स्वास्थ्यका आचार्य दम्पति विरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

  • ३० भाद्र २०७६, सोमबार
  • 2065 पटक पढिएको

 

बेनी, ३० भदौ । नक्कली बिल भरपाई बनाएर बजेट दुरुपयोग गर्ने स्वास्थ्य कार्यालय म्याग्दीका हेल्थ असिस्टेन्ट (अधिकृत छैठौ) र प.हे.न. राधिकादेवी शर्मा विरुद्ध आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौमा मुद्दा दायर गरेको छ ।आचार्य र शर्मा दम्पति हुन् । राज्यकोषबाट दुरुपयोग र हिनाबिना गरेको छ लाख ५८ हजार ५१३ रुपैयाँ बिगो असुल उपर र कानुन अनुसार सजायको माग दावी सहित विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगका प्रवत्ता प्रदिपकुमार कोइरालाद्धारा जारि विज्ञप्तीमा उल्लेख छ ।


उनिहरु विरुद्ध नक्कली बिल भरपाई पेश गरी पेश्कि फस्यौट गर्न दवाव दिएको, कार्यादेशअनुसार कार्यक्रम सञ्चालन नभएको तथा असम्बन्धित व्यक्तिहरुलाई दैनिक भ्रमणभत्ता वितरण, गैरकानूनी लाभ दिई सरकारी सम्पत्तिको हानि नोक्सानी गरेको उजुरी परेको थियो । शर्माले लिएको चार लाख रुपैयाँ पेश्की मध्य एक लाख ६९ हजार ७०३ रुपैयाँ खर्च गरी बाँकी दुई लाख तीस हजार २९७ रुपैयाँ दुरुपयोग गरेको अनुसन्धानका क्रममा पुष्टि भएको आयोगले जनाएको छ ।

अर्का आरोपी आचार्यले सञ्चालन गरेका समुदायमा आधारित एकिकृत शिशु तथा बाल स्वास्थ्य व्यवस्थापन कार्यक्रम तथा विषादी रहित खाद्य सुरक्षा तथा पोषण प्रर्वद्धन सम्बन्धी दुई वटा कार्यक्रम सञ्चालन गर्न नौ लाख रुपैयाँ पेश्कि लगेका थिए । जस मध्य चार लाख ७१ ह्जार ७८३ रुपैयाँ विभिन्न शिर्षकमा खर्च गरी चार लाख २८ हजार २१६ रुपैयाँ दुरुपयोग गरेको तथ्य अख्तियारको अनुसन्धानबाट पुष्टि भएको छ ।

उनिहरुलाई भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम सजाय गर्न र हिनामिना हानिनोक्सानी भएको बिगो निज प्रतिवादीहरुबाट असुल उपर गर्न मागदावी सहित आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ । आचार्य र शर्माद्धयले लिएको पेश्कि फस्यौट गर्ने क्रममा घुस लिएको आरोपमा अख्तियारको पोखरा स्थित कार्यालयबाट खटिएको टोलीले साउन १२ गते स्वास्थ्य कार्यालयका निमित्त प्रमुख भिमप्रसाद आचार्य, स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसीलाई नियन्त्रणमा लिएको थियो ।

आचार्य, रेग्मी र शर्मा विरुद्ध जनही एक लाख ३० हजार बिगो सहित भदौ १३ गते विशेष अदालतमा मुद्दा दायर भएको थियो । अख्तियारले उनिहरुलाई घरौटीमा छोडेको छ । चालक जैसीलाई भने भ्रष्टाचारजन्य कसुरमा दोषीलाई कारवाही गराउने कार्यमा आयोगलाई सहयोग पु¥याएको आधारमा मुद्दा दायर गरेको छैन् ।  सोही मुद्दाको छानविनका क्रममा उजुरीकर्ता आचार्य र शर्मालाई अख्तियारले पक्राउ गरेको थियो । आचार्य र शर्माले सञ्चालन गरेको कार्यक्रमको बारेमा अख्तियारको टोलीले जिल्लामै आएर स्थलगत रुपमा अनुसन्धान गरेको थियो ।

उनिहरुले विद्यालयको कक्षा कोठामा ब्यानर टाँसेर कार्यक्रम गरेको प्रतिवेदन बनाएको, पर्ने भन्दा बढी मूल्यको अस्वभाविक बिल, भरपाई बनाएको, अन्य कामको शिलशिलामा उपस्थित भएकाको हाँजिरी उठाएर कार्यक्रम गरेको प्रतिबेदन बनाई बजेट दुरुपयोग गरेको आरोप लगाइएको छ ।