देउताभिर गुफामा पर्यटन पुर्वाधार निर्माण (फोटो फिचर)

  • १६ श्रावण २०७६, बिहीबार
  • 3619 पटक पढिएको

कमल खत्री
म्याग्दी १६ साउन ।  म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा अवस्थित देउताभिर गुफालाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको छ । मगरदाङ गाउँदेखि गुफा सम्म जाने पदमार्गलाई स्तरीय बनाउन बनाउन सुरु गरिएको छ । मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकार मार्फत विनियोजन भएको रु २० लाख बजेटबाट पदमार्ग निर्माण भएको हो । गाउँपालिकाबाट विनियोजन भएको रु ५ लाख बजेटबाट दाङखोलादेखि तत्लो पुजा गर्ने थान सम्म पदमार्ग निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष कुल बहादुर घर्तिले जानकारी दिए ।

कमल खत्री

उनका अनुसार, तल्लो थानदेखि गुफासम्म जाने भिर र पाखाको साँघुरो डोरोमा गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मार्फत विनियोजन भएको रु १५ लाख बजेटबाट पदमार्ग निर्माण भएको छ । गाउँपालिका र प्रदेश सरकारको बजेटबाट कुल करिब ५ सय मिटर पदमार्ग निर्माण गरिएको र अझै ५ सय मिटर पदमार्ग बनाउनको लागि बजेट अभाब भएको छ ।

गुफा जाने बाटोमा रहेको अप्ठ्यारो भिरमा ११० मिटर पदमार्ग सहित रेलिङ समेत निर्माण भएको अध्यक्ष घर्तिले बताए । ‘‘तीन महिनासम्म लगातार काम ग¥र्यौ, तर बजेटको सिमितताले पदमार्ग निर्माण कार्य सम्पन्न भएको छैन, थप बजेटको बन्दोबस्थ भए पुनः पदमार्ग निर्माणलाई अघि बढाउने योजना छ’’–अध्यक्ष घर्तिले भने । मगरदाङबाट वारीपारी पर्ने यस गुफा पुग्न गाउँको फेदीमा रहेको दाङखोला हुँदै करिब २ घण्टाको उकाली ओराली गर्नुपर्छ । पदमार्ग र रेलिङ संगै दाङखोलामा झोलुङ्गे पुलको समेत अभाब रहेको छ ।

यस अघि अक्करे भिरमा जोखिमपूर्ण यात्रा गरि गुफामा जानुपर्ने बाध्यता रहेपनि यस बर्ष पदमार्ग निर्माण भएपछि धेरै राहत मिलेको वडा अध्यक्ष पिपला बुढाले बताईन् । ‘‘अहिलेसम्म यहाँ आउन चाहने सबै भक्तजन र पर्यटक गुफासम्म नै पुग्न सक्ने अबस्था थिएन, भिरको बाटो भएकाले हिड्न नसक्नेहरु बिच बाटोबाटै फर्कन्थे, अहिले अति जोखिमपूर्ण स्थानमा पदमार्ग र रेलिङ बनेको छ, भक्तजन र पर्यटक बिचबाटोबाटै फर्कनु पर्ने छैन, सजिलै गुफासम्म आउने सक्ने सुविधा भएको छ’’–अध्यक्ष बुढाले भनिन् ।

                                   बुद्धजयन्तीमा बिशेष पुजा
अक्करे भिरमा रहेको ऐतिहाँसिक देउताभिर गुफा पर्यटकीय र धार्मिक महत्व बोकेको स्थान हो । बुद्धजयन्तीको अवसरमा बिशेष पुजा हुने यस गुफामा पुगेर दर्शन तथा पुजा गरेमा आफ्नो भाकल र मनोकाँक्षा पुरा हुने जनविश्वास रहेको छ । खासगरि यस गुफामा शुख, शान्ति र सफलताको कामना संगै बच्चा नभएका दम्पतीहरुले बच्चा प्राप्तीको लागि भाकल गर्ने चलन रहेको छ ।

