केन्द्र विवादमा रहेको रघुगंगा गाउँपालिकामाः दिनभर सुनसान, रातीसम्म उम्मेदवारी

  • २१ बैशाख २०७४, बिहीबार
  • 2616 पटक पढिएको

 मंगलवार वैशाख १९ गतेको दिन । वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ताको दिन थियो । आकास कालो बादलले घपक्क ढाकेको थियो । मानौ आकासबाट पानी जतिसुकैबेला झर्न सक्छ । बेनीबाट तिन घण्टाको माईक्रो बसको यात्रा हुँदै पाखापानी पुग्दा यस्तै दृष्य देखियो । रघुगंगा गाउँपालिकाको अस्थायी केन्द्र तोकिएको पाखापानीमा मनोनयन दर्ता गर्नका लागि गाउँपालिकाका सबै आठ वटै वडाहरुबाट त्यहाँ राजनितीक दलका प्रतिनिहरु पुगिसकेका थिए ।

गाउँको मुखैमा दर्जन बढी माईक्रो बस र जिपहरु लाईन थियो । सवारी साधन र उम्मेदवारी दर्ता गर्न गएका राजनितीकर्मीहरुको बाख्लो उपस्थितिले चहलपहल निकै बढेको थियो । साविकका पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुईनेमंगले र झिँ गाविसबाट स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ताको लागि राजनितीकर्मीहरु दुर्गम बस्ती पाखापानीमा पुगेपनि त्यहाँ स्थानीयबासीको खासै चासो र उल्लाहस देखिदैनथ्यो ।

रघुगंगा गाउँपालिकामा समावेश बहुसंख्यक नागरिकलाई अपायक र उल्टो पर्ने गरि स्थानीय तह पुनर्संरचना आयोगले पाखापानीलाई अस्थायी केन्द्र तोकेपछि पिप्ले, भगवती, बेगखोला क्षेत्रका बासिन्दाहरुले लामो समयसम्म आन्दोलन नै गरेका थिए । उनीहरुको आन्दोलनमा दग्नाम र चिमखोलाका बासिन्दाहरुले समेत अप्रत्येक्ष रुपमा एक्ऐबद्धता जनाएका थिए ।

तत्कालिन स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समितिले जिल्ला स्थित राजनितीक दलहरुको सहमतीमा रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट की पाखापानी भन्ने बिषयमा उचित निर्णय नलिइकन आयोगमा सिफारिस गरेको र आयोगले पाखापानीलाई केन्द्र तोकेर पठाएपछि धेरै जनसंख्या भएका राखु र बेग क्षेत्रका नागरिक आन्दोलित हुनुपरेको थियो ।

सरकारलाई जतिसुकै दबाब दिएपनि समस्या सम्बोधन नभएपछि अन्नत निर्वाचन बहिस्कार सम्मको आन्दोलन थालेका राखु र बेग क्षेत्रका नागरिक निर्वाचनमा भाग लिनका लागि गाउँपालिकाको केन्द्र पाखापानीमा पुग्दा राखु र बेगक्षेत्रका नागरिकलाई परेको अप्ठ्यारोलाई पाखापानीबासीहरुले समेत महशुस गरेको सजिलै ठम्याउन सकिन्थ्यो । मनोनयन दर्ताका लागि सबै वडाहरुबाट राजनितीक दलका प्रतिनिधिहरु गाउँपालिकाको केन्द्रमा पुग्दा त्यहाँ न कुनै दलको दम्ब थियो न कुनै खुसीयाली नै ।

