मराङमा योजनाको समिक्षा र सार्वजनिकरण

  • २४ भाद्र २०७६, मंगलवार
  • 2057 पटक पढिएको

तेजिन्द्र पुन
मराङ, २३ भदौ । धवलागिरी गाउँपालिका–६ मराङमा सोमबार गत आर्थिक वर्ष २०७५/७६ मा सञ्चालित योजनाहरुको समिक्षा र आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाले बजेट बिनियोजन गरेका योजना सार्वजनिक गरिएको छ । वडा अध्यक्ष राजाराम सुवेदीले गत वर्ष सञ्चालन भएका र यो वर्ष बजेट बिनियोजन गरेका योजनाहरुको विवरण प्रस्तुत गर्नुभएको थियो । गत वर्षका योजना कार्यान्वयन गर्ने उपभोक्ता समितिका पदाधीकारीहरुलाई दोसल्ला र खादा ओढाएर सम्मान गरिएको थियो ।

गत वर्ष पूर्वाधारसँग सम्बन्धित २० वटा योजना सञ्चालन भएको थियो । यस वर्ष १७ वटा पूर्वाधार र पाँच वटा लक्षित वर्गसँग सम्बन्धित कार्यक्रम छनौट भएको छ । मराङको ब्यासी देखि वडा कार्यालय हुदै स्वास्थ्य चौकी भवनसम्म र कल्लेनीमा सडक पुगेको छ । बेशीको ठूलोखोलामा झोलुङ्गे पुल, तटबन्ध, नाम्रुक डाडाबारी खोल्सा पहिरो नियन्त्रण र स्वास्थ्य चौकी भवन परिसरमा ग्यावीयन पर्खाल निर्माण भएको छ ।

मराङमा सामुदायिक भवन निर्माण, बेशी बगर ओख्ले सिचार्य कुलो मर्मत, कुम्रि बेशी गेरवाङ खानेपानी मर्मत, जनविकास आधारभूत विद्यालयमा तारबार घेराउ र राम्चे आधारभूत विद्यालयको भवन मर्मत गरिएको छ । बुल र गेरवाङमा विद्युत विस्तार भएको छ । छहरीखोला र मराङखोला लघुजलविद्युत परियोजनाको नहर मर्मत गरिएको छ । जनविकास मावि र राम्चे आधारभूत विद्यालयमा प्रवेशद्धार सहित तारबार र बागेश्वरी आधारभूत विद्यालयमा घेराबार र शौचालय मर्मत गरिएको छ ।

चप्लिका देखि चौतारीवन जाने घोडेटो बाटो, रुच्चेवास देखि चनचने जाने, मराङ देखि गेरवाङ जोड्ने घोडेटो बाटो निर्माण भएको छ । सो कार्यक्रममा नेकपाका नेता रिमप्रकाश थापा र किरन थापाले स्थानीय तहको योजना तथा कार्यक्रमलाई पारदर्शी, प्रभावकारी र जनसहभागिता मुलक बनाउन जनप्रतिनिधिहरुलाई साथ दिनुपर्ने बताउनुभयो ।

वडा अध्यक्ष सुवेदीको अध्यक्षता, सचिव बेदनाथ सुवेदीको सञ्चालन र वडा सदस्य रामबहादुर जुग्जालीको स्वागत मन्तब्यमा सम्पन्न भएको कार्यक्रममा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण अद्यावधिक गर्ने निर्णय भएको छ । अर्गला–मराङ सडक को कात्तिक ४ गते उद्घाटन गर्ने र मर्मतका लागि उपभोक्ता समिति गठन भएको छ ।