मिलनचोक–धाईरीङ सडक कालोपत्रे आयोजना सुरु

  • १९ मंसिर २०७६, बिहीबार
  • 2393 पटक पढिएको

 

मिलनचोक, १९ मंसिर । पर्वतको जलजला गाउँपालिका–७ मिलनचोक देखि सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक कालोपत्रे आयोजना सुरु भएको छ । जलजला गाउँपालिकाको आयोजनामा बिहीबार मिलनचोकमा भएको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले सडक निर्माण कार्यको शिलन्यास गर्नुभयो ।

गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक आयोजना अन्तरगत मिलनचोक देखि धाइरीङ जोड्ने १० किलोमिटर सडक कालोपत्रे हुन लागेको हो । पर्वत क्षेत्र (क) बाट निर्वाचित गण्डकी प्रदेशका सांसद नेत्रनाथ अधिकारीको सिफारिसमा यो सडक आयोजना छनौट भएको नेकपा जलजला गाउँपालिका कमिटिका अध्यक्ष दिपक आचार्यले बताउनुभयो ।

प्रदेश सरकारले सबै निर्वाचन क्षेत्रका निर्वाचित सांसदको सिफारिसमा एक एक वटा सडक आयोजना सञ्चालन गरेको छ । सडकको शिलन्यास पछि अध्यक्ष तिमिल्सीनाले ग्रामिण क्षेत्रका जनताको सुबिधाका लागि पर्वतका सबै वडा जोड्ने मुख्य सडक कालोपत्रे गर्ने आयोजनाहरु अघि बढाएको बताउनुभयो । सभामुख अधिकारीले यो सडक आवत जावतलाई मात्र नभएर कृषि र जलजलाको धार्मिक पर्यटन विकासमा सहयोगी बन्ने बताउनुभयो । जलजला गाउँपालिकाको मिलनचोक देखि शालीजा, लेकफाँट, पर्वत बेनी देखि मल्लाज लगायत अन्य वडा जोड्ने सडकको पनि स्तरोनति गर्न पहल गरिएको बताउनुभयो ।

जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले योजना भित्र्याउन पहल गर्नुहुने अध्यक्ष तिमिल्सीना, सभामुख अधिकारी लगायतलाई आभार व्यक्त गर्दै तोकिएकै समयमा सम्पन्न गराउने वातावरण बनाउने र अन्य सडकको स्तरोन्नितिका लागि पनि पहल गर्न आग्रह गर्नुभयो । पूर्वाधार विकास कार्यालय पर्वतका इञ्जिनियर सतिष सुवेदीले आयोजनाको बारेमा जानकारी गराउनुभएको थियो । २०७६ मंसिर ६ गते हिमदुङ एण्ड थोकर प्रालीले २८ करोड १३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । २०७८ मंसिर ५ गतेसम्म दुईवर्षको ठेक्का अवधि रहेको छ ।

५ मिटर २५ सेन्टिमिटर चौडाइमा डिबिएसटी कालोपत्रे हुने सडक सात मिटर र एक मिटर नाली हुने इञ्जिनियर सुवेदीले बताउनुभयो । केन्द्रबिन्दुदेखि दायाँ र बायाँ दश दश मिटर सडकको क्षेत्राधिकार रहेको छ । शिलन्यास कार्यक्रमको सहजिकरण जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले गर्नुभएको थियो । दश वर्षअघि तत्कालीन जिविस, गाविस र स्थानीयबासीको अगुवाइमा ट्याक खोलिएको सडक हालसम्म कच्चि अवस्थामा रहेको छ । धाइरीङमा उत्पादीत तरकारी निकासी, भुमे ठाकुर र जलजला जाने आउने पर्यटक तथा भक्तजनलाई सहज हुने सडकको ट्याक खुलाउन अगुवाई गर्नुभएका शेरबहादुर केसीले बताउनुभयो ।