रुइसे–भेडिओढारमा भ्युटावर निर्माण

  • २७ श्रावण २०७६, सोमबार
  • धिरन खत्री
  • 2946 पटक पढिएको

म्याग्दी, २७ साउन । धौलागिरि आईसफल पदमार्ग अन्तर्गत रघुगंगा गाउँपालिकाको रुईसे– भेडिओढारमा पर्यटकिय भ्युटावर निर्माण गरिएको छ। समुद्रि सतहदेखि २ हजार २२० मिटर उचाईमा अवस्थित रुइसे थामकोटमा भ्युटावार, पदमार्ग र तालिम हल पिकनि स्पोर्ट लगायतको पुर्वाधार निर्माण गरिएको छ ।


समुद्रि सतहदेखि २५ सय २० मिटर उचाई रहेकोे भेडीओडारको विशाल ढुंगालाई चारैतिर घेराबार गरिएको छ। रुइसेदेखि आधा घण्टा उकालो हिडेपछि पुगिने भेडिओढारमा पर्यटक सुरक्षाका लागि रेलिङले घेराबार र जस्तापाताले छाएर विश्रामस्थल बनाइएको छ ।


सरकारी निकाय र समुदायको पहलमा रुइसेमा भ्यू टावर, वनभोजस्थल, पदमार्ग, सडक, तालिमहल, खानेपानीलगायत पूर्वाधार निर्माण गरिएको छ । गाउँपालिकाले रुइसेमा तीनतले ३५ फिट अग्लो भ्यू टावर निर्माणका लागि पछिल्लो दुई आर्थिक वर्षमा ३० लाख रुपैयाँ लगानी गरेको छ। रुइसेको फेदीदेखि भ्यू टावरसम्मको उकालो बाटोमा २०० मिटर पक्की र ११५ मिटर ढुंगे सिढीसहितको पदमार्ग निर्माण गरिएको छ। फलामको र्भयाङबाट उक्लिन मिल्ने भ्यू–टावरको दोस्रो र तेस्रो तलामा विश्राम गर्दै दृष्यावलोकन गर्न सकिन्छ। त्यस्तै गाउँपालिकाको २० लाख रुपैयाँ लगानीमा रुइसेमै विभिन्न सीपमूलक तालिम लगायतको कार्यक्रम गर्नका लागि हल निर्माण गरिएको छ।


रुइसे पुग्ने पर्यटकले ऐतिहासिक भगवति कोत मन्दिर, नौलीबराह ताल र भेडिओडारको पनि अवलोकन गर्न सक्छन् । रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकिय स्थल रुईसे भेडिओढारबाट नजीकबाट उदाएको सुर्य, पश्चिममा रहेको धौलागिरी, अन्नपु्र्ण, नीलगिरि र गुर्जा जस्ता दर्जनौ हिमालको दृष्य देखिन्छ ।


नेपालको १ सय गन्तव्यभित्र समेटिएको धौलागिरि आईसफल पदमार्गले समेटीएको गाउँपालिका र प्रदेश र केन्द्रबाट आएको बजेटले पुर्वाधार निर्माण गरिएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।भ्युटावरमा विधुत सेवा ल्याउनका लागि पोलहरु विस्तार गर्ने काम भएको वडा अध्यक्ष रिमबहादुर कटुवालले बताए ।


यस क्षेत्रमा बाईसेचौविसे राजाको पुरातात्विक सम्पदाँले समेत ऐतिहाँसिक मानिन्छ। राजाहरुले राज्य गरेको रुईसेमा तत्कालिन राजाले हात्ति बाध्ने स्थान, पानीखाने कुवा, राजाको शिरानी लगायतका प्राचिन सम्पदा छन् ।
जिल्लाको सदरमुकाम बेनी देखि प्रसिद्ध धार्मिक स्थल गलेश्वर मन्दिर हुदै पिप्ले, भगवती कोट मन्दिर, सिजलगाउँ, रोटेपानी, रुईसे भुमेमन्दिर, राजाहरुले बनाएको दरवारको भग्नाबशेस राजाले धान कुट्ने ओखल, पानी खाने कुवा,े चौतारी, राजाको सुत्ने ढुङ्गा हुदै थामकोट डिल हुदै रुईसे भेडिओढार पुग्न सकिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l