यस्तो बन्नेछ गौतमबुद्ध क्रिकेट रंगशाला

  • ७ कार्तिक २०७६, बिहीबार
  • 1751 पटक पढिएको

चितवन – भरतपुर महानगरपालिका वडा नं. १५ रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत प्राविधिक प्रतिवेदन (डीपीआर)को खाका तयार भएको छ । सो खाकामा थपघटका लागि निर्माणकर्ताले छलफल गरिरहेका छन् ।


बुधबार आयोजित कार्यक्रममा डीपीआर बनाउँदै गरेको क्रियटिभ डिजाइन आर्किटेक्स प्रालिले हाल तयार गरेको नमूना प्रस्तुत गरेको थियो । सो कम्पनीले कमलको फूलसँगै नेपालीपन झल्कने गरी आधुनिक तवरको रंगशालाको नमूना तयार गरेको छ । रंगशालाको प्रवेशद्वारमा गौतमबुद्धको शालिक निर्माण गरिनेछ । भित्री भागमा परम्परागत कलात्मक शैली झल्कने गरी रंगशाला निर्माणका लागि नक्साङ्कन गरिएको देखाइएको छ ।

२२ बिघा १६ कट्ठा पाँच धुर जग्गामा रंगशाला निर्माण गरिनेछ । डिपिआरमा एक लाख ५४ हजार ५०६ वर्ग मिटरमा रंगशाला निर्माण गर्ने र त्यसभित्र ३० हजार मानिस बसेर खेल अवलोकन गर्नसक्ने जनाइएको छ ।
छलफल कार्यक्रममा क्रियटिभ डिजाइन आर्किटेक्सका प्रबन्ध निर्देशक शेरबहादुर केसीले भारत र अमेरिकाका परामर्शदातासँग छलफल गरी यो प्रतिवेदनलाई अन्तिम रुप दिइएको जानकारी दिए । विश्वमा रहेका पछिल्लो प्रविधिबाट निर्मित रंगशालाको नमूनासमेत अध्ययन गरी परामर्शदाता कम्पनीले उच्चस्तरको डिपिआरको नमूना तयार भएको जनाएको छ ।सो अवसरमा धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले समयमा रकम जुटाउन सकेमा २२ महिनाभित्रमा रंगशाला तयार हुने बताए । पछिल्ला दिनमा जिल्लामा भएका घटनाका कारण वातावरण त्यति सहज नभएको भन्दै उनले जिल्लाबासी लागेमा काम सम्पन्न गर्न कठिन नहुने बताए ।

परामर्शदाता कम्पनीले सरकारको कर छुट गराउन सकेमा रंगशाला तयार गर्न दुई अर्ब ६० करोड हाराहारी खर्च हुने जनाइएको छ । कट्टेलले रंगशालाका लागि बोलकबोलको रकम सात करोडमध्ये एक करोड र नबोलीकनै सोझै दुई करोड संकलन भएको जानकारी दिए । डिपिआरका लागि हालसम्म दुई करोड भुक्तानी गरेको कूल रकमको टुङ्गो लगाएर भुक्तानी गर्न बाँकी रहेको उनले बताए ।
छलफल कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सबैको सहयोगबाट यो परियोजना सम्पन्न गर्नुपर्ने बताइन् । निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्ष उमाकान्त कँडेलले फाउण्डेसनलाई १० लाख एक हजार १११ को चेक हस्तान्तरण गरे । यसअघि रंगशालाको बार स्थानीयले भत्काएपछि केही महीना काम रोकिएको थियो । हाल रंगशाला निर्माण स्थलमा दुबो र माटो तयार गरिएको छ ।