भौगोलिक रुपमा बिकट र थोरै मतदाता भएको धौलागिरीमा रोचक प्रतिस्पर्धा

  • २२ बैशाख २०७४, शुक्रबार
  • 4347 पटक पढिएको

म्याग्दी २२ बैशाख । भौगोलिक हिसावले म्याग्दीको सबैभन्दा ठूलो र कम मतदाता भएको धौलागिरी गाउँपालीकामा स्थानीय तह निर्वाचनको प्रतिस्पर्धा रोचक बनेको छ ।    एक हजार ३७ बर्ग किलोमिटर क्षेत्रफलमा फैलीएको ७ वटा वडा रहेको धौलागिरी गाउँपालीकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन भने एमालेका उमेद्वार एक्लै चुनावी मैदानमा उत्रिएका छन् ।

एमालेले अध्यक्षमा महिला उमेद्वार बनाएको र काँग्रेस माओवादीले तालमेल गरेकाले यहाँको चुनावी प्रतिस्पर्धालाई फरक दंगले बिश्लेषण गरीएको छ ।     साविकको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मराङ र ताकम गाविस समावेश भएको धौलागिरीमा १४ हजार १०४ जनसंख्या र जिल्लामा सबैभन्दा कम नौ हजार ३३४ जना मतदाता रहेका छन् । ३७ वटा पदका लागि ८६ जना प्रतिस्पर्धामा छन् ।
                                                                यस्ता छन एजेण्डा

धौलागिरी गाउँपालीकाका उमेद्वारहरुले आफ्नो पार्टीले केन्द्रिय स्तरमा तयार पारेका घोषणापत्रका साथै स्थानीय मुद्दाहरुलाई समेत अघि सारेका छन् । भौगोलिक बिकटता, केन्द्रको बिवाद, पुर्वाधारको कमी र सामाजिक चेतनाको कमी धौलागिरी गाउँपालीकाको प्रमुख चुनौती हुन् ।     पर्यटन, कृषि, जडिवुटी, खनीज र जलस्रोतको सम्भावना पहिचान र त्यसको सदुपयोग गरी रोजगारी सिर्जना गर्ने योजना अघि सारेका उमेद्वारहरुले पूर्वाधार, शिक्षा स्वास्थ्य, खानेपानी, विद्युत, सञ्चार, सडकको पहुँच विस्तार तथा गुणस्तरीय सार्वजनीक सेवाप्रवाहलाई प्राथमिकता दिने बताएका छन् ।

गाउँपालीकाको केन्द्रको बिवादलाई सबैको सहमतीमा समाधान गरी सम्बृद्ध गाउँपालीका बनाउने अभियानमा एकतावद्ध गर्ने उमेद्वारहरुको भनाई छ । काँग्रेस र माओवादी केन्द्रको तालमेलमा अध्यक्षको उमेद्वार बन्नुभएका माओवादीका रिमप्रकाश थापाले कृषि, पर्यटन, वनपैदावार, जलस्रोतको सम्भावना रहेको धौलागिरी गाउँपालीकामा सडक विस्तार, स्तरवृद्धीका साथै जलजला, गुर्जा, धौलागिरी आधार शिवीर क्षेत्रमा पर्यटनको केन्द्रको रुपमा विकास गर्ने योजनालाई प्राथमिकता दिने बताउनुभयो ।

संसारको सातौ अग्लो धौलागिरी हिमाल, मुलुकको एकमात्र शिकार आरक्ष ढोरपाटन, छन्त्याल समुदायको बसोबास रहेको गुर्जामा पर्यटन, ताकम, मुनामा कृषि, मुदी, मल्कवाङ, मराङ, लुलाङमा पशुपालन तथा वनपैदावार जन्य उद्यमको सम्भावना रहेको उहाँको भनाई छ ।     एमालेबाट अध्यक्षको उमेद्वार बन्नुभएकी थमसरा पुनले पर्याप्त मात्रामा रहेको प्राकृतिक स्रोत साधन र जनशक्ति परिचालन गरी रोजगारी सिर्जना मार्फत गरी युवालाई बिदेशीनुपर्ने बाध्यताबाट मुक्त गर्ने, धौलागिरी आधार शिवीरसम्म सहज पदमार्गको पहुँच पु¥याउने योजना अघि सार्नुभएको छ ।