ताकममा श्रावण महात्मा

  • २७ श्रावण २०७६, सोमबार
  • 1961 पटक पढिएको

गोपाल आचार्य

ताकम २७ साउन । धवलागिरी गाउँपालिका–७ ताकममा सोमबार श्रावण महात्मा गरिएको छ । भगवती आमा समूहको आयोजनामा साउन महिनाको अन्तिम सोमबार पारेर महात्मा गरिएको हो । साउन महिनाको सोमबारको धार्मिक महत्वका बारेमा जानकारी गराउने र सामुहिक पुजाआजाको व्यवस्था मिलाउन कार्यक्रम आयोजना गरिएको समूहकी अध्यक्ष देवी सुवेदीले जानकारी दिनुभयो ।

गत वर्ष आमा समूहको अगुवाइमा ताकममा मन्दिर निर्माण गरिएको थियो । श्रावण महात्मा दुर्लभ धार्मिक कार्य भएको स्थानीय चिन्तामणी सुवेदीले बताउनुभयो । श्रावण महात्मा बाचन गर्नका लागि म्याग्दीमा पुस्तक नपाएपछि काठमाडौबाट ल्याएको उहाँले बताउनुभयो ।

श्रावण महात्मामा साउन महिनाको महत्वका बारेमा उल्लेख गरिएको छ । शिव र पार्वतीको पुजाआजा र शिवालय दर्शन गर्नुको फाइदाका बारेमा जानकारी गराइएको नरेश पौडेलले बताउनुभयो । साउन महिनाको सोमबार महिला मात्र नभएर पुरुषहरु समेत ब्रत बसेर शिव पार्वतीको पुजाआरधना गरेमा मनले चिताएको पुरा हुने विश्वास छ ।