दुई सय उद्योग थपिए

  • २७ श्रावण २०७६, सोमबार
  • 1716 पटक पढिएको

 

बेनी २७ साउन ।  म्याग्दीमा पछिल्लो एक वर्षमा २ सय बढी घरेलु तथा साना उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७५/७६ मा २०८ वटा नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले जनाएको छ ।

यसैगरी सोही अवधिमा १३४ वटा ब्यवसायिक फर्म दर्ता भएको कार्यालयकी उद्यम विकास सहजकर्ता सिता कुँवरले जानकारी दिए । आर्थिक वर्ष २०७४/७५ मा २८४ वटा उद्योग र ११३ वटा वाणिज्य फर्म दर्ता भएका थिए ।स्थानीय तहले करको दायरामा ल्याउन पहल गरेको, बजार अनुगमनको प्रभाव र ब्यवसाय गर्नेहरु समेत सचेत भएकाले नयाँ आर्थिक वर्ष सुरु भएयता दर्ता हुने क्रम बढेको कार्यालयका तथ्याङ्क सहायक सन्तोष ढुङ्गानाले बताए ।

साउन १ गतेदेखि यता ६९ वाणिज्य फर्म र २३ वटा उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्षमा १३ वटा उद्योग र ३१ वटा वाणिज्य फर्म खारेज भएका छन् । २५० वटा उद्योग र ४९१ बणिज्य फर्म नविकरण भएको छ । उद्योग तथा वाणिज्य फर्म दर्ता र नविकरण वापत ४७ लाख तीस हजार ८५० रुपैयाँ राजस्व संकलन भएको छ ।

अघिल्लो वर्ष ३२ लाख ७७ हजार ७९५ रुपैया राजस्व संकलन गरेको थियो । जिल्लाभर एक हजार ८४६ वाणिज्य फर्म र दुई हजार ४४ उद्योग सञ्चालनमा छन् । पछिल्लो समय कृषि, पशुपालन, वनपैदावार, होटल र सेवामुलक उद्योग दर्ता बढेको छ । बिमा, बैङ्क कर्जा र अनुदान सुबिधाका लागि ब्यवसाय दर्ता भएको हुनुपर्ने नीतिगत व्यवस्था छ । बर्षौदेखि ग्रामिण क्षेत्रमा सञ्चालन हुदै आएका उद्योग तथा फर्महरु समेत दर्ता हुन थालेका कार्यालयका प्रमुख मोहन सुवेदीले बताए ।

महिलाको नाममा उद्योग र वाणिज्य फर्म दर्ता गर्न छुट सुबिधा छ । जतिसुकै पुँजी भएपनि महिला सञ्चालक भएको फर्म दर्ता शूल्क २ सय रुपैयाँ लिइने र उद्योग दर्तामा कुल राजस्वको ३५ प्रतिशत छुट दिने व्यवस्था छ ।गत वर्ष फागुन देखि असार मसान्तसम्म नविकरण गर्न छुटेका फर्म तथा उद्योगको नविकरणको सुबिधा दिएको थियो । यसैगरी कार्यालयले ८२ जनालाई उद्यमशिलता विकास तालिम दिएको छ ।

१९४ जनालाई स्थानीय तहहरु समेतको सहकार्यमा सिलाई कटाई, सवारी चालक, ब्युटीपार्लर, कम्प्युटर हार्डवयर र आधारभूत, वायरीङ सम्बन्धी सिपमुलक तालिम दिइएको थियो । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) मार्फत पहिले सिर्जना भएका उद्यमीको क्षमता विकास र नयाँ उद्यमी उत्पादनका लागि तालिमहरु सञ्चालन भएको थियो ।