न्यू धौलागिरि सहकारीको साधारणसभाः विपन्नलाई पठनपाठनमा सहयोग, सामाजिक अभियन्यतालाई सम्मान (तस्बिर र भिडियो सहित)

  • २८ मंसिर २०७६, शनिबार
  • कमल खत्री
  • 5367 पटक पढिएको

म्याग्दी २८ मङ्सिर । न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाले विपन्न र असाह्य विद्यार्थीहरुको पठनपाठनमा सघाएको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत सहकारी शिक्षाकोष मार्फत यस सहकारीले बिगत १५ बर्षदेखि गरिब, विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको हो ।

आर्थिक बर्ष २०७५/०७६ मा यस सहकारीले छात्रवृत्तितर्फ रु १ लाख १८ हजार ९ सय र विद्यालय सहयोगतर्फ बेनी नगरपालिका–४ तातोपानीको सरस्वती माविलाई रु २१ हजार ५२१ सहयोग गरेको जनाएको छ । शनिवार बेनीमा सम्पन्न संस्थाको २० औँ बार्षिक साधारण सभामा संस्थाका सचिब रामजीप्रसाद सुवेदीले गरिब र विपन्न परिवारका जेहेन्दार विद्यार्थीहरुको पठनपाठनमा सघाउन सहकारीले चार शैक्षिक संस्थाका ६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप सहयोग गरेको जानकारी दिए ।

सहकारीले म्याग्दी बहमुखी क्याम्पसमा स्नातक तहमा अध्ययन गरेका दृष्टिविहिन गोपाल खत्रीलाई रु ३३ हजार, विपन्न परिवारकी पवित्रा खत्रीलाई १५ हजार ८ सय, जामुनाखर्क माविको दश जोड दुई तहमा अध्ययतरत रिता आचार्य र मदन कटुवाललाई एकमुष्ठ नगद रु २५ हजार ५ सय, प्रकाश माविमा दश जोड दुई तहमा विज्ञान संकायमा अध्ययनरत सोनी जिसीलाई रु ३१ हजार ४ सय र बेनी सामुदायिक माविको दश जोड दुई तहमा अध्ययनरत प्रकाश पुनलाई रु १३ हजार २ सय छात्रवृत्ति रकम प्रदान गरेको जनाएको छ ।

बिगतदेखि शिक्षाकोष मार्फत नियमित कार्यक्रम अन्र्तगत दश जोड दुई तह र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको सहकारीले संस्थाको साधारण सभाको अवसरमा बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत अपांगता भएका सोमप्रसाद सापकोटालाई नगद रु १५ हजार ५ सय छात्रवृत्ति वितरण गरेको छ । स्नातक तहको दोस्रो बर्षमा अध्ययनरत सापकोटालाई थप दुई बर्षसम्म छात्रवृत्तिलाई निरन्तरता दिने सहकारीका अध्यक्ष लिलाबहादुर बानियाँले जानकारी दिए ।

सोही अवसरमा स्नातक तहको चार बर्षसम्म बार्षिक रु ३३ हजारको दरल सहकारीबाट छात्रवृत्ति पाएर अध्ययन गरि स्नातक हतमा शिक्षा संकायतर्फबाट सर्वोकृष्ट नतिजा सहित उर्तिण हुन सफल भएका दृष्टिविहिन गोपाल खत्रीलाई नगद रु ३ हजार सहित सम्मान गरेको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष बानियाँ, बेनी नगरपालिकामा मेयर हरिकुमार श्रेष्ठ, बेनपा–४ का वडा अध्यक्ष गोविन्द प्रसाद पौडेल, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य लगायतले छात्रवृत्ति वितरण र सम्मान गरेका थिए ।

