बाबियाचौरमा बालबालिका र ज्येष्ठ नागरिकहरुको लागि पार्क

  • ८ श्रावण २०७६, बुधबार
  • 3644 पटक पढिएको

बाबियाचौर ८ असार । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा पार्क (उद्यान) निर्माण भएको छ । गाउँपालिका र डिभिजन वन कार्यालयको सहयोगमा जेष्ठ नागरिक र बालबालिकाहरुलाई लक्षित गरेर उद्यान निर्माण गएिको हो । मंगला गाउँपालिकाको २ नम्बर वडामा पर्ने बाबियाचौरमा तिब्र रुपमा बस्ती विकास हुदै गएको छ ।

खुल्ला जमिन र स्वच्छ वातावरणमा रमाउन चाहनेहरुका लागि बनाउन लागिएको पार्कले पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । बालबालिकाहरुलाई खेल्ने र वृद्धबृद्धाहरुलाई सुन्दर वातावरणमा भुल्ने ठाउँको परिकल्पना गरेर पार्क बनाइएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिनुभयो ।

बालबालिकाहरु बजारको साँघुरो गल्लीमा खेल्ने गर्छन् । जेष्ठ नागरिकहरुलाई प्राकृतिक वातावरणमा रमाउने ठाउँको अभाव छ । अबको केही वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सहित यसै वर्षबाट पार्कको पूर्वाधार निर्माण सुरु गरिएको छ । पार्कको डिपिआर समेत तयार पारिएको अध्यक्ष रोकाले बताउनुभयो । उहाँका अनुसार डिपिआर अनुसार पार्कमा पूर्वाधार तयार पार्न दुई करोड रुपैयाँ लगानी आवश्यक देखिएको छ । प्रदेश र संघीय सरकारसंगको साझेदारीमा पार्कको पूर्वाधार तयार पार्ने गाउँपालिकाको योजना छ ।

पार्क निर्माणका लागि बाबियाचौरका क्याप्टेन इन्द्रबहादुर अधिकारीले चालीस लाख रुपैयाँ मूल्य बराबरको चार रोपनी जग्ग उपलब्ध गराउनुभएको थियो । सोही जग्गालाई पर्खाल निर्माण गरेर सम्माउने, त्यहाँसम्म पुग्ने बाटो बनाउने, विश्रामस्थल बनाइएको छ । पार्क निर्माणका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा १२ लाख चालीस हजार र वन डिभिजन कार्यालयले १८ लाख रुपैयाँ बिनियोजन गरेका थिए ।

गाउँपालिका र डिभिजनको काम छुट्टा छुट्टै उपभोक्ता समिति गठन गरेर कार्यान्वयन गरिएको छ । जमिन सम्माउने र पर्खाल लगाएर सकिएको छ । एक वटा विश्राम स्थल बनाइएको छ । घेराबार र थप पूर्वाधार बनाउन बाँकी छ । बगैचा, वृद्धबृद्धाहरुको लागि किर्तन गर्ने ठाउँ, बालबालिका खेल्ने पिङ, चिप्लेटी लगायतका संरचना तयार पार्ने योजना छ ।