लमसुङ र खोरिया पहिरोः व्यवस्थापनको चुनौती

  • १६ मंसिर २०७६, सोमबार
  • 6363 पटक पढिएको

याम पुन
म्याग्दी १६ मङ्सिर । म्याग्दीको धौलागिरी गाउँपालिका–२ का दुई ठूला पहिरो देख्दा जो कोही अचम्मले जिब्रो टोक्छन् । पहिरोले प्रत्यक्ष प्रभावित दुई गाउँ ढोरपाटन जाने नाका हो ।

ढोरपाटन जाने मोटरबाटोका लागि यही वडामा ट्रयाक खोल्ने काम भइरहेको छ । तर अजंग समस्याको रुपमा पहिरो लमतन्न पसारिएको छ । पहिरो छिचोल्दै बाटो खन्नुको विकल्प पनि देखिदैन । खोरियास्थित पहिरो प्रत्येक वर्ष बगिरहन्छ भने लमसुङको पहिरो एकै रातमा गएको हो । यी सुख्खा पहिरो होइनन् ।

बर्षातमा यी पहिरो छिचोल्दै निकै जोखिम मोलेर स्थानीयवासी यात्रा गर्न बाध्य छन् । धारापानी, ताकम, फलियागाउँ, मुना दर, गुर्जा लगायत गाउँलेलाई बर्षायाममा लमसुङको पहिरोले आवत जावतमा दुःख दिन्छ ।

स्थानीय बासिन्दा गंगु पाइजा भन्छन्, “लाग्छ, वारी र पारीको पहिरो झर्न घमासान प्रतिस्पर्धा छ” । हुन पनि दुई पहिरोका बीचमा दरखोला नदी छ र यसको वारी पारी ठीक विपरित दिशामा पहिरो बगिरहन्छ ।
      लमसुङ सामसुङ !
बुढापाकाहरु भन्छन्, “लमसुङ सामसुङ” । यसको अर्थ लमसुङमा पहिले पहिरो गएको थियो । अहिले पनि जोखिम रहेकाले कुनै दिन पहिरोले सामसुम (नामेट) पार्नेछ । यहाँ ५५ बर्ष पहिले (२०१८ सालमा) पहिरो गएको थियो । यसैको सम्झनास्वरुप यो उखान बनेको हो । पहिरो गएको ठाउँमा पुनः पहिरो जान्छ भन्नु स्थानीय अनुभव र ज्ञान हो । भनिन्छ, विपत झयाँइ झयाँइ पञ्चेबाजा बजाएर आउदैन । नभन्दै भण्डै सामसुम बनायो २०७३ सालको पहिरोले ।

लमसुङ शब्द अठार पन्थि मगर भाषासंग सम्बन्धित छ । लुमछुङको अर्थ तिखा ढुङ्गा हो । लुमछुङ भन्दाभन्दै लमसुङ भएको हुनु पर्छ । हुनपनि यो स्थानमा तिखा तिखा ढुङ्गैढुङ्गा छ । स्थानीय जानकारहरुका अनुसार २०१८ सालमा पहिरो विहानको समयमा गएको थियो । त्यसबेला पहिरोले खेतीयोग्य जमिन स्वाहा पारिदिएको थियो । अहिलेको समथर ठाउँमा पुरै लेदोले भरियो । त्यो खोल्सा खेतीयोग्य जमिनको वीचबाट बग्न थाल्यो । यसले दुईभाग बनायो खोल्सावारी र खोल्सापारी । तस्विरको रातो भाग २०१८ सालमा बगेको पहिरोको संकेत हो । गाउँलेहरु त्यो लेदो पन्छाएर खेतीयोग्य जमिन बनाए र त्यसलाई कज्याउन थाले । बस्ति बस्यो ।

अहिलेको पहिरोले अर्को बाटो लियो र पहिले गएको ठाउँ जोगियो । लमसुङको अहिलेको पहिरोले २५ किलोवाटको लघुजलविद्युत गृह ध्वस्त पा¥यो । यद्यपी गा.पा.ले अर्को ठाउँबाट पुननिर्माण गरयो । पहिरोले खेतीयोग्य जग्गाका साथै त्यहाँको एक मात्र माध्यामिक विद्यालय, स्वास्थ्यचौकी उच्च जोखिममा छ । यदि पहिले गएको ठाउँमै पहिरो गएको भए लमसुङ गाउँ नै विस्थापित हुने अवस्था आउने थियो । पहिरो अर्कै बाटो मोडिनाले लमसुङ सामसुङ हुनवाट जोगिएको छ । यसको दीर्घकालीन प्रभाव डरलाग्दो छ । यसले ढोरपाटन जाने घोडेटोे बाटो बन्द गरिदिएको छ । गुर्जा, लुलाङका जनताले परम्परागत घुमाउरो बाटो प्रयोग गरिरहेका छन् । रोकथामको लागि दीगो उपाय कार्यान्वयन नगरिए बस्ति विस्थापनको समस्या आउन सक्छ । तस्विरकोे पहेंलो भाग उच्च जोखिममा रहेको बस्ति हो ।

