नेपाल टेलिकमको नयाँ टावरबाट टुजी र थ्रिजी सञ्चालन, भ्वाईस तथा डाटाको समस्या हट्यो

  • २० भाद्र २०७६, शुक्रबार
  • 2043 पटक पढिएको

थम्मन थापा

भदौ २० बागलुङ  । नेपाल टेलिकमले गलकोट नगरपालिका ७ मल्मडाॅडामा निर्माण भएको नयाॅ मोवाईल टावरमा आजदेखि सेवा सञ्चालनमा ल्याएको छ । उक्त स्थानमा वि.सं २०७१ साल असोजमा टेलिकमले ८ मिटरको रुफ टावर मार्फत टुजी र २०७३ साल चैत देखि थ्रिजी सेवा सञ्चालनमा ल्याएको थियो । टावरको उचाई कम र टावर वरिपरी हरिया अग्ला रुखहरुका कारण टावर देखि मुनीका बस्तीहरु र खोचमा भ्वाईस तथा डाटा सर्भिसको पहुॅचमा समस्या भएको थियो ।

टेलिकमलाई गलकोट नगरपालिका वडा नं ७ को कार्यालयले यसको समाधान गर्न अनुरोध गरेपछि गत चैतमा टेलिकमले २५ मिटर अग्लो नयाॅ टावर निर्माण गरेको थियो । नयाॅ टावरबाट आज देखि सेवा सञ्चालनमा आएपछि टुजी र थ्रिजीको भ्वाईस तथा डाटा सर्भिसमा सुधार आएको नेपाल टेलिकम बागलुङका कार्यालय प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिनुभयो ।

टावर सञ्चालनमा आएपछि गलकोट नगरपालिका वडा नं ७ र वडा नं ९ मल्म, वडा नं ३ हटिया, वडा नं ८ काॅडेबास, वडा नं ५ को केहि भु-भाग सहित गुल्मीको मुसीकोट नगरपालिका वडा ९ अर्लाङकोट सॅगै मध्य पहाडी लोकमार्गमा नमस्ते मोवाईल प्रयोगकर्ता लाभान्वित हुने वरिष्ठ ईन्जिनियर शर्माले बताए । टावर सञ्चालन गर्न नेपाल टेलिकम पोखराका ईन्जिनियर शंकर थापाको प्राविधिक टोलीले कार्य सम्पादन गरेको थियो । पहिले समस्या भएका अधिकांश स्थानमा अब नेटवर्क सिग्नल सॅगै भ्वाईस र उच्च गतिको मोवाईल ईन्टरनेट डाटामा समस्या नहुने टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले आफना ग्राहकलाई लक्षित गर्दै धौलागिरी क्षेत्रमा नमस्ते मोवाईल सेवालाई गुणस्तरिय र प्रभावकारी बनाउॅदै आएको छ । टेलिकमले बागलुङ सदरमुकाम सॅगै जिल्लाका विभिन्न स्थान र गलकोट क्षेत्रमा छिट्टै चौथो पुस्ताको मोवाईल फोर जी सेवा सञ्चालन गर्न आवश्यक गृहकार्य गरिरहेको बताएको छ ।