गलेश्वरमा फाईबर प्रविधि मार्फत टेलिकमको इन्टरनेट र फोन सेवा (भिडियो सहित)

  • ३ पुष २०७६, बिहीबार
  • 3842 पटक पढिएको

म्याग्दी ३ पुस । नेपाल टेलिकमले तीव्र गतिको डाटा र भ्वाइस सेवा समेत चलाउन मिल्ने एफटीटीएच अर्थात फाइबर टु द होम सेवा अन्र्तगत पहिलो पटक म्याग्दीको गलेश्वरबाट आफ्नो सेवा सुचारु गरेको छ । पुरानो प्रविधिमा आधारित सेवालाई फाईबर रुपान्तरण गर्दै म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजारमा परिक्षण गरिएको सेवा सफल भएको हो । ग्राहकले पहिले सञ्चालन गरेकै फोन नम्बरलाई नै फाइबरमा रुपान्तरण गरि तीब्र गतिको इन्टरनेट र भ्वाइस सेवा विस्तार गरिएको नेपाल टेलिकम म्याग्दी शाखाका प्रमुख विष्णुदेव शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार, गलेश्वरमा तत्काललाई १२८ जना ग्राहकले फाईबर प्रविधिमा आधारित इन्टरनेट र भ्वाइस सेवा लिन सक्ने क्षमताको पूर्वाधार बनाईएको छ । पहिलो चरणमा ६४ जनाले एकैपटक फाइबर प्रविधिमा आधारित सो सेवा लिएका छन् । यस अघि टेलिकमले प्रयोग गर्दै आएको तामाको तारको कपर प्रविधिलाई फाइवर विस्तार गरि पूर्ण रुपमा हटाईसकिएको छ । नेपाल सरकारको डिजिटल नेपालको अवधारणा अनुसार फाइबर प्रविधि मार्फत भ्वाइस, इन्टरनेट र टिभि एउटै तारबाट ग्राहकलाई उपलब्ध गराउने लक्ष्य सहित सेवा सुचारु गरिएको टेलिकम बागलुङ शाखाका प्रमुख बरिष्ठ इन्जिनियर केशव शर्माले बताउनुभयो ।

उहाँका अनुसार, गलेश्वरमा ग्राहकले पहिले प्रयोग गर्दै आएको ल्याण्डलाइन नम्बरलाई नै फाईबरमा रुपान्तरण गरि भ्वाइस र इन्टरनेट सहितको यो सेवा नेपालकै पहिलो हो । अहिले टेलिकमले फाइवर विस्तार गरेका अन्य स्थानमा नयाँ ग्राहकले मात्रै एकैसाथ सेवा प्राप्त गर्दै आएका छन । अहिलेसम्म अधिकतम ५ एमबिपिएस गतिको इन्टरनेट उपभोग गर्दै आएका ग्राहकहरुले फाईबर मार्फत आबश्यकता अनुसार ८ देखि ५५ एमबिपिएस सम्मको तिब्र गतिको इन्टरनेट सुविधा प्राप्त गर्न सक्ने भएकाले बढी लाभदायि हुने इन्जिनियर शर्माले बताउनुभयो । टेलिकमले निकट भबिश्यमै एउटै तारबाट भ्वाइस, इन्टरनेट र टिभिको समेत सेवा दिने गरि तयारी गरिरहेको छ ।

म्याग्दी सदरमुकाम बेनीमा समेत फाईबर विस्तारको काम सकिएको र ग्राहकले अहिले चलाएकै ल्याण्डलाइन नम्बर मार्फत नै फाइबवर प्रविधिको सेवा लिन पाउने व्यवस्था सहित सेवा विस्तारको तयारी गरिएको छ । नयाँ ल्याण्ड लाईन नम्बर लिएर सेवा लिन चाहने व्यक्तिहरुलाई तत्कालै सेवा दिन सकिने भएपनि पुराना नम्बरबाटै सेवा लिन चाहनहरुको हकमा भने पुरानो प्रविधिलाई फाइबरमा रुपान्तरणको लागि केही समय लाग्ने टेलिकमले जनाएको छ । टेलिकमले म्याग्दीसंगै, बागलुङ, पर्वत र मुस्ताङमा समेत यो सेवा दिने तयारी गरेको छ । बेनीमा २ हजार ५ सय २० जनालाई तत्काल यो सेवा दिन सक्ने क्षमतामा फाइबर विस्तार गरिएको छ । म्याग्दीमा १३ हजार ९४ जना ल्याण्डलाईन फोनका ग्राहक रहेका छन् ।