रघुगंगामा योजना कार्यान्वयन प्रक्रिया सुरु

  • २७ श्रावण २०७६, सोमबार
  • 3566 पटक पढिएको

 

बेनी २७ साउन । असारे विकासको विकृति रोक्नका लागि म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक वर्षको सुरुवातसँगै योजना कार्यान्वयन प्रक्रिया सुरु गरेको छ । गत असारमा भएको गाउँसभाले बजेट बिनियोजन गरेका योजना तथा कार्यक्रम कार्यान्वयनका लागि वडा स्तरमा अभिमुखीकरण र उपभोक्ता समिति गठनको प्रक्रिया अघि बढाइएको हो । बेगखोलामा साउन २४ गते र पाखापानीमा सोमबार वडामा गाउँपालिकाले बजेट बिनियोजन गरेका योजनाहरुको अभिमुखीकरण कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो ।

सबै वडामा पुगेर सरोकारवालाहरुलाई राखेर योजना सम्झौता, कार्यान्वयन, उपभोक्ता समिति गठन, फरफारक र प्राबिधिक सेवाको विषयमा अभिमुखीकरण गर्ने कार्यक्रम बनाइएको छ । समयमै योजना सम्झौता र कार्यान्वयन गरि आर्थिक वर्षको अन्तमा हतारमा टालटुले काम गर्ने समस्या रोक्न आर्थिक वर्ष सुरु भएसँगै कार्यान्वयन प्रक्रिया सुरु गरेको प्रशासकीय अधिकृत थापाले बताउनुभयो ।

पाखापानी स्थित वडा कार्यालय परिसरको तालिम हलमा सोमबार आयोजना गरिएको सरोकारवालाहरुको भेलामा वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले गाउँपालिकाले वडामा बजेट बिनियोजन गरेका योजना तथा कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो ।मंगलबार बजेट बिनियोजन भएका १३ वटै योजनाको उपभोक्ता समिति गठन गरिने वडा अध्यक्ष शेरपुञ्जाले बताउनुभयो । वडा सदस्य टेकजित छन्त्यालले स्वागत र कर्मचारी भिमा पाइजाले सञ्चालन गर्नुभएको कार्यक्रममा नेकपाका जिल्ला सदस्य ओमकुमार पुन र स्थानीय डप्रसाद पाइजाले मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वडाको विभिन्न बस्तीबाट आएका ७० जनाको सहभागिता थियो । पाखापानीका योजना तथा कार्यक्रमलाई गाउँपालिकाले एक करोड अठार लाख रुपैयाँ बिनियोजन गरेको छ ।

कोटगाउँ रायखोर सडक निर्माणका लागि पचास लाख, तालिम केन्द्रको भवन बनाउन दश लाख, पाखापानी क्लव र आमा समूह भवन निर्माणमा सात लाख, रायखोर भवन र खेलमैदान मर्मतका लागि छ लाख, स्वास्थ्य चौकी बर्थिङ सेन्टर, पार्टेशन होम स्टे निर्माणका लागि पाँच लाख, ठाढाखानीमा ढल निकासका लागि छ लाख, कोटगाउँ ढल र पदमार्ग निर्माण गर्न छ लाख, कोटगाउँ विद्युतीकरण योजनालाई चार लाख, एक गाउँ एक नर्सरी स्थापनाका लागि छ लाख, वडा अध्यक्ष शिक्षा प्रर्वद्धन योजनालाई पाँच लाख र वडा कार्यालय व्यवस्थापनका लागि एक लाख पचास हजार रुपैयाँ बिनियोजन भएको छ ।

प्रभावकारी नहुने, उपलब्धि नदेखिने र उपभोक्ता समितिहरुलाई पनि दुख र झञ्जट हुने भएकाले सबै वडामा गौरवका योजना सञ्चालन गरेको र टुक्रे योजना कटौती गरेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । चालु आर्थिक वर्षका लागि ११३ वटा योजना तथा कार्यक्रमलाई बजेट बिनियोजन भएको छ ।