बरंजा स्वास्थ्य चौकीको समिक्षा

  • २७ श्रावण २०७६, सोमबार
  • 1448 पटक पढिएको

 

बेनी २७ साउन । मंगला गाउँपालिका–३ मा रहेको बरंजा स्वास्थ्य चौकीको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक समिक्षा कार्यक्रममा सोमबार सम्पन्न भएको छ । स्वास्थ्य चौकीले वर्ष भरि गरेका कार्यक्रम तथा उपलब्धि, सेवा, सुबिधाको बारेमा जानकारी गराउने, समस्या र समाधानको उपाय पहिचान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा गत वर्षको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

मंगला–४ का वडा अध्यक्ष एवम् स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष कबिन्द्र रोकाको अध्यक्षता, ४ नम्बर वडाका अध्यक्ष ओमबहादुर रोकाको प्रमुख आतिथ्यता, अहेव आरधना शर्माको स्वागत र अनमी रञ्जना थापाको सञ्चालनमा सम्पन्न कार्यक्रमको अहेव बबरजंग पालले सहजिकरण गर्नुभएको थियो ।

मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडाका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वमसेविका, आमा समूहका प्रतिनिधि र अगुवाहरु गरि ५० जनाको सहभागिता रहेको कार्यक्रममा सहभागीहरुले स्वास्थ्य चौकीको सेवामा सुधार ल्याउन समुदायको तर्फबाट पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

स्वास्थ्य चौकीले राम्रो सेवा दिएको र भौतिक स्रोत साधनको आवश्यकता रहेकाले आमा समूहले चन्दा दिएर सेवा सुधारमा सहयोग गर्ने प्रतिद्धता जनाएका हुन् । स्वास्थ्य चौकीलाई स्थानीय संघ संस्था र समूहले भौतिक सामग्री सहयोग गरेका छन् ।