गुल्मीमा पहिरो जाँदा ६ जनाको मृत्यु , ५ जना बेपत्ता

  • ७ श्रावण २०७६, मंगलवार
  • 1959 पटक पढिएको

टोपलाल अर्याल

गुल्मी, ७ साउन  । गुल्मी सत्यवति गाउँपालिकाको लिम्घा र ठुलोलुम्पेकमा पहिरो जाँदा ६ जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । पहिरोमा परेर पाँच जना बेपत्ता भएको खबर प्राप्त भएको छ । पहिरोमा परि सत्यवति गाउँपालिका ४ लिम्घा भिरकुनाका तीन घर पुरिएको वडाध्यक्ष दान बहादुर रानाले बताए । दुई सय मिटर माथीबाट आएको पहिरोले ढाल बहादुर विक, छलि विक र पम्फा विकको घर पुरेको छ ।

तीन घरमा नौ जना बस्दै आएका थिए । तीन घरबाट अहिलेसम्म चार जनाको शव फेला परेको रानाले बताए । बाँकी पाँच जना बेपत्ता भएका छन् । शवको पहिचान भने नभएको वडाध्यक्ष रानाले जानकारी दिए । त्यस्तै सत्यवति गाउँपालिका ३ ठुलोलुम्पेकमा पहिरो जाँदा आमा छोराको ज्यान गएको छ । सोमबार रातिदेखि परेको बर्षका कारण लुम्पेकका तिल कुमारी तरामु र दर्शन तरामुको पुरिएर ज्यान गएको वडाध्यक्ष रुक बहादुर रानाले बताए । दुई छोरी घाइते भएका छन् ।

दुवै स्थानमा स्थानीयहरुले उद्धार गरिरहेको र जिल्लाबाट सुरक्षाकर्मीको टोली पनि घटनास्थल पुग्न थालेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । विभिन्न स्थानमा पहिरा गएर बाटो अवरुद्ध भएकाले पुग्न निकै समस्या परिरहेको सशस्त्र प्रहरी वल गुल्मीमा डिएसपी दिनेश रायमाझीले बताए ।