पर्यटकिय धार्मिकस्थल ज्यामरुकोत मन्दिर पुग्न पदमार्ग निर्माण

  • ४ भाद्र २०७६, बुधबार
  • धिरन खत्री
  • 2937 पटक पढिएको

धिरन खत्री

म्याग्दी, ४ भदौँ । म्याग्दीको बेनी नगरपालिका २ भकुण्डे देखि पर्यटकिय धार्मिकस्थल ज्यामरुककोत मन्दिर पुग्न पदमार्ग निर्माण गरिएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत, नगरपालिका र स्थानीयको जनश्रमदानमा पदमार्ग निर्माण गरिएको हो ।


भू तथा जलाधार ब्यवस्थापन कार्यालयको १४ लाख ९९ हजार ४ सय ८६ रुपियाँ र उपभोक्ताको तिन लाख ६५ हजार ५ सय ९९ रुपैया बराबरको श्रमदानबाट दुईसय पचास मिटर पदमार्ग निर्माण गरिएको हो । २ मिटर फराकिलो ढलानमा निर्माण गरिएको पदमार्गमा एकसय ९० मिटरमा रेलिङ हालेर पदमार्गलाई सहज बनाईएको छ ।


गत वर्ष बेनी नगरपालिकाको ४ लाख बजेटबाट ८६ मिटर र पर्यटन बोर्डको २ लाख रुपैया सहयोगबाट ५६ मिटर पदमार्ग निर्माण गरिएको वडा अध्यक्ष हिराबहादुर थापाले जानकारी दिए । ज्यामरुकोत मन्दिरसम्म पुग्न हाल सम्म तिनसय ८२ मिटर पदमार्ग निर्माण भएको छ । पदमार्ग निर्माणपछि धार्मिक पर्यटकलाई कोतमन्दिरमा पुग्न सहज भएको छ ।


पुर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा रहेको ऐतिहासिक ज्यामरुककोत मन्दिरमा धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना अनुसार पूर्वाधार निर्माणमा बजेट विनियोजन गरिएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत कृष्णप्रसाद घिमिरे बताए । उनले एतिहासिक सम्पदा, नदी कटानको जोखिममा रहेका बस्तीहरु संरक्षणमा प्रदेश सरकारले प्राथमिकता साथे निर्माण कामलाई तिव्रता दिएको बताए ।


चालु आर्थिक वर्षमा बेनी नगरपालिकाको ७ लाख रुपैयामा मन्दिरक्षेत्रमा घेराबार र पदमार्गको वाँकी स्थानमा रेलिङ बनाउने योजना रहेको वडा अध्यक्ष हिराबहादुर थापाले जानकारी दिए ।
ज्यामरुककोट मन्दिरलाई गलेश्वर र पञ्चकोट सँग जोड्ने दिगो योजनासहित पुर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए । कोतबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण लगायतका दर्जनौ हिमाल र ग्रामिण बस्ती देख्न सकिन्छ ।

यस बर्ष भू– तथा जलाधार व्यवस्थापन कार्यालय भू– संरक्षण अधिकृत शम्भुप्रसाद मिश्रले ज्यामरुकोट संगै मंगला गाउँपालिका– ५ स्थित हाडेभिरमा रहेको बस्ती संरक्षणको काम गरिएको जानकारी दिए । म्याग्दी नदीको कटानको जोखिममा रहेको ९ घरलाई जोगाउन कार्यालयको ५ लाख ६८ हजार ४३१ रुपैयाँ र उपभोक्ताको ३ लाख ५२ हजार बराबरको जनश्रमदानबाट ८० थान ग्याभिङ लगाइएको मिश्रले बताए ।


नदी उकास तथा जग्गा संरक्षण अन्तर्गत नदीबाट उच्च जोखिम रहेकोे हाडेभिरको बस्तीलाई जोगाउन ग्याभिङ लगाउने काम गरिएको बताए । बजेट अभावले पुर्ण रुपमा काम नभएपनि खाली भागमा जमिन संरक्षणको लागि घासका विरुवा रोपिएको मिश्रले बताए । स्थानीय हर्कबहादुर पुनले विगत संरक्षणको अभावले केही घर खेतीयोग्य जमिन नदीले कटान गरेको थियो । भने ग्याभिङले बस्ती संरक्षणमा टेवा पुगेको बताए । पुर्ण रुपमा हाडेभिरको बस्ती तथा खेतीयोग्य जमिनलाई म्याग्दी नदीको कटानबाट जोगाउन रुपाताललाई अनुरोध गर्ने जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताए । जलाधार ब्यवस्थापन अधिकृत घिमिरेले थोरै बजेटबाट नदीबाट उच्च जोखिममा रहेका म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका बस्ती संरक्षण तथा एतिहासिक सम्पदाँको पुर्वाधार निर्माणलाई ध्यान दिदै काम गरेको बताए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l