                                                               खोरियाको पहिरो
खोरियाको पहिरोलाई स्थानीय भाषामा “पैरनीको पहिरो” भनिन्छ । सायद पहिरो जाने ठाउँ भएको हुनाले पैरनी भनिएको हुनुपर्छ । पहिरोे हुने÷बग्ने भन्दा भन्दै अपभ्रंश भएर ठाउँको नाम नै “पैरनी” भयो । यहाँ विगतमा पहिरो बगेको हुनुपर्छ । यो बर्षा याममा मूल फुटेर जमिनको भागलाई बगाएर गएको पहिरो हो । यसले खेतीयोग्य जमिनका साथै मूलबाटो बर्षेनी बगाएर लैजान्छ । यस क्षेत्रमा पनि घरहरु विस्थापनको जोखिममा छन् । यहाँ विगत दुई दशकदेखि प्रत्येक बर्ष झारा श्रमद्वारा पैदलबाटो पुननिर्माण गरिन्छ । यसले खोरियाको डाँडातर्फ टोलका १३÷१४ घरहरु अति जोखिममा छन् । सानो तहमा बग्ने पहिराले अहिले बिकराल रुप लिएको छ । स्थानीय भन्छन्, यही पहिरो भएर बाटो लैजानु पर्छ । बाटो खनियो भने झन हालत के होला ? तस्विरको पहेलो घेरा उच्च जोखिममा रहेको बस्ति हो ।
                                                       के प्रयास भयो ?

लमसुङको पहिरो गए लगत्तै पहिरोमा बग्ने पानीलाई बस्तितर्फ आउनबाट स्थानीयले मोडिदिए । तर त्यसलाई पहिरो भएकै ठाउँमा बगाउनुको विकल्प थिएन । बस्ति र खेतियोग्य जमिनलाई जोगाउन र थप क्षति नहोस् भन्नका लागि गाँउपालिकाले ग्याविन भर्ने काम ग¥यो । बर्षेनी पहिरोको पानीले थुप्रिएको माटो ढुङ्गा बगाउँदा खाल्डो बनाउने क्रम जारी छ । अहिले ग्याविनमा क्षति पुगेको छैन । तर फेरी कुन दिन के हुने हो थाहा छैन । खोरियाको पहिरो पनि बर्षेनी बगिरहन्छ । गाउँपालिकाको सहयोगमा क्षति नहोस् भन्नका लागि बस्तितिरबाट ग्याविन भरियो । तर अहिलेको बर्षामा लथालिङ्ग पारिदिएको छ । गत आर्थिक वर्षमा लगाएको ग्याविन लथालिङ्ग भएको देखेपछि वडाध्यक्ष गम प्रसाद वि.क. को भनाइ थियो, “जनताले अलिअलि काम पाए, त्यत्ति भयो ।” यी दुबै पहिरोको व्यवस्थापन गाउँपालिका तहबाट सम्भव देखिदैन । काम चलाउ पाराले दीर्घकालिन व्यवस्थापन हुँदैन ।
                                                                   अव के गर्ने ?

संविधानले विपद व्यवस्थापन स्थानीय तहको एकल अधिकार सूचीमा राखेको छ । साथै संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा पनि राखेको छ । यसकारण यो तीनै तहको अधिकार र जिम्मेवारी पनि हो । तीनै तहले कार्य विभाजन गरेर व्यवस्थापन गरे मात्र दीर्घकालीन उपाय देखिनेछ । यसका लागि सर्वप्रथम संघीय तहबाट भूगर्भीय, वातावरणीय, प्राविधिक, सामाजिक पक्षको विस्तृत अध्ययन तत्कालै गर्ने । अध्ययनले तत्कालीन र दीर्घकालीन विस्तृत व्यवस्थापन योजना तयार पार्नु पर्दछ । अध्ययनको बजेट र विज्ञ संघले व्यवस्थापन गर्ने ।अध्ययनले योजना र लागत अनुमानको खाका तयार गर्नेछ र सोही बमोजिम प्रादेशिक सरकारले बार्षिक बजेटको व्यवस्थापन जिम्मा लिने । एकै बर्षमा व्यवस्थापन हुने पहिरो होइनन् ।

साथै, स्थानीय तहले स्थानीय श्रोत र सामग्री व्यवस्थापन र समुदाय परिचालनको जिम्मा लिने । यसो भएको खण्डमा ५ बर्षभित्रमा धेरै व्यवस्थापन हुन सक्छ । अध्ययन गरेर स्थानीय बासिन्दा परिचालन गरे पक्कै साथ दिनेछन् । खाँचो उपयुक्त र दीर्घकालीन व्यवस्थापन खाकाको हो । पहाडी भेगमा पहिरोहरु मुख्य विपदको रुपमा देखिदै आएको छ । यदि लमसुङ र खोरियाका यी पहिरो व्यवस्थापन सफल भइयो भने यस्तै प्रकारका अन्य पहिरोहरुको व्यवस्थापनमा राम्रो सिकाई हुनेछ । स्थानीयलाई राम्रो ज्ञान पनि हुनेछ । सानातिना पहिरो आफैले व्यवस्थापन गर्नेछन् । स्थानीय तहलाई व्यवस्थापनको क्षमता विकास पनि गर्नु आवश्यक छ । विश्व तापमान बृद्धि र मौसम परिवर्तनले यस्ता प्रकारका विपदहरु भविष्यमा झन धेरै देखिने छन् । समयमै चेतना भया !