बेनी बजारको विकासमा संधै प्रश्न ? पहुँच विकासले बेतिथि !

  • २० श्रावण २०७६, सोमबार
  • धिरन खत्री
  • 3110 पटक पढिएको

म्याग्दी २० साउन । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित सुन्दरनगरी बेनी बजार । दुई नदीको बिचमा रहेको यो बेनी जिल्लाकै सदरमुकाम भएकाले पनि बर्षौदेखि आफ्नै खास पहिचान छ । बस्ती र भुगोलको हिसाबले थोरै भएपनि यो बजारलाई बेनी बजारको रुपमा मात्रै बुझ्यौँ भने गलत हुन सक्छ, किनकीे जिल्लामा रहेका राजनीतिक दल, नागरिक समाज, विभिन्न संघ संस्स्था, सरकारी कार्यालय यसै बजारभित्र छन् । यिनैको कारण यो बजार समग्र जिल्लाकै प्रतिबिम्ब दिने ठाउँको रुपमा चित्रित हुनुपर्ने हो । तर विकासका हिसाबले भन्ने हो भने सबैभन्दा काँचो र विवादीत ठाउँको रुपमा बेनी चित्रित छ ।

यहाँका हरेक विकासमा गुणस्तर खस्कने, लापरबाहि हुने समस्या विद्यमान छ तर यस सन्दर्भमा यहाँका राजनीतिक दल, नागरिक समाज, राज्यका सम्बन्धित निकाय र सरोकारवाला कसैले पनि सामाजिक रुपमा नत अनुगमन गर्छन नत सुझाब र प्रतिकृया नै बाहिर ल्याउँछन् , आखिर किन ? यहाँको विकासमा राजनीतिक पहुँच, शक्ता र शक्तिको दुरुपयोग प्रमुख कारकको रुपमा देखिएको छ । प्रस्तुत छ बेनीको विकासमा उब्जीएका केही गम्भिर बिषयहरुको बारेमा म्याग्दीअनलाईनकर्मी धिरन खत्रीले तयार पारेको रिपोर्ट सामाग्री
घटना नम्बर १ बेनी–पाखापानी सडकः एशियाली विकास बैङ्कको लगानीमा तत्कालिन जिल्ला विकास समिति अन्र्तगत रहेको विकेन्द्रीत ग्रामीण पुर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप)ले गर्ने भनिएको बेनी–पाखापानी सडक स्तरवृद्धीको काम बिचैमा अल्पत्र प¥यो । सदरमुकाम बेनी देखि अर्थुङ्गे, घतान, पात्तेखेत, झिँ हुँदै पाखापानी सम्मको १८ किलोमिटर सडक स्तरवृद्धी गर्ने भनिएको योजना विवादीत बन्दा काम स्तरोन्नतीले पुर्णता पाउन सकेन् । यो योजना असफल हुनुमा निर्माण व्यवसायि र सम्बन्धित कार्यालयसंगै जिल्ला स्थित तत्कालिन राजनीतिक नेतृत्वको भुमिका कहिँन कहिँ कमजोर देखियो ।

घटना नम्बर २  क्याम्पसचोक बाढी : घना बस्ती रहेको बेनी बजारकै शिर हुँदै खनिएको बेनी–अर्थुङ्गे, घतान हुँदै पाखापानी सडकको ट्याक निर्माण नै बैज्ञानिक भएन् । भिरालो जमिन रहेको ठाउँमा घना बजारको शिरमा अबैज्ञानिक तवरले सडकको ट्याक निर्माण गरिँदा केही बर्ष बेनीको क्याम्पसचोक र मंगलाघाट क्षेत्रमा बाढीले त्रास नै छायो । बेनीमा बाढी पसेर लाखाँैको क्षती पु¥याउने घटनाको कारण त्यहि अबैज्ञानिक सडक निर्माण नै मुख्य थियो । यसमा पनि सडक निर्माण जस्तो गम्भिर बिषयमा जिल्ला स्थित सरोकारवालाको दिर्घकालिन सोच नभएको देखियो ।

घटना नम्बर ३  बजार संरक्षण योजनाः दुई खोलाको दोभानमा रहेको बेनी बजार नदी कटानबाट यसै जोखिममा छ । तर बजारलाई नदि नियन्त्रण गर्ने योजना पनि विवादरहित बन्न सकेन् । बेनी बजार संरक्षणको लागि बर्षौदेखि तटबन्धको काम हुँदै आएपनि दिगो र भरपर्दो काम भने भएको भेटिदैन् । हरेक बर्ष भित्रिने बजेट पुराना संरचना हटाउँदै नयाँ बनाउनेमा उद्धत भयो । कहिले ग्याविन पर्खाल त कहिले रिटेनिङ पक्की पर्खाल योजनाको काम भयो । भुधरातल नबुझिकनै पूर्वाधार बनाउँदा गत बर्ष करोडौँको नवनिर्मित संरचना बगायो । यो बर्ष रुपाताल एकिकृत विकास परियोजना अन्र्तगत स्थानीय सरकारको निगरानीमा उपभोक्ता समिति मार्फत भएको पूर्वाधार निर्माणको काम पनि गुणस्तरीय बन्न नसकेको जनस्तरबाट व्यापक गुनासाको सामना गर्नुपरेको छ ।

