पत्रकार सम्मेलनमै किन ? रोए कुलमान घिसिङ

  • २६ बैशाख २०७४, मंगलवार
  • 873 पटक पढिएको

 काठमाडौं २६ बैशाख, । एलईडी बल्ब खरिद प्रक्रियामा अनियमिताको आरोप लागेपछि आफ्ना धारणा राख्न पत्रकारहरुमाझ उपस्थित भएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ रोएका छन् ।
आफूले इमान्दार भएर काम गरेको भन्दै गर्दा उनी निकै भावुक भए । एउटा बल्बमा पैसा खानुपर्ने आफ्नो अवस्था नरहेको भन्दै उनले गहभरी आँसु पार्दै भने, ‘नेपाली जनताबाट एक रुपैयाँ खाने अवस्था छैन । पैसा खानु नै छ भने २/४ घन्टा लोडसेडिङ गर्दा नै करोडौं कमाएर बस्थेँ ।’

चरित्र हत्या गर्ने प्रयास भएको भन्दै उनले आफूलाई दुःख लागेको बताए । उनले भने, ‘यदि कुनै कुनियत देखियो भने हामीलाई झुण्ड्याइदिए हुन्छ । अन्यथा यस्ता गलत प्रचार नगरिदिनु होला ।’

लगतै सम्हालिएका कुलमानले आफूहरुमाथि लागेको आरोपले गम्भीर बनाएको बताए । यसले काम गर्ने वातावरण विग्रन सक्ने उनले बताए ।

भारत सरकारसँग सहमति गरेर १३५/१४० रुपैयाँमा बल्ब ल्याउन लागेको भन्दै घिसिङले यदि कसैले सक्छ भने १५० रुपैयाँमा ल्याउन चुनौती दिए । कुनै व्यापारीले १५० रुपैयाँमै गुणस्तरीय बल्ब ल्याएमा विद्युत प्राधिकरणका २ सय वटै ग्राहक सेवा केन्द्रबाट वितरणको व्यवस्था मिलाउने घिसिङले बताए । News source: www.onlinekhabar.com