जिल्लाको बेनी नगरपालिका सहित अन्य चार गाउँपालिकामा दलहरुले बाजागाजा सहित तामझामका बिच मनोनयन दर्ता गरेपनि रघुगंगा गाउँपालिकामा देखिएको मनोनयन दर्ताको दृष्य भने निकै अप्ठ्यारो र असहज देखिन्थ्यो तर त्यो पुरै शान्त थियो । दिनभर अधिकाँश जसो समय पानी पर्ने क्रम जारी नै रह्यो । एकसरो कपडामा मनोनयन दर्ता गर्न पुगेका नेता तथा कार्यकर्ताहरु बैशाख महिनामा पनि लुकलुक काँपीरहे । गाउँमा युवायुवतीहरु सबै युवा क्लबले आयोजना गरेको मेलामा व्यस्त थिए भने बुढापाकाहरु झाँक्री पुजातिर। निर्वाचनमा उम्मेदवार बन्न आएका नेताहरुप्रति उनीहरुको खास चासो र चिन्ता देखिएन् ।

ठुलो जनसंख्यालाई अपायक पर्ने गरि आफ्नो गाउँमा गाउँपालिकाको अस्थायी केन्द्र बनेकोमा न स्थानीयले खुलेरै खुसी व्यक्त गर्न सके । यसले के पुष्टि गर्छ भने रघुगंगा गाउँपालिकामा रघुगंगा वारी र पारिका जनतालाई अहिलेकै अबस्थामा प्रशासनिक सेवा सुविधा लिन एउटै केन्द्रबाट असम्भव छ । केन्द्र विवादले गाउँपालिकाको केन्द्र नै ढिला गरि सञ्चालनमा आएको रघुगंगा गाउँपालिकालाई जिल्ला स्थित सुरक्षा निकायहरुले अतिसंवेदनशिल क्षेत्र मानेर मनोनयन दर्ताको लागि बाख्लो रुपमा सुरक्षाकर्मी परिचालन गरेको थियो । दिउँसो सम्म एकाथ वडाहरुबाट उम्मेदवारहरुले आफ्नो मनोनयन दर्ता गरेपनि निर्वाचन अधिकृतको कार्यालय दिनभर सुनशान जस्तै थियो ।

मुख्य तिन पार्टीबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहितका पदमा उम्मेदवारी परेको थिएन । यता राप्रपाको तर्फबाट पाखापानीको वडा अध्यक्ष पदमा उम्मेदवार बनेका जगनारायण गौचनको घरको दृष्य निकै रोमाञ्चित थियो । उनको घरको बार्तली (कौसी) मा राप्रपाका केन्द्रिय सदस्य भिमप्रसाद गौचन सहितका नेता तथा कार्यकर्ताले दिनभर चुनाबी रणनितीमा छलफल गर्दै मनोनयन फारम भरिरहेका थिए भने सोही घरको एउटा कोठामा एमालेका नेता तथा कार्यकर्ताहरुले मनोनयनको फारम भरिरहेका थिए ।

मनोनयन दर्ताको दिनमा समेत नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओावदी केन्द्र, राप्रपा लगायतका दलहरुमा देखिएको सुस्तता र मौनताले रघुगंगा गाउँपालिकाको केन्द्रको समस्या प्रतिविम्बित गथ्र्यो भने उनीहरुमा देखिएको सालिनताले भने दलहरुबिचको भाइचाराको भान गराउँथ्यो । बिशेष गरि रघुगंगा गाउँपालिकाको केन्द्र समस्यालाई समाधान गर्न मुख्य तिन दल, काँग्रेस, एमाले र माओवादी केन्द्रले साझा रुपमा गाउँपालिका प्रमुख र उपप्रमुखमा उम्मेवार दिने प्रयास गरेपनि अन्नत त्यो सफल हुन सकेन् ।

रघुगंगा गाउँपालिकाको मनोनयनमा नेपाली काँग्रेसका जिल्ला सभापती खमवीर गर्वुजा, काँग्रेस जिल्ला सदस्य केवी भण्डारी. नेकपा एमालेका जिल्ला उपाध्यक्ष देवेन्द्र केसी, सचिब बालकृष्ण सुवेदी, माओवादी केन्द्रका केन्द्रिय सदस्य विनोद केसी, राप्रपाका केन्द्रिय सदस्य भिमप्रसाद गौचन र नयाँ शक्तिका जिल्ला संयोजक भुप्रेन्द्र बुढाथोकि लगायतका जिल्ला स्तरका शिर्ष नेताहरु नै पाखापानीमा पुगेका थिए ।

