कीर्तिमानी मेस्सीको जीवन चक्र र उपलिब्ध

  • १८ मंसिर २०७६, बुधबार
  • 2117 पटक पढिएको

एजेन्सी । अर्जेन्टिना एवं स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीको चर्चा र उपलब्धि भेट्टाउन सन्सारमा कुनै पनि खेलाडीलाई असम्भव जस्तै देखिन्छ । ३२ वर्षीय मेस्सीले मङ्गलबार बिहान मात्र पेरिसमा आयोजित विशेष समारोहमा कीर्तिमानी छैटौँ पटक बालोन डी’ओर अवार्ड थापे । मेस्सीले यो अवार्ड जितेर पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् । यसअघि दुवैको नाममा पाँच पाँचवटा बालान डी’ओर अवार्ड थियो । मेस्सीले कीर्तिमानी छैटौँ पटक बालोन डी’ओर जितेर दुनियालाई छक्क पारिदिए ।

पेरिसमा अवार्ड जित्दै मेस्सीले आफूले सधैँ अगाडि बढ्ने सपनामा खेलेको र सबै सफलता मिहिनेतको फल भएको बताएका छन् । यसअघि मेस्सीले सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा अवार्ड जितेका थिए । बालोन डी’ओर एउटा पाटो मात्र हो । मेस्सीले फुटबलमा बुनेको सफलताका कथा धेरै छन् । अर्जेन्टिनालाई विश्वकप उपाधि जिताउनु बाहेक एउटा खेलाडीले गर्नसक्ने भन्दा हजारौँ गुना बढी सफलता मेस्सीले दिलाएका छन् । चाहे त्यो राष्ट्रि«य टोलीमा होस् या क्लब फुटबलमा ।

सामाजिक कार्यमा पनि मेस्सीको योगदान उल्लेखनीय छ । मेस्सी फाउन्डेसनमार्फत उनले संसारभरका गरिब र असाहायलाई सहयोग गर्दै आएका छन् । दैवी प्रकोपले निम्त्याउने ठूला घटनामा पनि मेस्सीको सहयोगी भावना तारिफयोग्य छ । नेपालमा २०७२ सालमा गएको विनासकारी भूकम्पमा पनि मेस्सीले आफ्नो फाउन्डेसनमार्फत नेपाललाई सहयोग गरेका थिए । त्यसैले त मनकारी मेस्सीका नेपालमा पनि हजारौँ समर्थक छन् ।

पीडादायी बाल्यकाल

मेस्सीको जन्म सन् १९८७ मा अर्जेन्टिनाको रोसारियो सहरमा भएको हो । मेस्सीका बुबाको नाम जर्ज मेस्सी र आमाको नाम सेलिया मारिया हो । उनका दुई जना दाजु र एउटी बहिनी पनि छन् । अहिले त मेस्सीको श्रीमती र तीन छोरा भइसकेको छ । सामान्य परिवारमा जन्मिएका मेस्सी सानैदेखि आर्थिक अभावबाट गुज्रिएका थिए । उनका बुबा जर्ज सहर नजिकैको एउटा स्टिल कारखानामा काम गर्थे भने आमा सरसफाइको काम गर्थिन् । मेस्सीको परिवारलाई दैनिक गुजारा टार्न नै धौधौ थियो ।

जर्ज पनि राम्रो फुटबल खेलाडी थिए । फुर्सदमा उनी घर नजिकैको क्लब ग्यान्डोलीमा खेलाडीलाई प्रशिक्षण दिने गर्थे । मेस्सीले सुरुमा बुबाबाटै फुटबल सिके । मेस्सीले पाँच वर्षको उमेरदेखि नै ग्यान्डोली क्लबबाट फुटबल खेल्न थालिसकेका थिए । नौ वर्षको उमेरमा मेस्सी राम्रो फुटबल खेल्ने खेलाडीको रूपमा परिचित भइसकेका थिए । ११ वर्षको उमेरमा अचानक मेस्सीमा हर्मोन डेफिसेन्सी नामक एक भयानक रोग देखापर्यो ।

यतिसम्म कि रोगका कारण मेस्सीको शारीरिक विकास नै रोकिने अवस्थामा थियो । मेस्सीको शरीरमा रोग प्रतिरोधक क्षमता निकै कम थियो । आँखाको ज्योति पनि निकै कमजोर थियो । मेस्सीलाई बचाउन दैनिक हर्मोन थेरापी गराउनु पथ्र्यो । तीन वर्षसम्म हरेक दिन उनको पैतालामा इन्जेक्सन दिनुपथ्र्यो । यसको उपचार धेरै नै महँगो थियो । मेस्सीको उपचारका लागि हरेक महिना १५ सय अमेरिकी डलर खर्च हुन्थ्यो ।

