन्ध निर्देशक केसीले जानकारी दिए । शेयर रकम मार्फत पूर्वाधार बनाउन सुरु गरिएको फार्ममा अहिले कुल लगानी ९ करोड नाघेको छ भने क्षमता विस्तारको काम भैरहेको छ । फार्ममा ६० रोपनी जग्गामा गोलभेडा, आलु, तरुल, सिमी, ड्राइगन फुड लगायतका तरकारी लगाईएको छ ।

२५ रोपनीमा बनाईएका १४ वटा पोखरीमा लोकल, गर्जि, असला, शहर, बिगहेट, कमनकार्प लगायतका ६० हजार माछाका भुरा पालन गरिएको छ । १० हजार बोइलर र ११ हजार अण्डा दिने लेस जातका कुखुरा पालन गरिएको फार्ममा लोकल कुखुरा पालनको समेत तयारी गरिएको फार्मका ए ब्लक इन्चार्ज अर्णबहादुर खड्का (भगवान) ले जानकारी दिए । उनमा अनुसार, अहिले ७ हजार कुखुराबाट दैनिक रुपमा अण्डा उत्पादन भैरहेको छ । अहिले फार्म सञ्चालन भएकै क्षेत्रमा कालिज पालन र बाख्रापालनको तयारी गरिएको छ भने रिसोर्ट सञ्चालनको लागि समेत पूर्वाधार निर्माणको तयारी गरिएको छ । एक सय घारमा मौरीपालन समेत गरिएको खड्काले बताए ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर श्रेष्ठ, कृषि बैज्ञानिक डाक्टर टिका कार्की र कृषि मन्त्रालयका सह–सचिब मदन थापा सल्लाहकार रहेको यस प्रा.लिमा स्थानीय अगुवा, कृषकसंगै म्याग्दीका राजनीतिकर्मी र विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तिहरुले समेत लगानी गरेका छन् । नमुना कृषि फार्मको रुपमा अघि बढाईएको यस परियोजनालाई निकट भविश्यमै म्याग्दीका अन्य स्थानीय तह र देशका विभिन्न जिल्लाहरुमा विस्तार गर्ने योजना बनाइएको प्रा.लिका अध्यक्ष सुजता श्रेष्ठले जानकारी दिईन् ।
                                    सहुलियत ब्याजमा परियोजना कर्जा

हरियाली गु्रप प्रालिले सञ्चालन गरेको नमुना फार्मलाई राष्ट्रिय वाणिज्य बैङ्कले बिना धितो सहुलियत ब्याजको कृषि कर्जा प्रवाह गरेको छ । बैङ्कको बेनी बजार शाखाले प्रा.लिको कृषि परियोजनालाई रु पाँच करोड रुपैयाँ लगानी गरेको हो । केन्द्रीय कार्यालयबाट पाँच करोड रुपैयाँ कर्जा स्विकृत भएकोमा दुई चरणमा गरि ३ करोड ५० लाख रुपैयाँ समूहलाई कर्जा स्वरुप भुक्तानी दिइएकोे बैङ्कले जनाएको छ । जग्गा नभएर परियोजना र त्यहाँ निर्मित पूर्वाधारलाई आधार मानेर लगानी गरिएको हो । सेवा शूल्क सहित ८ दशमलब २३ प्रतिशत हुने ब्याजदरमा सरकारले पाँच प्रतिशत सहुलियत दिने र ऋणीले ३ दशमलब २३ प्रतिशत ब्याजदर तिर्नुपर्ने ब्यवस्था छ । यसअघि सरकारले सहुलियत ब्याजदरको कृषि कर्जा कार्यक्रम ल्याएपनि कार्यान्वयन हुन सकेको थिएन् ।

                                    स्थानीयलाई मुआब्जा, रोजगारी र लगानीको अवसर
यस फार्ममा स्थानीय कृषकहरुलाई अवसर नै अवसर सिजर्ना भएको छ । अन्नबालीको खेति गर्दा बार्षिक रुपमा खर्च कटाएर हुने आम्दानी बराबरको रकम प्रा.लि.ले हरेक ६ महिनामा मुआब्जा स्वरुप दिने, क्षमता अनुसारको रोजगारिको अबसर र लगानी गर्न इच्छुकलाई लगानीको समेत अवसर दिईएकाले आफुहरु उत्साहित बनेको स्थानीय केदारनाथ पौडेलले बताए ।

फार्मको बि ब्लकका इन्चार्ज भएर रोजगारि समेत पाएका पौडेलले मुलुकमै नयाँ अवधारणा सहित फार्म सञ्चालनको लागि प्रा.लिले जग्गा खोजी गरेको सन्दर्भमा आफुहरुले त्यसलाई अवसरको रुपमा स्थानीयबासीहरुमा छलफल गरि बर्षेनी मुआब्जा लिने गरि जग्गा व्यवस्थापन गरिएको बताए । अर्कोतर्फ प्रा.लि.मा आबश्यक जनशक्ति समेत अधिकाँश जग्गाधनी र स्थानीय नै छन् । प्रा.लि.मा प्राविधिक, व्यवस्थापक, फार्म सहायक लगायत गरि ४४ जनाले प्रत्येक्ष रुपमा रोजगारिको समेत अवसर पाएका छन् । फार्ममा काम गर्ने कर्मचारीलाई नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक भन्दा पनि बढी सुविधा दिईएको प्रा.लि.ले दावि गरेको छ ।

                                                     यस्तो सम्भावना रहन्छ

यस फार्ममा अत्याधुनिक प्रविधिलाई उपयोगमा ल्याईएको छ भने आधुनिक औजारको प्रयोगमा जोड दिईएको छ । यसले कृषिको आधुनिकिकरण, ब्यवसायीकरण गर्दै उत्पादन बढाएर कृषक र लगानीकर्तालाई आम्दानी बढाउने सम्भाबना बढाएको छ । विश्वमा सफल मानिएका अवधारणा र स्थानीय परिवेशलाई समेत आत्मसाथ गरि म्याग्दीमा पाईलट प्रोजेक्टको रुपमा सञ्चालन गरिएको हरियाली मोडल सफल भए यसले लगानीकर्तालाई मात्रै नभएर कृषकको जिवनस्तर सुधारमा समेत सघाउने देखिएको छ । यो अभियान देशव्यापि रुपमा विस्तार गर्न सके कृषिमा देखिएको लगानी, बजार र श्रमिक अभावको समस्या हट्ने, उत्पादन बढ्ने र आयात घटाउन समेत योगदान पुग्ने देखिन्छ । हरियाली मोडललाई दक्षिण अफ्रिकाको सामुहिक खेती “टिम्बाली” र भारतका दूध उत्पादक कृषकहरुले अपनाएको “आमुल” मोडलको रुपमा अघि बढाउने जमर्कोमा प्रा.लि. जुटेको छ ।

अन्य फोटो ग्यालरीमा जानुहोस्