घटना नम्बर ४  पिपलको बोट मासियो  : बेनी नगरपालिका वडा नम्बर–७ स्थित बेनी सामुदायिक विद्यालयको छेवैमा रहेको करिव १ सय बर्ष पुरानो पिपलको रुखलाई वडा कार्यालयकै नेतृत्वमा काटियो । बेनी बजारको चिनारीको रुपमा रहेकोे सम्पदालाई संरक्षण गरी वातावरण हराभरा बनाउनुका साटो उल्टो मासेर ब्यवसायिक प्रयोजनको लागि पुर्वाधार राख्न खोजिएपछि यसको चौतर्फी विरोध पनि भयो ।
घटना नम्बर ५  अस्पतालचोकमा बाढी  : यो बर्षातमा बेनीको अस्पताल चोकले बाढीको सामाना गर्नुप¥र्यो । त्यसको प्रमुख कारण अस्पतालचोकबाट जामुनाखर्क हुँदै अथुङ्गे जोड्ने नयाँ सडकको ट्याक नै बन्यो । अबिरल बर्षाको कारण माथिल्लो भेगदेखि नै बाढी सडकमा खोलो बनेर आउँदा बजारमा बाढीले बितण्डा मच्चाउने खतरा बढेको प्रति चौतर्फी रुपमा गुनासा बाहिर आए । जहाँ पनि सडक खनिहाल्ने तर ढल निकासको लागि नाली नखन्ने प्रवृति यहाँ पनि समस्याको रुपमा देखियो ।

घटना नम्बर ६  सामुदायिक बन मासेर पदमार्ग : बेनीको लम्लिहिललाई पर्यटकीय गन्तव्य बनाउनको लागि प्रवासमा रहेका म्याग्देलीहरुको साझा संस्था मोना, बेनी नगरपालिका र म्याग्दी उद्योग बाणिज्य संघको त्रिपक्षिय लगानीमा पदमार्ग निर्माण थालियो । लभ्लिहिल जानको लागि पुरानो फराकिलो गोरेटो बाटोलाई स्तरोन्नती गर्नुको साटो जिल्ला बन कार्यालयको अगाडी नै पर्ने सामुदायिक बनलाई मासेर पदमार्ग बनाईएको छ । पुरानो बाटोलाई मर्मत र पुननिर्माण नगरि वन मासेर पदमार्ग किन ? बनाईयो खवराबासीले यसबारे निरन्तर प्रश्न राख्दै आएका छन् ।

यहाँ हामीले चर्चा गरिएका केहि प्रतिनिधिमुलक उदाहरण हुन, जुन विकासले निम्त्याएका विवाद र समस्याहरु । बेनी बजारमा सञ्चालन गरिने हरेक विकास निर्माण किन ? विवादरहित बन्न सक्दैनन् । जिल्ला हाँक्ने नेता, जनप्रतिनिधि र प्रशासकहरु रहने ठाउँको विकासमा नै गुणस्तर अनुसारको काम नहुनुले यहाँको सरोकारवालाहरुलाई ध्यान आकर्षण किन हुँदैन् ? यहाँ दिगो र योजनाबद्ध विकास नहुँदा विवाद मात्रै बढेको छैन्, पूर्वाधार निर्माणमा गुणस्तरहिन र कमसल काम हुनुको साथै संस्थागत अनियमितताको खतरा समेत उत्तिकै बढेको छ ।

                                              कतै कालोपत्रेमाथि कालोपत्रे कतै हिलो र धुलो !
असार महिना सकिन लाग्दै थियो, बेनीमा कालोपत्रे गर्ने मजदुर र उपकरण बजारमा देखिएपछि धेरै आश्चर्यमा परे । बर्षा भैरहेको समयमा पनि कालोपत्रेमाथि किन कालोपत्रे गर्न खोजेको होला ? भन्ने चासो आम रुपमा देखियो । असारे विकासको रुपमा बेनी बजारका केहि सिमित ठाउँहरुमा कालोपत्रेमाथि कालोपत्रे गरिरहँदा बेनी नगरपालिकाको नजीकै रहेको बेनी सामुदायिक माविको अगाडीको चोकमा भने हिलो र बाढीले गिज्जाइरहेको थियो । यो चोक मात्रै होइन बेनी प्रवेशद्धारा कालिपुलको भद्रगोल व्यवस्थापनमा पनि सरोकारवालाको ध्यान पुगेको छैन् । बेनीदेखि अर्थुङ्गे र मंगलाघाटतर्फ जाने सडकको चोकमा बर्षातमा हिलो र हिउँदमा धुलोको कारण विद्यार्थीहरु संधै समस्यामा पर्दै आएका छन् भने हावा हुरीले त्यहाँको धुलो बजारभित्रैसम्म ल्याउने गरेको छ ।