उनीहरु पनि निर्वाचन अधिकृतको कार्यालय परिसरमा एक आपसमा भद्र छलफल गर्दा राखु र बेग क्षेत्रका बासिन्दाहरुले नेताहरुको कमजोरीले दुख पाउनुपरेको दुखेसो पोख्न समेत भ्याए । जब मनोनयनको लागि तोकिएको समय सकिन आधी घण्टा मात्रै बाँकी थियो तब मात्रै विभिन्न पदमा उम्मेदवार बन्नका लागि नेता तथा कार्यकर्ता मनोनयन दर्ताको लागि निर्वाचन अधिकृतको कार्यालयमा लामबद्ध हुन थाले ।

साढे चार बजे नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तालमेलबाट गाउँपालिका प्रमुख र उपप्रमुख सहित पिप्ले, भगवती, बेगखोला र चिमखोलाका वडाहरुमा उम्मेदवार बनेकाहरुले आ–आफ्नो मनोनयन दर्ता गरेका थिए । त्यस पछि काँग्रेस र राप्रपाको तर्फबाट उम्मेदवारी दर्ता भएको थियो । निर्वाचन अधिकृतको कार्यालयमा करिब राती नौ बजेमात्रै गाउँपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्य सहितका पदहरुमा उम्मेदवारी दर्ता सकिएको थियो ।


अन्नत संविधानमै व्यवस्था भए बमोजिम बहुसंख्यक नागरिकलाई सुविधा पुग्ने गरि गाउँपालिकाको निर्वाचितसदस्यहरुले ६ महिनाभित्रमा गाउँपालिकाको स्थायी केन्द्र तोक्न पाउने प्रावधानलाई उपयोग गर्ने गरि राखु, बेग संगै दग्नाम र चिमखोला क्षेत्रका राजनितीक दलहरु निर्वाचनमा गएको बताउँछन् ।                 उनीहरुले रघुगंगा गाउँपालिका पारिका झिँ, पाखापानी र कुईनेमंगलेका जनतालाई संवैधानिक रुपमा व्यवस्था हुन बाँकी रहेको स्वायत्त र संरक्षीत क्षेत्र घोषणा गरि सोही अनुरुपको सेवा सुविधा दिने र यता पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोला लगायतका क्षेत्रका नागरिकलाई मौवाफाँटमा स्थायी केन्द्र राखेर सेवा सुविधा दिन सक्ने सम्भावनालाई अगाडी सार्दै जनतालाई दुख नदिने गरि गाउँपालिकाको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाईसकेका छन् । 

हिजो स्थानीय तह प्राविधिक सहयोग समिति र आयोगको अबैज्ञानिक निर्णयको कारण गाउँपालिकाको अबैज्ञानिक रुपमा केन्द्र निर्धारण हुन पुग्दा आन्दोलित बनेका नेताहरु अब आफै निर्वाचन मार्फत चुनिएर बैज्ञानिक रुपमा केन्द्रको समस्या हल गर्छौ भनेका छन् ।

यदि उहीहरुले पनि गाउँपालिकाको केन्द्रलाई सहज रुपमा हल गर्न सकेनन भने उनीहरुका लागि निर्वाचित पद केबल आफ्नो इच्छा पुर्तिको निम्ती मात्रै हुनेछ । र बर्षौबर्षौसम्म उनीहरु जनताको नजरमा गिर्नेछन भने सहजै रुपमा सबै जनताको मनोभावना बुझेर समस्या हल गरे उनीहरु जनताको नजरमा हाईहाई हुने देखिन्छ ।