गलेश्वर–पिप्ले– भगवती–बेग र बाबियाचौर–दरवाङ सडक कालोपत्रे हुने

  • ६ श्रावण २०७६, सोमबार
  • 3665 पटक पढिएको

 

बेनी ६ साउन । गण्डकी प्रदेश सरकारको “एक निर्वाचन क्षेत्र, एक सडक आयोजना” कार्यक्रम अन्तरगत म्याग्दीका दुई वटा सडक कालोपत्रे हुने भएका छन् । गलेश्वर–पिप्ले–भगवती–बेग र बेनी–दरवाङ–कल्लेनी–ताकम–मुना–जलजला सडकको बाबियाचौर लाम्पाटा देखि दरवाङ बजारसम्मको स्तरोन्नति गर्न ठेक्का सम्झौता भएको छ । संयुक्त सर्वेक्षण गरिसकेका निर्माण कम्पनीले प्रारम्भिक चरणमा सडक चक्लाउन सुरु गरेका पूर्वाधार विकास कार्यालय म्याग्दीका सिनियर डिभिजनल इञ्जिनियर ओमराज ढुङ्गानाले बताउनुभयो । ‘कार्यालयले सञ्चालन गर्ने यी महत्वपूर्ण सडक आयोजना हुन,’ ढुङ्गानाले भन्नुभयो ‘पूर्व तयारी सकेर बर्खा लगत्तै सडक स्तरोन्नतिको कामले गति लिन्छ ।’ उहाँका अनुसार दुई वटै सडक कालोपत्रे हुन लागेको हो ।

आठ किलोमिटर दुरीको गलेश्वर–पिप्ले–भगवती–बेग सडक स्तरोन्नतिका लागि एपेक्स–खड्का कृष्ण जे.भी काठमाडौले भ्याट सहित १८ करोड ४१ लाख ८३८ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । रघुगंगा गाउँपालिकाको पिप्ले, भगवती र बेगलाई समेटेको यो सडक ८ मिटर फराकिलो र ५.५ मिटर कालोपत्रे हुनेछ ।यसैगरी मंगला गाउँपालिकाको लाम्पाटा देखि दरवाङ सम्मको १६ किलोमिटर सडक कालोपत्रेका लागि बिरुवा–क्याराभन जे.भी काठमाडौले २२ करोड ५७ लाख ९३२ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

दुई वटै सडकको ठेक्का अवधि २४ महिना भएको इञ्जिनियर सुदिप भट्टले जानकारी दिनुभयो । पूर्वाधार विकास कार्यालय अन्तरगत बेनी देखि बाबियाचौर सम्मको सडक कालोपत्रेका लागि स्तरोन्नतिको चरणमा छ । मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसंग जोड्ने लाम्पाटा–दरवाङ सडक ११ मिटर फराकिलो र सात मिटरमा कालोपत्रे गरिने छ । फराकिलो बनाउने, ग्यावियन जाली, ढुङ्गाको पर्खाल लगाउने, नाली बनाउने, ह्युम पाइप, कज्वे र बायो इञ्जिनियरीङ गरिने इञ्जिनियर भट्टले बताउनुभयो ।

दशकअघि ट्याक खुलेको दुवै सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छ । सडक कालोपत्रे भएपछि आवत जावतमा सहजताका साथै ढुवानी, निकासी लगायत विबिधि क्षेत्रमा सहयोग पुग्ने गण्डकी प्रदेशका सांसद बिनोद केसीले बताउनुभयो । गलेश्वर–पिप्ले–भगवती– बेग सडक आयोजना सांसद केसी र लाम्पाटा–दरवाङ सडक आयोजना सामाजिक विकास मन्त्री नरदेवी पुनले सिफारिस गर्नुभएको हो । प्रत्यक्ष निर्वाचित सांसदको सिफारीसको आधारमा प्रदेशका सबै निर्वाचन क्षेत्रमा सडक आयोजना सञ्चालन भएको छ ।

फाइल तस्बीर ः म्याग्दी अनलाइन