चुनावमा निर्धक्क भएर भोट खसाल्नुस्ः प्रधानमन्त्री

  • ३० बैशाख २०७४, शनिबार
  • 2229 पटक पढिएको

काठमाडौं ३० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको चुनावमा सक्रियरुपमा भाग लिएर आफ्नो सार्बभौम मताधिकार प्रयोग गर्न सबै मतदातालाई अपिल गरेका छन् ।हिलो चरणको स्थानीय चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री प्रचण्डले अपिल जारी गर्दै स्थानीय चुनावलाई ऐतिहासिक अवसर भनेका छन् र यो चुनाव नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने कडीको रुपमा रहेको बताएका छन् ।

पहिलोचोटी हुन लागेको यो चुनावबाट सिंहदरवार केन्द्रित अधिकार र स्रोत साधन जनताको घर आँगनसम्म पुर्‍याउनका लागि ढोका खुल्ने प्रचण्डको विश्वास छ ।निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकार र निर्वाचन आयोगले कुनै कसर बाँकी नराखेको प्रधानमन्त्री प्रचण्डले बताए ।‘मूलतः शान्ति सुरक्षाको दृष्टिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न दरिलो र भरपर्दो सुरक्षा प्रवन्ध मिलाइएको छ । तसर्थ सबै मतदाता दिदी बहिनी तथा दाजुभाइहरुलाई यस ऐतिहासिक अवसरको सदुपयोग गर्दै कुनै भय र संकोच विना निर्धक्क भई आफूले चाहेका उम्मेदवारहरुलाई मत खसाल्न हार्दिक अनुरोध गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

समावेशिताको दृष्टकोणले पनि यो चुनाव ऐतिहासिक रहेको भन्दै उनले शदियौंदेखि चुलो चौकामा सीमित नेपाली महिलाहरुको सशक्तीकरण र नेतृत्व निर्माणका दिशामा ऐतिहासिक कोशेढुंगा हुने बताएका छन् ।प्रचण्डले भनेका छन्, ‘धेरैले लगभग बीस वर्षको अन्तरालपछि स्थानीय चुनाव हुन गइरहेको भन्ने गरेको पाइन्छ । हो, स्थानीय स्तरमा जन प्रतिनिधि चुन्ने अर्थमा यस्तो चुनाव लामो समय पछि हुन गइरहेको छ । तर म के स्पष्ट पार्न चाहन्छु भने यस्तो प्रकारको चुनाव नेपालमा पहिलोचोटि हुँदैछ ।’

केन्द्रिकृत राज्यसत्ताको अन्त्य गरी संघात्मक शासन व्यवस्थाको स्थापनाका लागि चुनाव कोशेढुंगाका सावित हुने उनको भनाइ छ ।‘यो चुनाव नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने कडीका रुपमा रहेको छ भने अर्कातिर स्थानीय लोकतन्त्रलाई सुदृढ गर्दै लामो समयदेखि जरा गाडेको एकात्मक र केन्द्रीकृत राज्यसत्ताको अन्त्य गरी संघात्मक शासन व्यवस्थाको स्थापनाका लागि एउटा कोशेढुंगाका रुपमा लिन सकिन्छ । यही चुनावबाटै सिंहदरबार केन्द्रित अधिकार र स्रोत साधनलाई जनताको घर आँगनसम्म पुर्‍याउनका लागि ढोका खुला हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् । News source:www.onlinekhabar.com