फलोअप : एसोशियसन अफ एग्रिकल्चरका कर्मचारी भन्छन– हामीलाई पनि ठगे

  • ४ श्रावण २०७६, शनिबार
  • 2242 पटक पढिएको

सन्तोष गौतम
बेनी ४ साउन । कृषकलाई विउ र बिरुवा वितरण गर्ने बाहनामा रकम संकलन गरेर फरार भएका एसोशियसन अफ एग्रिकल्चर नेपाल (आन) नाम गरेको कम्पनीका सञ्चालकले आफूहरुलाई पनि ठगेको त्यहाँ कार्यरत कर्मचारीहरुले गुनासो गरेका छन् । म्याग्दी शाखा अन्तरगत सामाजिक परिचालक पदमा कार्यरत छ जना कर्मचारीहरुले पाँच महिनादेखि तलब नपाएको गुनासो गरेका हुन् । सञ्चालकले उनिहरुलाई जागिरका लागि कम्पनीमा नगद धरौटी जम्मा गर्न समेत लगाएका थिए ।

कम्पनीमा कार्यरत भगवतीकी सगुन कटुवालले पाँच महिनादेखि तलब नपाएको, आफूहरुले समुहमा आवद्ध गराएका कृषकहरुले सेवा सुबिधा नपाएको र शाखाकी प्रमुख बिष्णु धरला भागेर गएपछि आफूहरुलाई तनाव भएको गुनासो गर्नुभयो । शाखा प्रमुख बाहेक अन्य कर्मचारी स्थानीय थिए । उनिहरुलाई परिचालन गरेर कम्पनीले समूह बनाउने र नगद संकलन गर्न लगाएको थियो । महिनामा ४० जनालाई समूहमा आवद्ध गराए वापत मासिक दश हजार रुपैयाँका दरले तलब दिने गरेको थियो ।

कृषक ठगीएको विषयमा समाचार प्रकाशन प्रशारण भएपछि सञ्चालकहरुलाई जानकारी गराउँदा कागतिका बिरुवा पठाउन लागेको प्रतिक्रिया पाएको केसीले बताउनुभयो । सित्तैमा विउ, बिरुवा, अनुदानमा कृषि औजार, पशुपालन गर्नेलाई र्निब्याजी अनुदान दिने आश्वासनमा बेनी नगरपालिका, रघुगंगा गाउँपालिकामा एक हजार जना भन्दा बढी कृषकहरुलाई समूहमा आवद्ध बनाएर करिब बिस लाख रुपैयाँ उठाएको छ ।

पैसा उठाएर लगेपनि विउ र बिरुवा वितरण नगरिँदा कृषक मर्कामा परेका छन् । कृषि वन कार्यक्रम अन्तरगत आवद्धता र ढुवानी खर्च वापत म्याग्दीका कृषकहरुबाट पैसा उठाएपनि विउ, बिरुवा वितरण गरेको छैन् । समूह बनाउन र कृषकबाट पैसा उठाउन कम्पनीले स्थानीय युवा युवतीहरुलाई परिचालन गरेको थियो । पिडित कर्मचारी र कृषकहरुले ठगी गर्ने कम्पनी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।