म्याग्दीका बरुवालले एनआरएनको सचिबमा उम्मेदवारी दिने तयारी

  • ८ भाद्र २०७६, आईतवार
  • 3257 पटक पढिएको

म्याग्दी ८ भदौ । बेल्जियममा रहेर व्यवसाय गर्दै आएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका शिवकुमार बरुवालले गैरआवासीय नेपाली संघ (एनआरएन) को सचिब पदमा उम्मेदवारी दिने भएका छन् । एनआरएनका युरोप संयोजक रहेका वरुवालले आगामी निर्वाचनमा सचिव पदका लागि उम्मेदवारी दिने भएका छन् । एनआरएनको अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागेको विश्व सम्मेलनमा बरुवालले गैरआवासीय नेपाली संघको युरोप संयोजकको हैसियतले २ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका गरेको र अभियानलाई अझ समृद्ध र सुदृढ बनाउँदै अपनत्व हुने गरि नीति तथा कार्ययोजना अगाडि ल्याउन आफूले उम्मेदवारी दिने निचोडमा पुगेको वताए ।


गैरआवासीय नेपाली संघको अभियानमा शुरु देखिनै सकृय बरुवाल एनआरएनए बेल्जियमको स्थापनाकालदेखि नै सँस्थामा निरन्तर लागेका छन् । २००७ मा एनआरएनए बेल्जियमको सचिवालय सदस्य, २००९–२०११ मा बेल्जियम एनआरएनएको महासचिव, २०११–२०१३ मा अन्र्तराष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्य, सन् २०१७–२०१९ मा युरोप संयोजकको जिम्मेवारी सफलतापूर्वक समालेको अनुभव उनीसँग छ । उनले युरोप संयोजकको जिम्मेवारी समाले लगत्तै माल्टा र स्लोभाकियाका संघको शाखा विस्तार गरेका थिए । १९ वर्ष देखी बेल्जियमा बसोबास गर्दै आएका बरुवाल त्यहाँस्थित नेपाली संघसँस्थामा लोकप्रिय मानिन्छन् ।

उनले दर्जन भन्दा बढी संघसँस्थामा बसेर काम गरेका छन् । उनी आफ्नो व्यापारका अतिरिक्त परोपकारी काममा समेत सकृय छन् । उनले बिभिन्न समाजिक संघसँस्था मार्फत नेपालको दुर्गम जिल्लाहरुमा विभिन्न परोपकारी काम समेत गरेका छन् । उनले बेल्जियममा डिपार्टमेन्टस्टोर, रेस्टुरेन्ट र एशियन सामाग्रीको होलसेल स्टोर संचालन गर्दै आएका छन् ।