संसदीय टोलीद्धारा कारागार अनुगमन

  • २९ भाद्र २०७६, आईतवार
  • 3163 पटक पढिएको

 

बेनी, २९ भदौ । गण्डकी प्रदेशको संसदीय टोलीले आइतबार बेनी नगरपालिका– २ खबरा स्थित जिल्ला कारागार शाखाको अनुगमन गरेको छ । प्रदेश मामिला समितिका दिपक थापाको संयोजकत्वमा चिन्ताबहादुर घले, बिनोद केसी र कोपील बोहोराको टोलीले कारागारको भौतिक अवस्था अनुगमन गरि त्यहाँको समस्या तथा बस्तु अवस्थाको बारेमा जानकारी लिएको हो ।

२५ जना पुरुष र ७ जना महिलाको क्षमता रहेको कारागारमा हाल ९३ जना पुरुष ७ जना महिला कैदीबन्दी छन् । भौतिक पूर्वाधारको कमी, शौचालयमा पालो पर्खनुपर्ने र खानेपानीको नियमित आपुर्ति नहुने समस्या रहेको बन्दी कमल पुर्जाले बताउनुभयो । खेलमैदान र खेल सामग्रीको आवश्यकता, कैदीबन्दीले तयार पारेका मुढा, फर्नीचर र हस्तकलाका सामानको बजारीकरणको समस्याका बारेमा जानकारी गराएका थिए । कैदीबन्दीहरुले निशूल्क कानुनी सहायता अन्तरगत वैतनिक वकिलको सुबिधा नपाएको गुनासो गरेका थिए ।

कागारारका प्रमुख जेलर राजेन्द्र शर्माले प्रशासनिक भवनको अभाव भएको र कारागार भवनको मर्मत तथा क्षमता विस्तारको आवश्यकता रहेको बताउनुभयो । संसदीय टोलीका संयोजक घर्तीले प्रदेशका ११ वटै कारागारको स्थलगत निरिक्षण गरि सराकारलाई सुझाव दिइने बताउनुभयो ।

अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासीनीको उपस्थिति थियो । कारागारमा पछिल्लो समय लागु औषध, जवरजस्ती करणी र ज्यान मार्ने उद्योगका कैदी र बन्दीहरुको चाप बढेको छ ।