चौबिस हजार सुन्तलाका बिरुवा वितरण

  • ७ श्रावण २०७६, मंगलवार
  • 2069 पटक पढिएको

बेनी ७ साउन । म्याग्दी र बागलुङका कृषकहरुलाई चौबिस हजार सुन्तलाका बिरुवा वितरण गरिएको छ । सुन्तलाको ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन) कार्यान्वयन इकाई म्याग्दीले बिरुवा वितरण गरेको हो । बागलुङमा सोह् हजार ५१० र म्याग्दीमा सात हजार ८५० बिरुवा वितरण गरिएको इकाईका बरिष्ठ कृषि अधिकृत बेदनाथ पन्थिले जानकारी दिनुभयो । सरकारले तोकेको प्रतिबिरुवा २५ रुपैयाँ मूल्यमा पचास प्रतिशत अनुदान दिइएको हो । थप असी हेक्टर क्षेत्रफलमा सुन्तला खेति विस्तार भएको छ । सुन्तला जोन सञ्चालक समितिले सुन्तला बिरुवा वितरणका लागि पाँच लाख रुपैयाँ बिनियोजन गरेको थियो ।

फाईल तस्बिर ः म्याग्दीअनलाईन

यसैगरी म्याग्दीमा १४ र बागलुङमा एक वटा सुन्तलाको फल टिप्ने भ¥याङ, बागलुङमा ९, पर्वतमा ६ र म्याग्दीमा १४ थान पावर स्प्रेयर वितरण गरेको छ । बागलुङमा १७, पर्वतमा छ र म्याग्दीमा १९ वटा पावर मिनिटिलर वितरण गरेको सुन्तला जोन सञ्चालक समितिका संयोजक खिमबहादुर पुनले बताउनुभयो ।

जोन सञ्चालक समितिको गठन, परियोजना अभिमुखीकरण, योजना तर्जुमा, नर्सरी ब्यवस्थापन र बगैचा ब्यवस्थापन सम्बन्धी तालिम सञ्चालन भएको थियो । जोन सञ्चालक समितिले सञ्चालन गर्ने योजना तथा कार्यक्रमका लागि २५ लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत ब्यवसायिक खेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धी र बजारीकरणमा सघाउने उद्देश्यले बेनी र बाग्लुङ नगरपालिका, जलजला, रघुगंगा, मंगला, मालिका र काठेखोला गाउँपालिकाको ५२ वडामा सुन्तला जोन सञ्चालन गरिएको छ ।

कार्यक्रम मार्फत नर्सरी स्थापना, बिरुवा उत्पादन, प्राबिधिक सहयोग, कृषि बजार केन्द्र स्थापना, प्रसोधन केन्द्र, ग्रेडिङ तथा संकलन गर्ने गोदाम, सिचाई, कृषि औजार, यन्त्र उपकरण, प्रर्दशनी, बजारीकरण लगायतका क्षेत्रमा सहयोग गर्ने नीति छ ।

जोनमा समेटिएका कृषकहरुलाई सुन्तला खेती सम्बन्धी योजनाका लागि पचास देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराउने व्यवस्था छ । आठ वर्ष सञ्चालन हुने कार्यक्रमबाट सुन्तलाको उत्पादन वृद्धी, गुणस्तर सुधार र आयात न्युनीकरण गर्ने लक्ष्य छ ।