मिस मुस्ताङको उपाधी मेलिनालाई

  • ८ आश्विन २०७६, बुधबार
  • 2313 पटक पढिएको

 

मुस्ताङ, ८ असोज । थाक खेलकुद तथा सांस्कृतिक विकास संस्थाले आयोजना गरेको मिस मुस्ताङ २०७६ को उपाधी मेलिना थकालीले जितेकी छिन् ।घरपझोङ गाउँपालिका–३ स्याङकी २० वर्षीया थकालीले अन्य ७ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस मुस्ताङको ताज पहिरिएकी हुन् । घरपझेङ गाउँपालिका–४ जोमसोमकी एलिना गुरुङ फस्ट रनरअफ र ताक्लुङकी मनिसा हिराचन सेकेण्ड रनरअफ भएका संस्थाका कोषाध्यक्ष शर्मीला गुरुङले बताउनुभयो ।

पोखरामा स्नातक तहमा अध्ययरत थकालीले समाजसेवा र अनाथ बालबालिकाको क्षेत्रमा काम गर्ने रुची भएको बताउनुभयो । बिजयी थकालीलाई मिस मुस्ताङको क्राउन पहिराउनुका साथै नगद दश हजार रुपैयाँ प्रदान गरिएको छ ।गत शनिबार देखि सुरु भएको ४९ औ थाक खेलकुद च्याम्पीयनसिप प्रतियोगिता मंगलबार साँझ समापन भएको छ । सो अवसरमा आयोजित महिला र पुरुष भलिबल प्रतियोगितामा थासाङ गाउँपालिका–३ लेतेको निर्मल स्पोटीङ युवा क्लव बिजयी भएको छ ।

पुरुष भलिबलमा लगातार तीन वर्ष प्रतियोगिता जितेको निर्मल स्पोटीङले रनिङ शिल्ड आफ्नो कब्जामा पार्न सफल भएको छ । पुरुष भलिबलमा ताक्लुङको अन्नपूर्ण युवा क्लव र महिला भलिबलमा धौलागिरि युवा क्लव कोवाङ दृतीय भएका संस्थाका सचिव दिपक लालचनले बताउनुभयो ।पुरुष भलिबलको बिजेता र उपबिजेताले रनिङ शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद चालीस हजार र २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । महिला भलिबलको बिजेताले २५ हजार र उपबिजेताले पन्ध्र हजार रुपैयाँ हात पारेका छन् ।

आर्चरी खेल प्रतियोगितामा मिलीजुली युवा क्लव मार्फ प्रथम र निलगिरि युवा क्लव टुकुचे दितृय भएका छन् । नृत्य प्रतियोगितामा जोमसोमको जनहित युवा क्लव प्रथम र सिक्स सोल्टी युवा क्लव घाँसा दितृय भएका छन् ।घरपझोङ र थासाङ गाउँपालिकाका ८ वटा क्लवले प्रतियोगितामा सहभागिता जनाएका आयोजक संस्थाका अध्यक्ष समेत रहनुभएका प्रदेश सांसद चन्द्रमोहन गौचनले बताउनुभयो । लेतेका भलिबल खेलाडी सनिष तुलाचन सर्वोकृष्ट भएका छन् ।

थाक खेलकुद प्रतियोगिता तल्लो मुस्ताङमा ४९ वर्षदेखि निरन्तर आयोजना हुदै आएको छ । सो अवसरमा आयोजित कृषि मेला प्रर्दशनीमा १७९ जना कृषकहरुले सहभागिता जनाएका थिए ।