अन्तर मावि अठारौ जेसिजकप मंसिरमा

  • ३० आश्विन २०७६, बिहीबार
  • 1742 पटक पढिएको

म्याग्दी, ३० असोज । आगामी मंसिरको दोस्रो साता बेनीमा १८ औ जेसीजकप अन्तर माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । म्याग्दी जेसीजले शनिबार बेनीमा पत्रकार भेटघाट आयोजना गरेर मंसिरको १० देखि १४ गतेसम्म बेनीको खुल्ला मञ्चमा प्रतियोगिता सञ्चालन हुने जानकारी गराएको हो ।


प्रतियोगिता सञ्चालनका लागि हरि भण्डारीको संयोजकत्वमा उपसमिति गठन गरेर तयारी सुरु गरेको महासचिव सन्दिप खत्रीले जानकारी दिए । बिजेता र उपबिजेतालाई रनीङ शिल्ड, ट्रफि, मेडल, प्रमाणपत्रको साथमा नगद ४५ हजार र तीस हजार रुपैयाँ पुस्कार प्रदान गरिने म्याग्दी जेसीजका अध्यक्ष खम थापामगरले बताए ।

सर्वा्धिक गोलकर्ता, उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर, स्ट्राइकर, मिडफिल्डर, राइजीङ प्लेयर, कोच, अनुसाशित टिमलाई दुई हजार १०० रुपैयाँका दरले पुरस्कृत गरिने भएको छ ।प्रत्येक खेलमा म्यान अफ द म्याच घोषणा गरि पुरस्कार दिइने आयोजकले बताएका छन् । विभिन्न उपसमिति मार्फत तयारीलाई तिब्रता र विद्यालयहरुलाई पत्राचार गरिने संयोजक भण्डारीले बताए । म्याग्दीमा विद्यालय स्तरको खेलकुदमा जेसीजकप फुटबललाई बिशेष महत्व दिने गरिन्छ । विद्यालय स्तरका खेल प्रतिभाको पहिचान र अवसर प्रदान गर्न प्रत्येक वर्ष जेसीजकप आयोजना गरिएको संयोजक भण्डारीले बताए ।

खेलाडी सन्तोष श्रेष्ठको स्मृतिमा उन्का बुवा श्यामप्रसाद श्रेष्ठद्धारा स्थापित दुई लाख पचास हजार रुपैयाँको सन्तोष स्मृति कोष प्रतियोगिताको मुख्य प्रायोजक हो । यसैगरी म्याग्दी जेसीजका निवर्तमान अध्यक्ष कमल विश्वकर्माले बुवा मिनबहादुरको स्मृतिमा जेसीजकप सञ्चालनका लागि एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।