मराङमा स्त्रीरोग सम्बन्धी निशूल्क स्वास्थ्य शिविर सुरु

  • २१ मंसिर २०७६, शनिबार
  • 1843 पटक पढिएको

बेनी, २० मंसिर । धवलागिरी गाउँपालिका–६ मराङमा शुक्रबार देखि स्त्रीरोग सम्बन्धी निशूल्क स्वास्थ्य शिविर सुरु भएको छ । गाउँपालिकाको आर्थिक, मराङ स्वास्थ्य चौकीको प्राबिधिक सहयोगमा वडा कार्यालयले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत महिलाहरुलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको हो ।

शनिबार सम्म सञ्चालन हुने शिविरमा लमजुङ सामुदायिक अस्पतालका डाक्टर हेमा छन्त्याल, दरवाङ प्राथमिक उपचार केन्द्रका डाक्टर तिलक गौतम, गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक लोकनाथ पौडेल, मराङ स्वास्थ्य चौकीका इञ्चार्ज मोहन गर्बुजा, आरबाङ सामुदायिक स्वास्थ्य इकाइका अहेव रिना गर्बुजा, अनमी तिलकुमारी गर्बुजा र कर्मचारी खटकुमारी सुवेदीको टोलीले सेवा दिने जनाइएको छ ।

स्वास्थ्य परिक्षण, परामर्श, भिडियो एक्सरे, निशूल्क शल्यक्रिया सम्बन्धी सेवा दिइने जनाइएको छ । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाले जनजाती तथा महिलाको क्षेत्रमा बिनियोजन गरेको बजेटबाट शिविर सञ्चालन गरिएको हो । पहिलो दिन वडा न. ४ खिवाङ, वडा न. ६ मराङ र वडा न. ५ मल्कवाङका २२० जनाले सेवा लिएका गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो ।

शिविरको उद्घाटन गर्दै अध्यक्ष पुनले भौगोलिक विकटता, आर्थिक र पारिवारिक कारणले सहर बजारका अस्पताल पुगेर सेवा लिन नसक्दा रोग लुकाएर बस्न बाध्य महिलाहरुका लागि शिविर सञ्चालन गरेको बताउनुभयो । कार्यपालिका सदस्य तिलकुमारी बर्गुजाको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष राजाराम सुवेदीले स्वास्थ्य शिविरबाट रोगको पहिचान र उपचारमा सहयोग पुग्ने बताउनुभएको थियो ।