कटुवालको विकल्पमा “माइक रेडियो”

  • २२ श्रावण २०७६, बुधबार
  • 2533 पटक पढिएको

सन्तोष गाैतम
बेनी २२ साउन । अन्नपूर्ण गाउँपालिका–७ औला गाउँको बिचमा गाडीएको फलामको टावरमा तीन वटा माइक तीन तिर फर्काएर राखिएको छ । ती माइकको आवाज नसुनिने तल्लो गाउँका लागि बस्ती तलको उत्तिसको रुखमा अर्को एक वटा माइक स्थाई किसीमले राखिएको छ । औला स्थित मण्डली आधारभूत विद्यालयको एक वटा कोठामा मिक्सर र माइक्रोफोन छ ।

‘कुनै सूचना भयो भने यही आएर माइकबाट प्रशारण गरेपछि गाउँभरीकाले थाहा पाउँछन,’ सूचना प्रवाह गराउने जिम्मेवारी लिएका टोल सुधार समितिका संयोजक कुमबहादुर पुर्जाले भन्नुभयो ‘घरघरमा पुगेर, चिच्चाएर, फोन, एसएमएस भन्दा सस्तो, छिटो र प्रभावकारी छ ।’स्थानीय नवज्योति युवा क्लवले परम्परागत कटुवाल प्रथाको विकल्पमा सूचना प्रवाहका लागि अपनाएको यो विधीलाई औलाबासी “माइक रेडियो” भन्छन् । गाउँमा आएका विशेष व्यक्तित्वहरुसंगको अन्तरवार्ता माइक रेडियोबाट सुनाउने गरिन्छ । क्लवका पूर्व अध्यक्ष डिलबहादुर फगामीले सबैलाई एकै समयमा समान रुपमा सूचना प्रवाह गराउन माइक रेडियो सञ्चालन गरेको बताउनुभयो ।

कटुवाल प्रथाको तुलनामा माइक रेडियो धेरै आधुनिक, प्रभावकारी र सहज भएको स्थानीय यामप्रसाद पुर्जाले बताउनुभयो । गाउँमा श्रमदान, युवा, आमा, वन समूहको भेला, बैठक, खोप लगायत विभिन्न कार्यक्रम हुँदा यसैबाट सूचना प्रवाह गरिन्छ । विद्युतको बैकल्पिक व्यवस्थाका लागि सोलारको व्यवस्था गरिएको छ । माइक रेडियो सञ्चालन गर्न क्लवले डेढ लाख बढी लगानी गरेको जनाएको छ । वडा सदस्य टिका घतानेले माइक रेडियोले गर्दा सूचनाका लागि व्यक्ति व्यक्तिलाई फोन गर्न, घरघरमा पुग्न र कटुवाल लगाएर चिच्चाउन नपरेको बताउनुभयो । समय, पैसा र श्रमको बचत गरेको उहाँको भनाई छ ।

यसैगरी भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिकाले कटुवाल प्रथालाई आधुनिकिकरण गरेको छ । चर्को स्वरमा कराएर सूचना प्रवाह गराउदै आएका कटुवालहरुलाई बोकेर हिड्न मिल्ने ह्याड माइक वितरण गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । ‘कटुवालहरुलाई घाँटीनै सुक्ने गरी चिच्याउँदा दुख हुने गरेको थियो,’ अध्यक्ष पुनले भन्नुभयो ‘टोल टोलमा पुगेर चिच्चाउन धेरै समय लाग्ने गरेको थियो । माइकबाट धेरै ठाउँमा सुनिन्छ । कटुवाललाई सजिलो भएको छ ।’

गत आर्थिक वर्षमा कटुवालहरुलाई वडा कार्याल्य मार्फत २३ वटा माइक वितरण गरिएको योजना शाखाका रमेश पौडेलले बताउनुभयो । गुर्जामा एक, लुलाङमा तीन, मुनामा तीन, मुदीमा तीन, मल्कवाङमा तीन, मराङमा तीन र ताकममा छ थान माइक वितरण गरिएको थियो ।कटुवालहरुले माइकले सूचना प्रवाह गराउन सजिलो भएको बताएका छन् । अन्य बस्तीमा भने सूचना प्रवाहका लागि परम्परागत कटुवाल प्रथा कायम छ । कटुवाल काम गर्ने अधिकांश दलित समुदायका छन् ।

कटुवाल काम गरेवापत सिजन अनुसार बालीघरे प्रथा अनुसार गाउँलेबाट धान, गहुुँ कोदो, मकै ल्याला पाउँछन् । परम्परागत बालीघरे प्रथालाई रुपान्तरण गरेर नगदनै दिने व्यवस्था मिलाउनुपर्ने ताकमका कटुवाल भक्तबिर विश्वकर्माले बताउनुभयो ।