गलेश्वरमा २ लाख ७४ हजार भेटि संकलन

  • ७ श्रावण २०७६, मंगलवार
  • 3913 पटक पढिएको

बेनी ७ साउन । बेनी नगरपालीका– ९ मा रहेको गलेश्वरमा एकै दिन करिब तीन लाख रुपैयाँ भेटी संकलन भएको छ ।  सोमबार मन्दिर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले दुई लाख ७४ हजार १०६ रुपैयाँ भेटि चढाएका हुन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधीकारी, सुरक्षा निकायका प्रतिनिधि र स्थानीय अगुवाहरुको उपस्थितिमा मंगलबार भेटि गनेर सार्वजनिक गरिएको सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

गत वर्षको साउन महिनाको पहिलो सोमबार दुई लाख ८८ हजार २७१ रुपैयाँ भेटी संकलन भएको थियो । मन्दिरमा संकलन हुने भेटि प्रत्येक हप्ता र मासिक रुपमा सार्वजनिक गरिदै आएको छ । धार्मिक गन्थ्रहरुमा गलेश्वरमा सतीदेवीको गला पतन भएको उल्लेख छ । कालीगण्डकी नदीको किनारमा चट्टानमाथी अवस्थित गलेश्वरको पुजाआजा र दर्शन गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ ।

गलेश्वरमा पुजाआजा र दर्शनका लागि म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की, चितवन, काठमाडौ लगायत देशका सबै ठाउँ र भारतबाट हिन्दु धर्मावलम्बीहरु आउने गर्दछन् । साउन महिनाको सोमबार, शिवरात्री, बालाचर्तुदशी पर्वमा बिशेष मेला लाग्ने गर्छ ।