सहकारीले साधारणसभाको अवसरमा बालिका बचाउन कलेजो दान गरेका सामाजिक अभियन्ता चन्द्रकुमार केसी, डाक्टर भिमराव अम्बेडकर अन्र्तराष्ट्रिय अवार्ड प्राप्त गर्न सफल महिला नेतृ बिमला गौचन र पत्रकारिता मार्फत मानविय सेवामा योगदान पु¥याएको भन्दै पत्रकार हरिकृष्ण गौतमलाई समेत दोसल्ला र प्रसंसापत्रद्धारा सम्मान गरेको छ । कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा सहकारीका प्रवन्धक अधिकृत हरिप्रसाद पौडेल सहित कार्यालय सहयोगी गंगादक्त शर्मा र सहकारीको तातोपानी सेवा केन्द्रमा कार्यरत रहँदा उत्कृष्ट कार्य गरेको भन्दै रिना बुढाथोकिलाई समेत नगद सहित सम्मान गरिएको थियो भने कारोबरमा उत्कृष्ट सेवा केन्द्र बन्न सफल तातोपानी सेवा केन्द्रका संयोजक तुलप्रसाद श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट कारोवारकर्ता र बचतकर्तालाई समेत सम्मान गरिएको थियो । यस सहकारीमा मालिका गाउँपालिका–६ दरबाङको रितुङ कृषि सहकारी, बेनी नगरपालिका–४को तातोपानी कृषि सहकारी, मंगला गाउँपालिका–२ बावियाचौरको मंगलाकाली व्यवसायिक कृषि सहकारी, अन्नपूर्ण गाउँपालिका–६ को पुनहिल उपभोक्ता कृषि सहकारी र जलजला गाउँपालिका–३ को मल्लाज भूपुसैनिक बहुउदेश्यीय सहकारी संस्था एकिकरण भएर गाभिएका छन् । बेनीमा मुख्य कार्यालय रहेको सहकारीले पोखरेबगर,बावियाचौर, दरबाङ, तातोपानी र मल्लाजमा सेवा केन्द्र मार्फत वित्तिय सेवा प्रवाह गर्दै आएको छ ।

कुल २ हजार ४ सय १४ जना शेयर सदस्य र रु ७ करोड ११ लाख २३ हजार १ सय शेयर पुँजी रहेको यस सहकारीले आर्थिक बर्ष २०७५/०७६ मा रु ८४ लाख ५६ हजार ११ खुद मुनाफा गरेको कोषाध्यक्ष चन्द्रकुमार केसीले जानकारी दिए । कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर श्रेष्ठले सहकारी मार्फत भएका सामाजिक कार्यहरु प्रसंसनीय रहेको बताउँदै मार्फत उत्पादनमुलक र रोजगार सिर्जना हुने क्षेत्रमा लगानीलाई जोड दिन आग्रह गरे ।

कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष कर्माचार्य, बेनपा–४ का वडा अध्यक्ष पौडेल र जामुनाखर्क माविका सहायक प्रअ मोहन प्रसाद सुवेदीले आर्थिक कारोबार संगै शिक्षा क्षेत्रमा सहकारीले गर्दै आएका सामाजिक कार्यहरु अन्य सहकारीहरुको लागि अनुसरणयोग्य रहेकोमा जोड दिए ।

सहकारीका अध्यक्ष बानियाँको अध्यक्षता, सचिब रामजीप्रसाद सुवेदीको सञ्चालन र सञ्चालक सदस्य बमबहादुर पुनको स्वागतमा सम्पन्न कार्यक्रममा सामाजिक अभियन्ता समेत रहेकी सहकारीका सञ्चालक सदस्य बिमला गौचन, पत्रकार हरिकृष्ण गौतम, दरबाङ सेवा केन्द्रका सिता गौतम लगायतले मन्तव्य राखेका थिए । यस सहकारीले म्याग्दी र पर्वत संगै कास्की सम्म समेत आफ्नो कार्यक्षेत्र विस्तार गरि गण्डकी प्रदेश स्तरको सहकारी बनाउने लक्ष्य लिएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l