दिच्यामका युवाहरु ब्यवसायिक किवि खेतीमा आकर्षित

  • १० श्रावण २०७६, शुक्रबार
  • धिरन खत्री
  • 3504 पटक पढिएको

म्याग्दी, १० असार । पछिल्लो समय म्याग्दीका युवाहरु ब्यवसायिक उत्पादनमूलक खेतीमा आकर्षित बन्दै गएका छन् । भुगोलअनुसार स्थानीय स्रोत साधनहरु परिचालन गर्दै मालिका गाउँपालिका– ६ दिच्यामका युवाहरु ब्यवसायिक कृषि र फलफूल खेतीमा आकर्षित भएका हुन् ।


बजारमा किविको माग बढेपछि मालिका गाउँपालिका – ६ दिच्यामका दिपक रोकाले ७० ओटा किविका विरुवा रोपेका छन् । मकै कोदो खेतीलाई विस्थापित गर्दै विगत ५ देखि १ लाख लगानी गरेर सो खेती रोकाले लगाएका हुन् । तालिमको अभावले ५ बर्ष अघि लगाएको र तालिम प्रश्चात दुई बर्षअघि लगाएको विरुवाले संगै फल लगाएको उनले बताए । बेमौसमी बर्षातले सोचेजति फल नदिएपनि यस क्षेत्रमा किवि खेतीमा सम्भावना उजागर भएको उनले बताए । राम्रो उत्पादन हुने हो भने बोटबाटै ४ सय रुपैया केजीमा नजिकको दरवाङ बजारमा विक्रि हुने जानकारी दिए ।


यस्तै खेती दिच्याममा कर्ण रोका, रामप्रसाद पौडेल, चहिन्द्र रोका लगायतले यो लगाएर राम्रो उत्पादन गरेको जानकारी दिए । गाउँपालिकाले कृषि तथा फलफूल खेतीमा लागेका कृषकलाई सहुलियत कर्जाको ब्यवस्था, तालिम, निरिक्षण र कृषि विज्ञ कर्मचारी गाउँपालिकामा राख्न सके किवि खेती ब्यवसायिक बन्दै आम्दानी बढ्ने उनको विश्वास छ ।


मालिका गाउँपालिका उपाध्यक्ष खरमाया विटालुले कृषि तथा फलफूल खेतीलाई प्राथमिकता दिएर विरुवा वितरण, तालिम, र ग्रामिण सडकलाई स्तोरन्नती ध्यान दिदै यस बर्ष बजेट विनियोजन गरिएको बताईन ।
पछिल्लो पुस्तालाई विदेशमा जाने मानसिकतालाई परिवर्तन गर्न ब्यवसायिक कृषि, पशुपालन तथा फलफूल खेतीमा लागेका कृषकहरुको निरन्तरताको लागि विशेष अनुदान, तालिम बजारको ब्यवस्था, सुलभ कर्जा र कृषि बैज्ञानिकरणमा स्थानीय सरकारले ध्यान दिन आवश्यक देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l