वडा अध्यक्षमाथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न नगरपालिकाको माग (भिडियाे सहित)

  • १ भाद्र २०७६, आईतवार
  • 2765 पटक पढिएको

म्याग्दी १ भदौ । म्याग्दीको बेनी नगरपालिका –२ का वडा अध्यक्ष हिराबहादुर थापालाई मोसो लगाएर दुव्र्यवहार गर्नेहरुमाथि कारबाही गर्न बेनी नगरपालिकाले माग गरेको छ । गत साउन ३० गते विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सेवाग्राहीलाई सेवा दिँदै गरेका वडा अध्यक्ष थापामाथि मोसो र चप्पलको माला लगाएर दुव्र्यवहार गरेको भन्दै नगरपालिकाले ध्यानकर्षण भएको जनाएको छ । आईतवार पत्रकार सम्मेलन गरि नगरपालिकाले जनप्रतिनिधिमाथि कानुन हातमा लिएर अमानवीय दुव्र्यवहार गरेको भन्दै उक्त घटनामा संलग्नलाई कडा कारबाही गर्न नेपाल सरकार र स्थानीय प्रशासनसंग माग गरेको हो ।

कार्यक्रममा उपमेयर सञ्जु बरुवालले विप्लब समुहद्धारा जनप्रतिनिधिलाई दुव्र्यवहार गर्ने र विकास निर्माणमा समेत अवरोध गर्ने खालका गतिविधि बढेको भन्दै सम्बन्धित निकायले यसतर्फ चासो दिनुपर्ने बताउनुभयो । नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जनप्रतिनिधिमाथि दुव्र्यवहार गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको बताउनुभयो । वडा अध्यक्ष थापा माथि दुव्र्यवहार संगै ८ बुँदे धम्की पत्र समेत छाडेको प्रति नगरपालिकाको गम्भिर ध्यानकर्षण भएको बताउँदै उहाँले जनप्रतिनिधिका कमिकमजोरी भेटिएमा कानुनी बाटो रोज्नुपर्नेमा सतही आरोप लगाएर दुव्र्यवहार गर्नु निन्दनीय रहेको बताउनुभयो ।

वडा अध्यक्ष थापाले चार जनाको समुहमा आएका व्यक्तिहरुले हतियार देखाएर आफुमाथि मित्थ्या आरोप लगाउँदै दुव्र्यवहार भएको बताउँदै दोषिहरुलाई कडा कारबाही गर्नुपर्ने माग गर्नुभएको छ । ‘‘ मलाई लागेका सबै आरोपमा कुनैपनि सत्यता छैन, वडा अध्यक्षलाई आर्थिक कारोवारको अधिकार नै छैन, मैले कसरी भष्टाचार गरेँे ?, कुनैपनि आरोप प्रमाणीत भए पदबाटै हट्छु ’’–थापाले भन्नुभयो ।

नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीद्धारा हस्ताक्षर भएको विज्ञप्तीमा समेत वडा अध्यक्षमाथि भएको दुव्र्यवहारको घर्सना गरिएको छ । विप्लब समुहले वडा अध्यक्ष थापालाई भ्रष्टाचार गरेको, राजश्व संकलनमा नाताबात कृपाबात गरेको, बजेट वितरणमा मानोमानि गरेको लगायतका आरोप लगाएको छ ।