काकाकुल बेनीबासीलाई पानी बाडे कुलदिपले

  • १५ श्रावण २०७६, बुधबार
  • 2613 पटक पढिएको

सन्तोष गौतम
बेनी १५ साउन । खानेपानीको हाहाकार मच्चिएको बेनी बजारका बासिन्दालाई एक व्यक्तिले खानेपानी वितरण गरेका छन् ।बेनी खानेपानी उपभोक्ता संस्था मार्फत वितरण हुने खानेपानी माग अनुसार आपुर्ति नहुने र पटक पटक अवरुद्ध हुदाँ बेनीमा विगत दुई महिनादेखि खानेपानीको अभाव छ ।

समस्यामा परेका बजारबासीको आवश्यकतालाई मध्यनजर गरेर हाँडेभिरका ब्यवसायी कुलदिप जुग्जालीले ड्रममा पानी भरेर आफ्नो निजी खर्चमा बजारका विभिन्न चोक चोकमा लगेर वितरण गर्नुभएको हो ।सोमबार दुई हजार लिटर क्षमताको ड्रममा खबराको मुहानबाट १२ हजार लिटर पानी भरेर ल्याई बजारका विभिन्न ठाउँमा वितरण गरेको जुग्जालीले बताउनुभयो । खानेपानी संस्थालाई परेको अप्ठ्यारो र बजारबासीलाई परेको मर्कालाई ध्यानमा राखेर ५१ ट्रिप पानी वितरण गरेको उहाँले बताउनुभयो ।

खानेपानी ढुवानी गर्ने क्रममा एक वटा ड्रम फुटेर क्षति भएको छ । कुनै नाफाका लागि नभएर विशुद्ध सेवाको भावनाले निशूल्क पानी वितरण गरेको जग्गालीले बताउनुभयो ।बेनी–जोमसोम सडकको गलेश्वर देखि राहुपारे खण्डको सडक विस्तारका क्रममा डोजरले पाइपलाइन फुटाउँदा दैनिकजसो खानेपानी आपुर्ती अवरुद्ध हुने गरेको बेनी खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।

पाइपलाइनमा भाँचिने, फुट्ने र पहिरो खसेर क्षति हुँदा पुम्दीखोलाको मुहानबाट बेनीमा नियमित खानेपानी आपुर्ती हुन नसकेको संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले बताउनुभयो ।पुम्दीखोलाको पाइपलाइनलाई व्यवस्थित गर्ने, दूधेखोलाको पाइपलाइन मर्मत गरेर खानेपानी आपुर्ती गराउने र आलोपालो प्रणाली अनुसार खानेपानी वितरणको व्यवस्था मिलाउने तयारी भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

माग अनुसार खानेपानी आपूर्ती अवरुद्ध हुँदा बेनीका सर्वसाधारण, होटल ब्यवसाय समस्यामा परेका छन् । सरसफाईमा समस्या भएको छ ।एक हजार भन्दा धेरै घरधुरी रहेको बेनी बजारमा प्रतिसेकेण्ड २५ लिटर खानेपानी आवश्यक पर्ने संस्थाका प्रबन्धक चन्द्रबहादुर थापाले बताउनुभयो । संस्थाले पुम्दीखोला र दुधेखोलाको मुहानबाट पानी ल्याएर बेनीमा वितरण गर्दै आएको छ ।

पहिरोले पाइपलाइनमा क्षति पु¥याएपछि एक वर्षयता दूधेखोलाको मुहानबाट खानेपानी आपुर्ती हुन सकेको छैन् । पुम्दीको बैकल्पिक स्रोत दूधेखोलाबाट प्रति सेकेण्ड तीन लिटरका दरले पानी आपुर्ती हुने गरेको थियो ।

बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत गलेश्वर देखि राहुपारे खण्डको चार किलोमिटर दुरीमा शर्मा–युनाइटेड जेभीले विस्तारको काम गरिरहेको छ । सडक छेउमा पाइपलाइन राखेर बेनीमा पानी आपुर्ती गरिदै आएको छ ।

हाल ६ मिटर चौडाइ भएको सडकलाई विस्तार गरेर ११ मिटर फराकिलो बनाउन लागिएको हो । खानेपानी आपुर्तीलाई सहज र सडक निर्माणलाई व्यवस्थित बनाउन प्रशासन कार्यालयमा आयोजना, निर्माण कम्पनी, संस्था र प्रशासनबीच गत महिना खानेपानी आपुर्तीलाई असर नपुग्ने गरेर सडक विस्तारको कामलाई अघि बढाउने समझदारी भएको थियो ।

निर्माण कम्पनीले अस्थाई बैकल्पिक पाइपलाइन बनाएर खानेपानी आपुर्ती गराउने र सडक विस्तार गर्ने निर्णय कार्यान्वयन गर्न उदाशिनता देखाएकाले समस्या भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।