यस गुफामा सिद्धको थान रहेकाले नरिवल चढाएर पुजा गर्नुको साथै भाकल गर्नेहरुले परेवा, पाठा लगायतको बलि समेत दिने गरेको गुफाका पुजारी कर्ण बहादुर घर्तिले बताए । बुद्धजयन्तीमा गाउँदेखि टाढाका स्थानबाट समेत सयाँैको संख्यामा भक्तजनहरु पुग्ने यस गुफामा शनिवार र मंगलवार समेत पुजा र दर्शन गर्न सकिने घर्तिको भनाई छ । यस क्षेत्रको प्रचार प्रसारमा हरेक बर्ष बुद्धजयन्तीको अवसरमा स्थानीय देउताभिर युवा क्लबले साँस्कृतिक तथा खेलकुद मेलाको आयोजना समेत गर्दै आएको छ ।
                                           अनौठा आकृतिको आकर्षण
दाङखोलादेखि ठडिएको अग्लो पहाडको मध्य भागमा रहेको देउताभिर गुफामा विभिन्न रोचक र अनौठा आकृति रहेका छन् । यहाँ पुजा गर्नेहरुले बत्ति बाल्न प्रयोग गर्ने पाला पहाडमा प्राकृतिक रुपमै बनेका छन् । गुफाभित्र र परिसरमा हात्तीको सुँड, नाग सर्प, गाईको थुन, केरा लगायतका आकर्षक आकृति दुरुस्तै देख्न सकिन्छ । यस गुफा परिसरमा देखिएका थरिथरिका नाग सर्पको आकृतिले आश्चर्यमा पारेको पहिलो पटक गुफामा पुगेका बेनीका राकेश शर्माले बताए ।

गुफादेखि सुरु हुने सुरुङ शिरमा रहेको ताकमकोट सम्म नै रहेको मान्यता रहेको छ भने गुफाभित्र जति भित्र गयो, त्यति नै नौला र रोचक आकृति देख्न सकिन्छ । गुफा अवलोकनका लागि पुग्ने सबैले सुरुमा पुजापाठ गरेरै मात्रै भित्र पस्ने पाइने व्यवस्था छ । मगरदाङबाट आधा घण्टाको ओरालो यात्रापछि पुगिने दाङखोला तरेर उकालो ४५ मिनेट हिडेपछि गुफा पुगिन्छ । गुफामा बलि दिएको परेवा र पाठाको मासुलाई थान परिसरमै नुन नहालिकनै पकाएर प्रसादको रुपमा खाँदा स्वाद नुनिलो हुने अनौँठो बिशेषता रहेको पुजारी कर्णबहादुर घर्तिले बताए ।

                                             नागले गर्छ गुफाको सुरक्षा
गुफाको सुरक्षा नाग सर्पले गरेको सुन्दा अचम्म लाग्न सक्छ, तर यो देउताभिर गुफाको बास्तविकता हो । मानव बस्तीदेखि धेरै टाढा रहेको यो गुफा परिसरमा असुद्ध व्यक्ति र गुफामा अनाबश्यक कार्यहरु गर्न खोज्ने व्यक्तिलाई नाग सर्पले छेक्ने गरेको पाईएको छ । पुजापाठको लागि गुफाभित्रै सम्म जाँदा समेत कुनै जोखिम नहुने भएपनि थानमा केही पूर्वाधार बनाउने लगायतका काम सुरु गर्ने कोसिस गर्दा नाग सर्पले बाटो छेकेर अवरोध गर्ने गरेको स्थानीय बताउँछन् ।

गुफा परिसर साँघुरो रहेकाले यस बर्ष गुफा अगाडी पनि रेलिङ लगायतका पूर्वाधार बनाउन खोज्दा नियमित जसो नाग सर्प आएर बस्ने र काम गर्न नदिने गरेको पदमार्ग निर्माण समितिका अध्यक्ष घर्तिले बताए । उनले गुफा परिसरमा भेटिने नागले मानिसलाई नटोक्ने र गुफा क्षेत्रमा रेलिङ लगायतका पूर्वाधार बनाउन खोजेमा नजीकै आएर दिनभरी नै बसेर काम गर्न नदिने अनाँैठो दृष्यले आफुहरुलाई समेत आश्चर्यमा पारेको सुनाए ।