यो इन्जेक्सन दिन छाड्यो भने शरीर कमजोर हुने र अपाङ्ग बन्ने चेतावनी चिकित्सकको थियो । तर गरिबीले बाँधिएको मेस्सीको परिवारले उनलाई उपचार गरिरहन सम्भव थिएन । मेस्सीको उपचार गरिरहने आर्थिक हैसियत उनको परिवारसँग थिएन । सुरुवातमा मेस्सीको बाबु आमाले सकेसम्म रकम जुटाएर मेस्सीको उपचार गर्न थाले । तर त्यो सम्भव थिएन । मेस्सीले यस्तो अवस्थामा पनि फुटबल खेल्न कहिल्यै छाडेनन् ।

भाग्य खुलेको दिन

मेस्सीका बुबा जर्जलाई साथीले एक दिन स्पेनमा एउटा फुटबल क्लबले खेलाडीहरुको उपचारमा सघाउँछ भने सुनाए । साथीको जानकारी पछि जर्ज मेस्सीसहित परिवार लिएर स्पेन गए । बार्सिलोना क्लबका निर्देशक कार्लेस रेक्सचसँग भेट गरे । मेस्सीमा अद्भुत क्षमता देखेपछि कार्लेस उनलाई बार्सिलोनामा आबद्ध गराउन र उनको उपचारको सम्पूर्ण खर्च तिर्न राजी भए । तत्काल कार्लेसले न्यापकिन पेपरमा लेखेर मेस्सीलाई बार्सिलोनामा अनुबन्ध भएको सम्झौता पत्र थमाए । मेस्सी र उनको परिवार सहमत भएपछि सम्झौताले पूर्णता पायो । मेस्सीको उपचार पनि सुरु भयो । त्यतिबेला मेस्सी १३ वर्षका थिए ।

उपचारबाट ठीक भएपछि मेस्सीले १४ वर्षको उमेरदेखि स्पेनमा बार्सिलोनाबाट फुटबल खेल्न थाले । १८ वर्षको उमेरमा सन् २००५ मा मेस्सीले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाएका थिए । मेस्सीका लागि विश्व फुटबलमा नाम फैलाउने त्यो नै पहिलो अवसर थियो । तर उक्त खेल उनका लागि पीडादायी बन्यो । किनकि उनले त्यस खेलमा रेड कार्ड पाएका थिए ।

बाल्यकालको हर्मोनल रोगकै कारण मेस्सी औसत खेलाडीभन्दा सानै छन् । पाँच फिट सात इन्च अग्ला मेस्सीको बल खेलाउने क्षमता बेजोडको छ । क्लब फुटबलमा बार्सिलोनालाई सबै खाले उपाधि जिताएका मेस्सीले सात सय खेलको कोसेढुङ्गा पार गर्दै ६ सय १३ गोल गरिसकेका छन् । मेस्सी अर्जेन्टिनामा पनि डिएगो म्याराडोनासँगै महान खेलाडीका रूपमा दाँजिएका खेलाडी हुन् । मेस्सीले अर्जेन्टिनाका लागि एक सय ३८ खेल खेल्दै ७० गोल गरेका छन् ।

धनाड्य मेस्सी

देब्रे खुट्टाले बल खेल्ने स्ट्राइकर मेस्सी जादुमयी खेलाडी हुन् । विश्वभरका प्रशंसकले उनको देब्रे खुट्टामा विशेष जादुयी क्षमता शक्ति रहेको विश्वास गर्छन् । उनले अधिकांश गोल देब्रे खुट्टाले नै गरेका छन् । गोल, अवार्ड र उपाधिको चाङसँगै मेस्सी आर्थिक दृष्टिबाट विश्वकै धनाड्य खेलाडीको सूचीमा छन् । उनको हालै सार्वजनिक भएको फुटबल एरेनाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मेस्सीको दैनिक पारिश्रमिक एक लाख १९ हजार युरो छ । जहाँ पोर्चुगल एवं युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोको दैनिक कमाइ ९२ हजार युरो छ । यसबाहेक मेस्सीले व्यावसायिक उत्पादनको विज्ञापनबाट पनि करोडौँ युरो कमाइ गर्छन् । निजी कार र विमानका सौखिन मेस्सीको महँगो ब्रान्डका १० वटा कार छन् । उनको छुट्टै निजी विमान पनि छ । बाल्यकालमा रोग, भोक र गरिबीले सताएको मेस्सीको उपलिब्ध र जीवन चक्र उदेक लाग्दो छ ।