न्यू देउराली युथ क्लब सामाजिक कार्यमा सक्रिय, गाउँमा सडकबत्ति जडान

  • १५ मंसिर २०७६, आईतवार
  • 3208 पटक पढिएको

म्याग्दी १५ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीमा रहेको न्यू देउराली युथ क्लबले सामाजिक कार्यमा सक्रियता देखाएको छ । अध्ययन र रोजगारिको शिलसिलामा प्रवासमा पुगेका युवाहरुको पहलमा स्थापना भएको सो क्लबले खेलकुद गतिविधिसंगै सामाजिक कार्यहरुमा अगुवाई गर्न थालेको हो ।


हालै तिहारको अवसरमा देउसी भैलो खेलेर संकलन भएको रकममा थप आर्थिक स्रोत जुटाएर क्लबले गाउँमा सडकबत्ति जडान गरेको छ । कोरियाबाट गाउँ आएका क्लबका अध्यक्ष समेत रहनुभएका अमृतभण्डारी, जापनबाट आएका सागर भण्डारी र अमेरिकाबाट आएका भरत भण्डारीको अगुवाईमा आर्थिक संकलन गरेर रातको समयमा समेत आवत जावत गर्न सहज होस भन्ने उदेश्यले सडक र बाटोहरुमा सडकबत्ति जडान गरिएको क्लबले जनाएको छ ।


क्लबले साझापानी,देउपूर्ण, तिनतले, नाङनाङे लगायतका स्थानमा करिब ७० स्थानमा सडकबत्ति राखेको उहाँले बताउनुभयो । तार र बत्ति खरिद र जडानको खर्च क्लबले व्यहोरेको र बत्ति बाल्न आबश्यक पर्ने विद्युत भने स्थानीयबासीले निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाईएको अभियन्ता सागर भण्डारीले बताउनुभयो ।


सडक बत्ति जडानमा करिब १ लाख ५० हजार खर्च भएको क्लबले जनाएको छ । उहाँका अनुसार, क्लबले देउसी भैलोमा संकलन गरेको रु ७० हजार ४४१ रकमलाई बत्ति जडानमा परिचालन गरिएको हो । अन्य अपुग रकम क्लबले स्वर्गीय कमल भण्डारी, शिव कार्की र प्रदिप भण्डारीको स्मृतिमा आयोजना गरेको खेलकुद प्रतियोगिताबाट बचत भएको रकमबाट समेत खर्च गरिएको छ ।


‘‘ हामीले आयोजना गरेको खेलकुद प्रतियोगितामा स्वदेश तथा विदेशमा रहेका सहयोगदाताबाट सहयोग संकलन गरेका थियौँ, त्यहाँ बचत भएको रकमलाई समेत सामाजिक कार्यमा लगाउने योजना अनुसार सडक बत्तिमा खर्चिएका छाँै’’– अभियन्ता भण्डारीले भन्नुभयो ।
आफै आयोजना गरेको र रानिपौवामा आयोजना गरेको खेलकुद मेलामा बिजेता समेत बनेको क्लबका खेलाडीहरुलाई क्लबले सम्मान समेत गरेको थियो । यस क्लबमा आबद्ध युवाहरुले जैसीखोरबाट साझापानी जाने सडक मर्मतमा श्रमदान गरेका थिए । देउसी भैलोमा संकलन भएको अन्नलाई गाउँका अशक्त व्यक्तिहरुलाई प्रदान गरेको क्लबले स्थानीय मुटु रोगी बान्टे परियारको उपचारमा रु ६ हजार सहयोग गरेको थियो ।