धान काट्न मेसिन, दाँइ गर्ने गोरु

  • १८ मंसिर २०७६, बुधबार
  • धिरन खत्री
  • 4878 पटक पढिएको

धिरन खत्री
म्याग्दी, १८ मंसिर । पछिल्लो समय कृषिको परम्परागत शैलीलाई बिस्थापित गर्दै प्रविधिमैत्री खेती विस्तारमा कृषक आकर्षित हुँदै गएका छन् । गोरु र धेरै संख्यामा खेतालाहरु प्रयोगबाट गरिँदै आएको धान खेतीमा पछिल्लो समय कृषकले मिनिटेलर, थे्रसर र धान काट्ने मेसिनको माग बढाएका हुन् ।मंगला गाउँपालिका–५ अर्मन पिपलबोटका भिमबहादुर बुढाथोकीले धान काट्ने मेसिन प्रयोग गरेका छन् । विगत ज्यामीबाट काट्दै आएको धान यस वर्षदेखि उनले मेसिनले काट्न सुरु गरेका छन् । मेसिबाट धान काट्न धेरै सहज भएको बताउँदै १२ जना ज्यामीबाट काटिने धान एक घण्टामा मेसिनले काटेको बताए ।


धान चुट्ने मेसिन प्रयोग गरेका अर्मनका नगेन्द्र सापकोटाले प्रभावकारी नभएको गुनासो गरे । उनले धान भन्दा गुहँ र जौमा प्रभावकारी देखिएको बताए । धान रोपाइँमा गोरु विस्तापित गर्दै ट्याक्टर मिनिटेलर प्रयोग गरेका कृषकले पछिल्लो थे्रसर र धान काट्ने मेसिन प्रयोग गर्न सुरु गरिएको अर्मनका भिमबहादुर बुढाथोकीले बताए । भौगोलिक अवस्थाले सबै मेसिन प्रभावकारी रुपमा प्रयोग हुन नसकेको बुढाथोकीको गुनासो थियो ।
प्रविधिमैत्री मेशिनहरुको प्रयोगले ज्यामी संख्या घट्ने, छिटोछरितो, यान्त्रिकरणमा युवाहरु आकर्षित भएको धान खेतीमा धान काट्ने मेसिन र थे्रसर माग बढीरहेको कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत भोजबहादुर थापाले बताए । सिमित बजेट र स्रोत साधनमा कृषकहरुले असिमित माग भएको कारण अनुदानअनुसारको उपकरण सबैलाई पु¥याउन नसककेको अधिकृत थापाले बताए ।


सरकारले कृषिमा यान्त्रिकरण र व्यवसायिकरणका लागि नीति तथा बजेट विनियोजन भनेपनि भूगोलअनुसार सबै मेसिन प्रभावकारी नभएको भन्दै भूगोलअनुसारका नीति तथा कार्यक्रमसँगै बजेट विनियोजन हुनुपर्ने कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत थापाले जोड दिए । यस आर्थिक वर्षमा २० वटा कृषि यान्त्रिकरण खरिदका लागि कृषि ज्ञान केन्द्रमा १० लाख रुपैयाँ बजेट रहेको अधिकृत थापाले जानकारी दिए ।

स्वदेशमा युवाहरुलाई कृषिमा आकर्षित गर्नका लागि सरकारले कृषि यान्त्रिकरण जोड दिएर प्रविधिमैत्री खेतीलाई प्राथमिकता दिनुपर्ने रघुगंगा गाउँपालिका–३ पिप्ले फूलबारीका कृषक इन्द्रबहादुर भण्डारीले बताए ।
धान खेतीमा विभिन्न प्रकारका यान्त्रिकरण प्रयोग गर्ने नीति तथा कार्यक्रम सरकारले लिएपनि म्याग्दीमा भूगोलमा प्रभावकारी रुपमा प्रयोग हुन सकेको छैन् । केही कृषकले खेत जोत्ने मिनिटेलर प्रयोग गरेपनि कृषकले गोरु र ज्यामीको श्रमबाटै खेती गर्दै आएका छन् । अधिकांशले धान रोप्ने, गोड्ने, काट्ने उठाउने, दाँइ हाल्ने ज्यामीबाटै गर्दै आएका छन् । जोत्नमा केही स्थानमा मिनिटेलर प्रयोग गरिएपनि सडक पहुँच र भूगोलको समस्याले गोरुबाट खेती गर्ने कृषक म्याग्दीमा बढी रहेको अधिकृत थापाले बताए ।

युवाहरु बाध्यताले विदेश र गाउँरघमा बालबालिका र बुढाबुढीमात्र सिमति हुँदै गएका छन् । रघुगंगा गाउँपालिका–२ भगवतीमा तीर्थ परियार उमेरले ७२ वर्ष भएपनि धान रोप्ने देखि, काट्ने उठाउने, बोक्ने र दाँइ हाल्ने दैनिक रुपमा ब्यस्त रहेका छन् । परियारले खेतीमा प्रविधि प्रयोग नगरेको र नदेखेको गुनासो गरे । बाउबाजेले जस्तो रुपमा खेती गर्दै आए त्यही खेतीलाई निरन्तरता दिएको परियारले बताए ।

खेतीमा प्रविधिमैत्री बनाउने भनेपनि उपकरणको बिग्रिएपछि मर्मतका लागि सदरमुकाम बेनी लैजानुपर्ने समस्या समेत रहेको मिनिटेलर प्रयोग गरेका कृषकले बताए । कृषि खेतीमा धान प्रमुख बाली हो । तर धान रोप्नदेखि गोड्ने काट्ने उठाउने, चुट्ने, बोक्ने, दाँइ हाल्ने, टौवा चुलाउने काम गोरु र मान्छेको श्रमबाट गर्दै आएका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l