चोकको कालोपत्रे हुन बाँकी रहेको ठाउँलाई कालोपत्रे गर्न बिरेन्द्रचोक टोल सुधार समितिले पटक पटक नगरपालिकाको ध्यानकर्षण गराउँदै आएपनि यो चोक यस पटक पनि कालोपत्रेको लागि नगरपालिकाको प्राथमिकतामा परेन । बजारभित्रै पहुँचवालाहरुको घर अघिपछिको कालोपत्रे गरिएकै सडकमा अलकत्र छरेर कालोपत्रे योजना सम्पन्न गरेको गुनासो व्यापक रुपमा बाहिर आएको छ ।

विद्यालय अगाडीको चोकलाई कालोपत्रे नगर्दा विद्यार्थीहरुले धुलोको निरन्तर सामाना गर्नुपरेको बेनी सामुदायिक माविका प्रअ दिपक श्रेष्ठले बताए । उनका अनुसार, यस बारेमा विद्यालयका विद्यार्थीहरुले नै जिल्ला समन्वय समिति, जिल्ला प्रशासन र बेनी नगरपालिकामा ध्यानकर्षण समेत गराएका छन् । विद्यालयको दायाँ र बायाँ दुबै तर्फ सडक व्यवस्थित नबनाईएकाले धुलो र यातयातको व्यवस्थापन नगर्दा हर्नको समस्या बढेको प्रअ श्रेष्ठले बताए ।
                          कालोपत्रे योजना गुणस्तरीय नबनेकोमा व्यापक गुनासो
बेनी नगरपालिका– ७ र ८ नम्बर वडा बेनी बजारका विभिन्न स्थानमा असार मसान्त नजीक गरिएको कालोपत्रे योजना गुणस्तरीय नबनेको गुनासो आएको छ । बेनी नगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ मा वडा नम्वर ७ मा नाली सरसफाई, नाली निर्माण र १३० मिटर कालोपत्रेको लागि ७ लाख ८४ हजार र वडानम्वर ८ मा संगमचोकदेखि क्याम्पचोकसम्म ४३० मिटर सडक कालोपत्रेका लागि ९ लाख ८४ हजार बजेट विनियोजन गरेको थियो । नगरपालिकाबाट कालोपत्रेका लागि विनियोजन गरेको बजेटबाट बजारको सिमित ठाउँलाई छानेर मात्रै कालोपत्रेमाथि कालोपत्रे गरिएको छ । अधिकाँश ठाउँको कालोपत्रे गुणस्तरहिन देखिएको छ । पानी परेको समयमा कालोपत्रे गरेकाले स्तरीय काम नभएको गणेशटोलका बासिन्दा किशोर श्रेष्ठले बताए ।

अहिले कालोपत्रे उक्किन थालेपछि चौतर्फी आलोचना पनि भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अगाडी पानी परेको समयमा कालोपत्रे भएकाले उक्किएको नगरपालिकाका सव–इन्जिनियर युनिश्का श्रेष्ठले बताईन । नगरपालिकाबाट उपभोक्ता समिति मार्फत काम गर्ने भनि सम्झौता भएको योजना कार्यान्वयन भने अघोषित रुपमा ठेक्का मार्फत गरिएको थियो । नगरपालिकाले बेनी बजारभित्रको कालोपत्रे योजनामा पाँच मिटर चौडाइ र २० एमएम बाख्लो कालोपत्रे गर्ने प्राविधिक रुपमा स्टीमेट तयार गरिएको थियो । कालोपत्रेका लागि आबश्यक उपकरण र जनशक्तिको समयमै व्यवस्थापन नहुँदा ढिला गरि काम सम्पन्न गर्नुपरेको उपभोक्ता समितिका अध्यक्ष लोकनाथ रेग्मीले बताए ।

उपभोक्ता समितिसंग कालोपत्रेको लागि आबश्यक पर्ने उपकरण नभएको र काम गर्ने मजदुरको समेत बन्दोबस्त गर्न कठिनाई भएकाले निर्माण व्यवसायि संघका अध्यक्ष नारायण जिसीलाई कालोपत्रे गर्ने योजनाको उपकरण र सामाग्रीको व्यवस्थापनको जिम्मा दिनुपरेको र अन्य काम समिति माफैले गरेको अध्यक्ष रेग्मीले बताए । यस कालोपत्रे योजनामा काम भए बमोजिम नै भुक्तानी दिईएको नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले जानकारी दिए । बेनी नगरपालिका–८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले कालोपत्रे योजनामा देखिएको कमजोरी स्विकार गर्दै बजारबासीले काम गर्दा चासो नदेखाउने र काम भएपछि कमजोरी मात्रै औल्याउने काम गर्ने गरेको गुनासो गरे । कालोपत्रेका लागि आवश्यक कर्मचारी र उपकरण अभावले समितिले समयमै काम गर्न नसकेको र बर्षातको समयमा गरिएको कामले गुनासो बढ्नु स्वाभाविक रहेकोे अध्यक्ष बराइलीलको भनाई छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l