म्याग्दीमा दुई लाख रुपैयाँको मिडियाकर्मी हितकोष स्थापना

  • ३० कार्तिक २०७६, शनिबार
  • 1853 पटक पढिएको

म्याग्दी, ३० कात्तिक । म्याग्दीका सञ्चारकर्मीहरुको सहयोगका लागि दुई लाख रुपैयाँको मिडियाकर्मी हित कोष स्थापना गरिएको छ । म्याग्दी मिडीया सोसाईटीले शनिबार बेनीमा सम्पन्न तेस्रो सधारणसभाबाट गत वर्ष स्थापित एक लाख रुपैयाँको अक्षयकोषमा यस वर्ष एक लाख रुपैयाँ थप गर्दै ब्याजसहित कोषमा दुई लाख २१ हजार रुपैयाँ रहेको सोसाइटीले जनाएको छ ।

संस्थाले जिल्लामा रहेका स्थानीय तहहरुको सहकार्यमा वृतचित्र निर्माण, सार्वजनिक सुनुवाई र तालिममा प्रशिक्षकको रुपमा सहभागि भएका म्याग्दीका सञ्चारकर्मीहरुले पारिश्रमिक कटाएर संस्थागत रुपमा हितकोष स्थापना गरेका हुन् ।
हितकोषबाट भएको आम्दानीबाट जिल्लाका क्रियाशिल संचारकर्मीहरुको आपतकालिन समस्या परेमा सहयोग उपलब्ध गराउने सोसाईटीका अध्यक्ष कमल खत्रीले बताए । सोही साधारण सभाको अवसरमा संस्थामा आवध्द म्याग्दीका १२ जना पत्रकारहरुको स्वास्थ्य बिमा गरिएको छ । सरकारले लिएको स्वास्थ्य विमा नीतिअनुसार एकजनाले ३ हजार ५०० रुपैया शुल्क तिरेमा उसको परिवारको ५ जनासदस्यले एकलाख बराबरको स्वास्थ्य उपचार सुविधा एक बर्षसम्म पाउने छन् ।