मानव अधिकार समिक्षा : अधिकार सँगै संस्कृति पनि जोडिन्छ : सांसद के.सी.

  • २४ मंसिर २०७६, मंगलवार
  • 1960 पटक पढिएको

म्याग्दी २४ मंसिर । मानवअधिकारको कुरा गर्दै गर्दा संस्कृति पनि सँगै जोडिएर आउने भएकोले अधिकार सँगै संस्कृतिलाई नि संरक्षण गर्नु पर्ने गण्डकी प्रदेशका सांसद विनोद के.सी.ले बताउनु भएको छ । उक्त कुरा म्याग्दी निर्वाचन क्षेत्र क का सांसद केसीले अनौपचारीक क्षेत्र सेव केन्द्र(इन्सेक) म्याग्दीको अयोजनामा भएको मानवअधिकार समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा बताउनु भएको हो ।

सांसद के.सीले नेपालमा भएको बहुसांस्कृतिको समाज रहेको र त्यो समाज भित्र चलि आएको संस्कृृतिलाई संरक्षण गर्नु पर्ने कुरामा जोड दिनु भयो । उहाँले भन्नु भयो नेपालको संविधानले नै नागरिकलाई अधिकार सम्पन्न बनाएको र त्यसलाई कार्यान्वयन गर्ने कार्यमा केही समस्या रहेको हुन सक्छ । मानवअधिकारको विषयमा आफूले आफ्नो तर्फबाट पहलका लागि कुनै कसर बाँकी नराख्ने के.सीको भनाई थियो ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जरिवानाबाट राज्यका लागि धेरै राजश्व उठ्नु समस्या रहेको बताउनु भयो । प्रजिअ ढकालले भन्नुभयो राज्यमा कुनै समस्या भएन र समाजमा गलत काम भएन भने जरिवाना तिराउनै पर्दैन । उहाँले मानवअधिकार सम्बन्धि यदी कार्यक्रमहरु धेरै हुन थाले भने अधिकार हनन भएको बुझीन्छ, यदी त्यस्तो भएको छैन भने समस्या छैन भनेर समाजले बुझ्ने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर ध्रुवप्रसाद शर्माले प्रहरी नियन्त्रणमा लिएपछि नागरिकको अधिकारको उच्च सम्मान गरिने बताउँदै विगतमा प्रहरीले गिरफ्तार गरे यातना दिन्छ भन्ने जुन मानसिकता थियो सबैले त्यसलाई परिवर्तन गर्नु पर्ने बताउनु भयो । उहाँले प्रहरीले नियन्त्रणमा लिएपछि नागरिकको मानवअधिकारको विषयमा प्रहरीले गम्भीर भएर बिचार गर्ने बताउनु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, मानवअधिकार तथा शान्ति समाजका सभापति नवराज शर्मा, पूर्व सभापति मुक्ती ढुङ्गाना, निवर्तमान अध्यक्ष ठाकुर प्रसाद शर्मा, सहायक जिल्ला न्यायाधिवक्ता जिवनाथ सुवेदी, राष्ट्रिय अनुसन्धानका प्रमुख सविन श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।