बालविवाह : ‘हाम्रो सिकाई र समाजको अबस्था’

  • ३ कार्तिक २०७६, आईतवार
  • 4781 पटक पढिएको

रञ्जना श्रेष्ठ

कुनै पनि व्यक्तिले नयाँ सिप र ज्ञान हासिल गर्नु नै सिकाई हो । जिवनमा हरेक कुराबाट मानिसले सिकाई प्राप्त गरिहेको हुन्छ । सिकाई मानिसको व्यवहारमा स्थायी परिर्वतन हो । देखेको, सुनेका, पढेको र आफैं गरेको आधारमा व्यतिmले नयाँ कुरा सिक्दछ । चाहे त्यो सकारात्मक होस वा नकारात्मक होस् । हामीलाई थाहा नै छ बालविबाह नेपाली समाजको प्रमुख सामाजिक समस्याको रुपमा उभिएको छ । बालविवाह समस्या मात्रै नभएर एक किसिमले भन्ने हो भने समाजिक अपराध नै हो ।

                        

२० वर्ष नपुगी विवाह गर्ने गराउनेलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४, दफा १७३,(१)मा ३ वर्ष जेल ३० हजार सम्म जरिवाना गरिनेछ भनि उल्लेख गरिएको छ । नेपाल सरकारले अनुसन्धान गरेर तयार पारेको नेपालको बालबालिकाको स्थिति प्रतिवेदन २०६४ मा नेपालमा करिव ३४ प्रतिशत विवाह १५ बर्ष नपुगेका बालबालिकाको हुने गर्दछ । विवाहको सन्दर्भमा गलेश्वरधामका पुजारी चन्द्रमणी आचार्य भन्नुहुन्छ “हाम्रो हिन्दु ग्रन्थ बेदमा २५ वर्ष सम्म ब्रहचारी बस्ने कुरामा जोड दिएको छ’’ ।

किनकि जवसम्म केटा वा केटीलाई आफ्नो घरगृहस्थी सभाल्न आफु सक्षम छु जस्तो लाग्दैन तबसम्म विवाह नगर्नु र यस उमेर सम्म उनिहरु शारिरीक तथा मानसिक रुपमा परिपक्क भईसक्ने भएकाले २५ बर्ष राखिएको हो ।” हिन्दु धर्ममा मात्रै होईन सबै जसो धर्ममा विवाहलाई परिपक्कतामा जोड दिईएको छ । बालविवाह हुनुका मुख्य कारणहरु हाम्रो समाजमा रहेको हानिकारक परम्परागत अभ्यास, गरिबी, बैदेशिक रोजगारी ,जनचेतनाको कमी , अशिक्षा, घरमा उचित बाताबरण नहुनु, प्रविधिको दुरुपयोग, प्रेम सम्वन्ध, खराव साथिहरुको सम्वन्ध, घरपरिवार जिम्मेवारी छिटै पन्छाउने लगायतका प्रवृति हुन ।

बालविवाहले गर्दा बालबालिको बालअधिकार हनन् त हुन्छ नै, उनिहरुको शिक्षा, व्यक्तित्व विकासमा असर पदर्छ । सानैमा विवाह गर्दा घरेलु जिम्मेवारी वहन गर्नु पर्ने, गर्भाधान गर्नु पर्ने जस्ता कारणले उनिहरुमा शारिरीक, मानसिक र आर्थिक असरहरु पर्ने गर्दछ । इन्टरनेशनल सेण्टर फर रिसर्च अन वोमेन २००६ (महिला अनुसंधानको लागि अन्तराष्ट्रिय केन्द, २००६) का अनुसार परिवार नियोजनको साधनका विषयमा लोग्नेसँग छलफल गर्न नसकेका कारण १८ बर्ष नपुगेका विवाहित किशोरीहरु सानैमा धेरै सन्तान जन्माउन बाध्य हुन्छन् । तसर्थ उनिहरुकमा आङ खस्ने रोगको लागि पनि बढि जोखिममा हुन्छन् । बालविवाहले सामाजिक समस्या मात्रै निम्त्याएको छैन् । यसले शारीरिक र मानसिक समस्या पनि उत्तिकै बढाएको छ ।

बाल मृत्युदर बढि हुनुको एउटा प्रमुख कारण पनि बालविवाह नै हो । जनसंख्या तथा स्वास्थ सर्वेक्षण २००६ का अनुसार २० बर्ष उमेर पुगेकी आमाले जन्माएको बच्चा भन्दा २० बर्ष नपुगीकी आमाले जन्माएको बच्चा जन्मिनासाथ र ५ बर्ष नपुग्दै मर्ने सम्भावना करिव दोब्बर बढि हुने गर्दछ । यसरी एउटा गम्भिर समस्याको रुपमा देखिएको वालविवाहको समस्या देशव्यापि नै छ । म्याग्दी जिल्लामा बालविवाह सम्वन्धि तथ्याङक संकलन नगरिए तापनि बालविवाह समाजिक विकासमा ठुलो चुनौतिको रुपमा खडा भएको छ । म्याग्दी जिल्ला लाहुरेको जिल्ला पनि भनिन्छ । जसले विप्रेशण त भित्राएको छ तर बालविवाह घरेलु हिंसा जस्ता समाजिक समस्या पनि निम्त्याएको छ । गरिवीका कारण आफ्नो पढने सुखि जिवन बिताउने आशामा बालविवाह गर्नेमा बालिकाहरु रहेको पाईन्छ ।

हालै म्याग्दीको बेनि नगरपालिका की १६ बर्षिय एक किशोरीले घरको आर्थिक स्थिति कमजोर भएकै कारणले बालविवाह गर्न बाध्य भईन। यी केही प्रतिनिध पात्र मात्र हुन उनि जस्ता धेरै यो समस्या बाट टाढा छैनन् । खासगरि सचेतनाको कमि र शिक्षाको अभाबले जिल्लाको ग्रामिण भेगमा बालविवाहको ठुलै समस्या छ । यद्यपी शहरी क्षेत्रपनि यसबाट अछुतो भने छैन् । बालविवाहको न्यूनिकरण लागि जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संस्था, क्लवहरु तथा संजालहरुले प्रयासहरु गरिरहेका छन् । बेनी नगरपालिकाले पनि बालविवाह तथा लैगिंक हिंसा न्यूनिकरण गर्नको लागि लैैंगिक हिंसा विरुद्धको रणनितिक योजना निमाण गरेको छ । गैर सरकारी संस्था संगम तथा गुडनेइर्वस इन्टरनेशनल, कदमले द्यौलागिरि गाउँपालिमा र सिविन नेपाल म्याग्दीले बेनी नगरपालिकामा बालविवाह न्यूनिकरणमा सचेतनामुलक कामहरु गर्दै आईरहेका छन् ।

म्याग्दीका विभिन्न स्थानिय तह तथा बाल क्लवरु पनि यसमा लागि परिरहेका छन् । जिल्लामा रहेको विभिन्न धर्म गुरुहरुको साझा सञ्जाल अन्तरधार्मीक सञ्जालकाले पनि आ–आफ्नो स्थानमा गएर बालविवाह सम्वन्धि सचेतना फैलाउन प्रयासरत छन् । जिल्लाका युवा समुहहरुको सक्रियतामा विभिन्न बालविवाह सम्बन्धि सचेतना मुलक नाटक अभियान पनि बेला बेलामा सञ्जालान गर्ने गरेको छ । जसको फलस्वरुप जिल्लामा केही हद सम्म भएम पनि बालविबाहको नकरात्मक प्रभाब र असर बारे यहाँका सर्वसाधारणलाई सचेत र सजग बनाउने कोसीस भएको पाईन्छ । यो हाम्रा लागि एउटा राम्रो पक्ष पनि हो ।

तर यतिले मात्रै बालविवाहको पूर्ण रुपमा निर्मुल पार्न भने पक्कै पनि सम्भव छैन् । त्यसैले बालविवाहलाई एक गम्भिर सामाजिक समस्याकै रुपमा लिएर विभिन्न सामाजिक संघ संस्था र समुह संगै स्थानीय सरकारहरुले समेत बालविवाह न्युनिकरणको लागि सामुहिक प्रयास गर्न जरुरी छ । बालविवाह कुनै बस्ती, समुदाय र व्यक्तिको मात्रै समस्या नभएर समग्र समाजकै समस्या भएकाले यसका असर र कारणहरुको पहिचान तथा हरेक व्यक्तिलाई सचेत बनाउनतर्फ सम्बद्ध हामी सबैको साथ र सहकार्य आबश्यक छ ।